बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मोरङमा एक सय विद्यार्थीलाई स्विटर र टोपी वितरण

बिहीबार, ०४ माघ २०८०, २० : ३३
बिहीबार, ०४ माघ २०८०

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । 

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्विटर र टोपी वितरण गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट गर्नेक्रममा मन्त्री उप्रेती केही समयअघि उक्त विद्यालय पुगेका थिए । त्यसबेला जीर्ण अवस्थामा रहेको विद्यालयको अनुगमन गरी भौतिक संरचना निर्माण एवम् विद्यार्थीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसअन्तर्गत मन्त्री उप्रेतीले विपन्न विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा वितरण गर्न लायन्स क्लब इन्टरनेसनलसँग समन्वय गरी उक्त सहयोग गरेका हुन् । विद्यालयमा अध्ययन गर्ने एक सय तीन जना विद्यार्थीलाई स्विटर र टोपी वितरण गरिएको हो । 

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वान डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्की, लायन्स क्लब अफ विराटनगर एक्टिभका प्रेसिडेन्ट लक्ष्य प्रधान, सामाजिक अभियन्ता फणिन्द्र थापालगायतले ती विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले निस्वार्थ सामाजिक भावले जन्मिएको लायन्स क्लबले विपन्न विद्यार्थीहरूलाई सहयोग गरिदिएकोमा आभार प्रकट गरे । अघिल्लो पटक 

अनुगमन आउँदा विद्यालयको भौतिक संरचनाको अवस्था जीर्ण रहेको देखेपछि सहयोग लिएर आएको सुनाए । 

‘मैले त्यसबेला नै प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थिएँ,’ उनले भने, ‘फेरि पनि भन्छु, यो विद्यालयको छानो फेरिन्छ । जो कमजोर छन्, पहुँचभन्दा बाहिर छन्, त्यस्ताको नै हो यो सरकार ।’

‘सरकारले मात्र होइन, लायन्सजस्ता सामाजिक सेवामा अनवरत लागिपरेका संस्थाले पिछडिएको क्षेत्र बनाउने हो,’ उनले थपे, ‘अहिले लायन्सले मेरो निर्वाचन क्षेत्रको निकै पिछडिएको स्कुलमा पढ्ने विद्यार्थीलाई सहयोग गरेको छ । भावी दिनमा भौतिक संरचनालगायतका विषयमा पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’

यसैगरी, मन्त्री उप्रेतीले शिक्षा–स्वास्थ्यमा लगानी गर्न सकेमा देश समृद्धिको बाटोमा अग्रसर हुने पनि उल्लेख गरे । निजी विद्यालयमा पढ्ने विद्यार्थीको मात्र सामाजिक स्तर कायम हुने भ्रम रहेको बताउँदै उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पनि उच्च ओहोदामा पुगेको स्मरण गराए । पछिल्लो समय विद्यालयमा अध्ययन–अध्यापनभन्दा राजनीति बढी हुने गरेको बताउँदै मन्त्री उप्रेतीले पढाइ बिगारिदिएर विद्यार्थीको भविष्यमा खेलबाड नगर्न पनि सुझाए । 

यस्तै, सामाजिक अभियन्ता तथा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वान डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले लायन्स सामाजिक संस्था रहेको बताउँदै कुनै पनि विभेद नगरी समाज सेवा गर्ने बताए । 

मन्त्री उप्रेतीको पहल र सक्रियतामा डोरिया माविमा सहयोगको लागि आइपुगेको जनाउँदै कार्कीले भविष्यमा भौतिक संरचना निर्माणमा पनि सहयोग हुने प्रतिबद्धता जनाए । 

कार्यक्रममा बोल्दै रतुवामाई–२ का वडाध्यक्ष जिमारत मिया र विद्यालयका प्रधानाध्यापक मोहम्मद कासिम मुद्दिनले कुनै पनि सरकारको नजर पर्न नसकेको जीर्ण विद्यालय स्तरोन्नतिमा सहयोग गरिदिन मन्त्री उप्रेतीलाई आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप