शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रस्तावित विधान मस्यौदा

एकीकृत समाजवादीमा निजी स्वार्थ देखिन नहुने, महिलाप्रति एकनिष्ठता अनिवार्य !

केन्द्रीय समिति १७५ र जिल्ला कमिटी ५१ बनाउन प्रस्ताव
बिहीबार, २६ पुस २०८०, २२ : ००
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान संशोधनका लागि गृहकार्य तीव्र पारेको छ । सो पार्टीले विधान संशोधनका लागि केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको सुझावलाई एकीकृत गर्दै प्रस्तावित विधान संशोधन मस्यौदा जिल्ला र सम्भव भएसम्म नगर कमिटीका कार्यकर्ताको समेत सुझाव समेट्दै माघ १४ गतेबाट हुने परिषद् सम्मेलनमा पेस गर्नेछ ।

‘जिल्ला र सम्भव भएसम्म नगर कमिटीका कार्यकर्ताको समेत सुझाव समेट्ने र एकीकृत मस्यौदा तयार हुन्छ । त्यसका लागि तल्ला कमिटीबाट सुझाव पठाउन भनिएको छ’ एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठको भनाइ छ । उनका अनुसार माघ १२ गतेसम्म जिल्ला र नगरस्तरका कार्यकर्ताहरूलाई विधानमा समेट्नुपर्ने विषय सुझावका रूपमा केन्द्रमा पठाउन भनिएको छ ।

बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने निर्णय गरेको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सो पार्टीको मौजुदा विधानमा रहेको पार्टी कमिटी चयन प्रक्रिया र त्यसको आकार परिवर्तन गर्ने विधान संशोधनको मुख्य ध्येय रहेको नेताहरूको भनाइ छ ।

‘केन्द्रीय कमिटी र महाधिवेशन प्रतिनिधि चयन गर्दा तलबाट चुनिएर आउने कि मनोनीत गर्ने भन्ने मुख्य सवाल छ’, केन्द्रीय कार्यालय सचिव समेत रहेका श्रेष्ठले भने, ‘पहिला केन्द्रीय परिषद् बनाएर केन्द्रीय कमिटी र केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने कि वा महाधिवेशनबाट सिधै केन्द्रीय कमिटी र पदाधिकारी चुन्ने ?अव बन्ने विधानमा यो कुरा प्रस्ट हुनेछ ।’

श्रेष्ठका अनुसार त्यसपछि कमिटी र पदाधिकारी कति सङ्ख्यामा राख्ने भन्ने पनि अबको विधानले प्रस्ट पार्नेछ ।

हालको व्यवस्था अनुसार यो पार्टीमा केन्द्रीय कमिटी दुई महाधिवेशनबिच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने उल्लेख छ । त्यस्तै अध्यक्ष १, सम्मानित नेता १, नेता २, उपाध्यक्ष ७, महासचिव १, उप महासचिव ५, सचिव ७ गरी जम्मा २४ जना पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । जसमा केन्द्रीय कमिटीको कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनेछन् । यसैगरी  केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू केन्द्रीय परिषद्‍बाट निर्वाचित हुने भनिएको छ ।

त्यस्तै केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन र केन्द्रीय परिषद्प्रति उत्तरदायी रहने र केन्द्रीय परिषद्बाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटित हुने व्यवस्था छ । केन्द्रीय कमिटीभित्र पदाधिकारीसहित ४५ सदस्यीय स्थायी कमिटी र स्थायी कमिटी सदस्यहरूसहितको ११५ सदस्यीय पोलिटब्युरो रहने भनिएकोमा प्रस्तावित मस्यौदामा त्यसलाई घटाएर ५७ सदस्यमा सीमित गर्न लागिएको छ । त्यस्तै पदाधिकारी, स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति सबै गरेर ३५१ को साटो १७५ सदस्यीय केन्द्रीय कमिटीको संशोधन प्रस्ताव मस्यौदामा प्रस्ताव छलफलमा लगिएको छ ।

त्यस्तै प्रदेश परिषद् सदस्यहरूको निर्वाचन गर्ने हालको व्यवस्थामा पनि परिवर्तन गर्दै प्रदेश कमिटीका सदस्य र पदाधिकारीहरूको निर्वाचन गर्ने प्रस्तावित मस्यौदामा प्रस्ताव छ । त्यस्तै जिल्ला, महानगर उपमहानगर कमिटीको सङ्ख्या पनि घटाउने प्रस्ताव गरिएको छ । जिल्ला र महानगर कमिटी १५१ को हालको व्यवस्थालाई कटौती गर्दै ५१ सदस्यमा सीमित गर्ने मस्यौदामा प्रस्ताव गरिएको छ ।

कम्युनिस्ट आचरण र नैतिकता थप्ने

सो पार्टीले प्रस्तावित विधान मस्यौदामा कम्युनिस्ट आचरण र नैतिकताको विषय थप गर्ने प्रस्ताव गरेको छ ।

‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनु पर्दछ । खानपान, रहनसहन, बस उठ आदि सरल र सामान्य हनु पर्दछ’, प्रस्तावित मस्यौदाको अन्तिममा भनिएको छ, ‘कम्युनिस्ट नैतिकता मूल पक्ष हो व्यक्तिवादको विस्थापन र सामूहिकतावादको स्थापना । हामीले यस मर्मलाई आत्मसात् गर्नुपर्दछ ।’

त्यस्तै पार्टी नेता कार्यकर्ताहरूमा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित भएर लाग्ने उच्च क्रान्तिकारी नैतिकता हुनु पर्ने उल्लेख छ । ‘हाम्रो आचार–व्यवहार र जीवनशैली सादा र सरल हुनु पर्दछ । हामी सादा जीवन उच्च विचारको हुनु पर्दछ’, मस्यौदामा भनिएको छ,  ‘हामी कम्युनिस्टहरू अर्काको श्रम शोषण नगर्ने, श्रमप्रति सम्मानको दृष्टिकोण राख्ने, आफै पनि श्रम गर्ने, शुद्ध एवम् पारदर्शी आर्थिक व्यवहार गर्ने र महिलाप्रति एकनिष्ठताको साथै समानताको व्यवहार गर्ने हुनु पर्दछ । यो नै कम्युनिस्ट नैतिकता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप