पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने
इस्लामाबाद । विवादास्पद निर्वाचनअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।
कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।
पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।
फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिए ।
गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
“सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिने छ”, एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भने । उनका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कराँचीमा तैनाथ गरिने छ । एफसी बललाई आतङ्कवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइने छ ।
यसैबीच मङ्गलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिएका छन् । उक्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उनले बताए ।
इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतङ्कवादी मारिएका थिए । यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो ।
पाकिस्तानका लागि सबैभन्दा ठूलो आतङ्कवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो । इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।
गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेशावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए । डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण