आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय सुधारमा विद्यार्थी संगठनको भूमिका

आइतबार, ०७ माघ २०८०, १५ : १७
आइतबार, ०७ माघ २०८०

विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ । 

साक्षरता दर बढाउने प्रारम्भिक उद्देश्य लिएर स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयलाई जमाना बदलिएको अनुभूति नै छैन । ई–बोर्डको जमनामा पनि टीयू मार्कर र ह्वाइट बोर्डमा सीमित छ । सङ्ख्यामा फड्को मारे पनि गुणमा फड्को मार्न सकेको छैन । अन्य विश्वविद्यालयहरूको अवस्थामा पनि कुनै गुणवत्ता भेटिन्न । पछिल्ला दशकमा विश्वविद्यालयको सङ्ख्या बढ्यो तर स्थापनाको औचित्य पर्याप्त साबित भइरहेको छैन भन्दा अत्युक्ति हुँदैन । नेपाल शैक्षिक सङ्क्रमणकालीन अवधिमा छ । यो अवस्थाबाट माथि उठाउन विद्यार्थी संगठनहरुले महत्त्वपूर्ण भूमिका खेल्नैपर्छ ।

विश्वविद्यालयहरूको गणतन्त्रसापेक्ष संरचना निर्माण आजको मुख्य आवश्यकता हो । विश्वविद्यालयहरूको प्रशासनिक संरचना र शैक्षिक अभ्यास राजतन्त्रकै पालाको जस्तै छ । जबकि प्रशासनिक संरचनाले शिक्षाको स्तरमा व्यापक फरक पार्दछ । राजा कुलपति हुने प्रावधान र पुस्तकभित्रबाट राजारानीका तस्बिर मात्र हटे, विद्यमान प्रशासनिक सोपानक्रमको मानसिकता त्योभन्दा उन्नत हुनै सकेको छैन । यसकारण विश्वविद्यालयको प्रशासनिक संरचनामा उन्नत सुधारको खाँचो आजको प्रमुख आवश्यकता हो । 

उन्नत मानव संसाधनले समय सापेक्षित संरचनाभित्र काम गर्ने अवसर प्राप्त गर्दा मात्र विश्वविद्यालयले फक्रिने अवसर प्राप्त गर्दछ । उल्लेखित विषय नीति निर्माणकर्ताहरुलाई बुझाउँदै कार्यान्वयन गराउन अग्रसर गराउनै पर्छ । अवसरमा खुलापन, योग्यता अनुसारको अवसर आजको हाम्रो शासन व्यवस्थाका मूलभूत विशेषताहरू हुन् । शिक्षा क्षेत्रमा यस प्रकारले निर्णयहरू गराउन विद्यार्थी संगठनहरुले भूमिका खेल्नैपर्छ । अनेरास्ववियुले ल्याएको ‘बोर्ड अफ ट्रस्टी’को अवधारणा र त्यसको कार्यान्वयनका निम्ति गरेका प्रयत्न यसैको प्रशंसनीय उदाहरण हो ।

विश्वविद्यालय, क्याम्पसको झ्यालको सिसा पुरानो भएर फुटे पनि आरोप विद्यार्थी संगठनका नेता कार्यकर्तालाई लगाइने परिस्थिति विद्यमान छ । हामी टुटाउन–फुटाउन मात्र जान्दछौँ त ? अवश्य होइन । हामीभित्र पर्याप्त रचनात्मक योग्यताहरू छन् । हजारौँ विद्यार्थीहरू अन्तर्क्रिया गर्ने हामीले यो समाज पनि अरूले भन्दा बढी बुझेका छौँ । निरङ्कुश व्यवस्थाविरुद्ध सबैभन्दा पहिले धावा बोलेको जोसिलो इतिहास हाम्रो छ । अब यी सबै योग्यताहरू शैक्षिक सुधारका लागि देखाउनुपर्ने बेला आएको छ । उति बेला निरङ्कुश शासकहरुविरुद्ध धावा बोलेझै अब शिक्षा क्षेत्रका धमिराहरुविरुद्ध धावा बोल्नुपर्ने बेला आएको छ । युग सुहाउँदो शिक्षा नीति निर्माण गराउँदै त्यसको कार्यान्वयन गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने छ । दरबार ढाल्न तरबार प्रयोग गर्‍यौँ, अब कलमले मलहम लगाउँदै यो समाज र देशलाई बलियो बनाउने सन्दर्भमा भूमिका खेल्ने हो ।

सुनौलो जीवनका अनेक सम्भावनाहरूलाई तिलाञ्जली दिएर जोखिमयुक्त विद्यार्थी राजनीतिको बाटो रोजेका विद्यार्थी नेताहरूलाई अवमूल्यन गर्नेहरू पनि यही समाजमा छन् । ती इतिहासको ज्ञान नभएका तर आफूलाई सर्वज्ञानी ठान्ने आडम्बर हुन् । विद्यार्थी नेताहरूले सुस्ता र कालापानीमा उभिएर भारतविरुद्ध हुङ्कार गर्दै आफ्नो जीवनको आहुति दिन तम्तयार हुँदै गर्दा उनीहरू राजदूतावासको अध्ययन छात्रवृत्ति फारम भर्दै थिए । हामीभित्र अनेकन् योग्यता विकास गर्नुछ, अवश्य गर्नेछौँ । तर, जसरी नारायणहिटीबाट राजालाई निर्मल निवास फर्कायौँ, त्यसरी नै अस्ट्रेलिया र क्यानडाबाट साथीभाइहरू फर्कने परिस्थिति निर्माण गर्नेछौँ । देश बनेन भनेर सामाजिक सञ्जालमा गनगन गर्नुको सट्टा नबन्नुका कारणहरुविरुद्ध अथक प्रयत्न साथ लडिरहने छौँ । झोला बोकेर स्कुल गएको साथी कलम बोकेर कार्यालय जाने परिस्थिति निर्माण गर्न लागिरहने छौँ ।

विश्वविद्यालय सुधारको अर्थ नियमिततामा परिष्कार ल्याउनु मात्र होइन, नयाँ आयामहरू थप्नु पनि हो । विश्वविद्यालयको प्रशासनिक संरचना ‘स्नेक वे’ प्रकृतिको र अध्यापन–अध्ययन क्षेत्र ‘प्यारोट टङ’ प्रकृतिको छ । सुधारका निम्ति योजनाबद्ध दबाब अब अनेरास्ववियुले दिइरहेछ, अन्य विद्यार्थी संगठनहरुले पनि संस्थागत ढङ्गले निर्णय गर्दै उल्लेखित विषयहरूमा अनेरास्ववियु उभिएकै ठाउँमा उभिएको खण्डमा व्यापक सुधार अवश्य हुनेछ । अधिक प्रश्नहरू सामना गरिरहेको विद्यार्थी आन्दोलनले उत्तरहरू दिने सामर्थ्य पनि बढाउँदै जानुपर्छ । राजनीतिक आस्थाभन्दा माथि उठेर विश्वविद्यालय सुधारका कदमहरू चाल्नैपर्छ । त्रिभुवन विश्वविद्यालय घडी भवनको घडीलाई अद्यावधिक समयानुसार चल्ने बनाउनैपर्छ । घण्टाघरको घण्टीले हामीलाई सचेत गराइसकेको छ ।

विश्वविद्यालयका भित्ताहरूमा क्रान्तिकारी नाराहरू लेखेर, अनेकन् विषयहरूका विज्ञप्ति टाँसेर हाम्रो दायित्व पुरा हुँदैन । विश्वविद्यालयको गेटदेखि उपकुलपतिको कार्यालयसम्म, क्याम्पस भर्ना फारम लिने झ्यालदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म अनेकौँ अस्तव्यस्तता छन् । समाधान तिनको गर्नुछ । घण्टौँ लाइन लागेर, अनेक झन्झट झेलेर मात्र कागजी कामहरू पूरा हुने अवस्थाको अन्त्य गर्नैपर्छ । विश्वविद्यालय र सरकारी क्याम्पसका कर्मचारीहरूको बेपरवाह र रुखो व्यवहारलाई जिम्मेवार र नम्र बनाउने उपाय त नखोजी नहुने भएको छ । विश्वविद्यालय सेवा आयोगले कर्मचारी पूर्ति गर्न नसक्ने, युवा बेरोजगार भइरहने प्रकृतिको विरोधाभासको अन्त्य गर्न पहल गर्नु विद्यार्थी संगठनको दायित्व हो ।

अध्ययन–अनुसन्धान केन्द्रहरूको गरीमा बढाउन, संस्थानहरूको स्तर वृद्धि गराउन पहल गर्नु झन् महत्त्वपूर्ण छ । पर्याप्त अनुसन्धान अभ्यास नगर्ने विश्वविद्यालयले शिक्षित होइन, साक्षर जनशक्ति मात्र उत्पादन गर्दछ । थला परिरहेका अनुसन्धान केन्द्रहरूलाई खिया र लेउमुक्त बनाउँदै राज्यलाई नीति निर्माणमा योगदान गर्न सक्ने ठाउँमा पुर्‍याउनै पर्छ । 

विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू पार्टी कार्यालयभन्दा बलियो बनाउनुपर्छ प्रकृतिको अभ्यास हामीले गर्नैपर्छ । दबाब समूहमा समूहकृत विद्यार्थी संगठनहरु शिक्षालयमा यो वा त्यो भएन भन्न मात्र भन्दैनन्, विश्वविद्यालय सुधारको सान्दर्भिक योजना दिन पनि सक्षम छन् भन्ने विषय प्रमाणित अब गर्नैपर्छ । शिरमा कफन बाँध्दै सडक आन्दोलनमा होमिने विद्यार्थी संगठन, विश्वविद्यालयको निधारमा सर्वोत्कृष्टताको कफन बाँध्न सफल हुने कार्यदिशामा अब योजनाबद्ध रूपमा अग्रसर हुनैपर्छ । नवीन समयको विद्यार्थी राजनीतिले नवीन शैलीमा भूमिका निर्वाह गर्नैपर्छ । 

ठगुन्ना अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरीश ठगुन्ना
गिरीश ठगुन्ना
लेखकबाट थप