शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सचिन पनि बने डीप फेकको सिकार

सोमबार, ०१ माघ २०८०, १४ : ३४
सोमबार, ०१ माघ २०८०

नयाँ दिल्ली । भारतका महान् क्रिकेटर सचिन तेन्दुल्कर डीप फेकको सिकार बन्ने अर्को सेलेब्रिटी बनेका छन् । आफ्नो एउटा नक्कली भिडियोको बारेमा जानकारी दिँदै सचिन तेन्दुलकरले यस भिडियोमा डीप फेक टेक्नोलोजी प्रयोग गरिएको र आफूलाई एउटा एपको प्रचार गरिरहेको देखाइएको जानकारी दिएका हुन् ।

उनले इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय र यस मन्त्रालयका केन्द्रीय राज्यमन्त्री राजीव चन्द्रशेखरलाई कारबाही गर्न अपिल समेत गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– ‘यो भिडियो नक्कली हो र तपाईंलाई धोका दिनको लागि बनाइएको हो । प्रविधिको यस प्रकारको दुरुपयोग सरासर गलत हो । यस्ता भिडियो, एप वा विज्ञापन देखेमा तुरुन्तै खबर गरिदिनुहुन सबैमा अनुरोध छ । सोसल मिडिया प्लेटफर्महरू पनि सजग भई उनीहरू विरुद्ध परेका उजुरीहरूमा यथाशीघ्र कारबाही गर्नुपर्छ । यस सन्दर्भमा तपाईंहरूको भूमिका धेरै महत्त्वपूर्ण छ ताकि गलत सूचना र समाचारलाई रोक्न र डीप फेकको दुरुपयोग अन्त्य गर्न सकिन्छ।’

डीपफेक भिडियोमा सचिन भन्छन्, ‘मेरी छोरी अनलाइन गेम एभिएटर खेल्छिन् र त्यसबाट १८० हजार रुपैयाँ कमाइरहेकी छिन् । अब राम्रो पैसा कमाउन कति सजिलो भएको छ ।’

हालै अभिनेत्री रश्मिका मन्डनाको एउटा डीपफेक भिडियो पनि भाइरल भएको थियो । डीप फेकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्छ जसको माध्यमबाट कसैको नक्कली छवि वा तस्बिर बनाइन्छ। यसमा कुनै पनि तस्बिर, अडियो वा भिडियोलाई नक्कली देखाउनको लागि डीप लर्निङ नामको एक प्रकारको एआई प्रयोग गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप