बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लघु कथा

लघुकथा : टुँडिखेल

शनिबार, ०६ माघ २०८०, १३ : २५
शनिबार, ०६ माघ २०८०

बिहान बिहानै राजधानी सहरमा हंगामा मच्चियो । टुँडिखेलमा हजारौँ मान्छे ओइरिए । प्रहरी र प्रेसलाई हत्तुहैरान थियो । घटना थियो– टुँडिखेल वरपरका प्रत्येक रूखका हाँगा–हाँगामा मान्छे झुन्डिएका थिए ।

त्यसरी झुन्डिएकाहरूमा देशका ठूला नेता, कर्मचारी र व्यापारी हुँदै धार्मिक गुरुहरू समेत थिए । शववाहन र प्रहरी साइरनको हुइँहुइँले पूरै वातावरण विरक्तलाग्दो थियो ।

दुई प्रहरीहरूको वार्तालाव सुनियोस् ।

‘अफिसर, तपाईंलाई के लाग्छ ?’ वाकीटकीमा प्रश्न सुनियो । 

‘सर, यो त सरासर आत्महत्या नै हो,’ अफिसरले जवाफ फर्कायो ।

‘यी सबमा कमन फ्याक्टर केही देखिन्छ त ?’ उताबाट फेरि सोधियो । 

‘सर, सबैजना भ्रष्टाचार बलात्कारजस्ता कुनै न कुनै मुद्दामा मुछिएका थिए र सबैले हालसालै मिडियाहरूमा अन्तर्वार्ता दिँदै आफू दोषी भए टुँडिखेलमा झुन्डिन तयार रहेको हवाला दिएको देखिन्छ, सर ।’ 

‘हो र ? ओ माई गड !’

कुराकानी टुङ्गियो ।

प्रहरीले रहस्यहरू खोतल्दै लग्यो । हरेक मृतकको गोजीबाट आत्मग्लानिले भरिपूर्ण सुसाइड नोटहरू बरामद भए ।

मिडियाहरू लाइभ रिपोर्टिङ गरिरहेका देखिन्थे–  नमस्कार दर्शकवृन्दहरू ! जो पनि आउँथे टुँडिखेलमै झुन्डिन तयार छु भन्थे । जो पनि आउँथे टुँडिखेलकै नाम लिन्थे । आज त्यो सत्य भएको छ ।’

यस्तो अस्तव्यस्त कोलाहलबीच एउटा वृद्ध कुरूप भिखारी भने यस्तो बर्बराउँदै भिडमा बिलायो– ‘पापी र झूटहरूको जिब्रोमा सरस्वतीले बास गरिन् । माताको जय होस् । माताको जय होस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश राई
सुरेश राई
लेखकबाट थप