बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

सोमबार, २३ पुस २०८०, १७ : ०५
सोमबार, २३ पुस २०८०

कैलाली । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी सुदूरपश्चिमबाट उम्मेदवार बनेकाहरूले सोमवार उम्मेदवारी दर्ता गराएका हुन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता गरिएको हो ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टकाअनुसार सत्तारुढ गठबन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन् । 

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधानसभा सदस्य पनि भइसकेका छन्  । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर शारीरिक अशक्त भएका थिए । सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेणु चन्दले उम्मेदवारी दर्ता गरेका छन् । चन्द २०६४ सालको संविधानसभा सदस्य हुन् ।

एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराए । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्व अध्यक्ष हुन् । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रीय सदस्य हुन् । 

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यका सदस्यहरू नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले)का इन्दु कडरियाको पदावधि सकिन लागेको हो । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप