सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

आइतबार, ०७ माघ २०८०, २० : ४०
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । 

कृषि विकास बैंकको आज काठमाडौँमा आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिए । 

“कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ । यसका लागि बैंकले काम गर्न सक्छ”, गभर्नर अधिकारीले भने । उनले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने बताए । “आफूलाई नेपाली जनताको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधिकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्छ”, उनले भने । 

त्यस अवसरमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले कृषि विकास बैंकले दिगो बैंकिङको अभ्यास गरिरहेको भन्दै बैंकले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई अगाडि बढाउन सरकारसँगै बैंकिङ प्रणाली पनि तयार रहेको बताए ।

बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले विश्व र देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा समेत बैंकले कारोबार बिस्तार गर्न सफल भएको उल्लेख गरे । उनले बैकिङ क्षेत्रमा आउन सक्ने प्रणालीगत जोखिमलाई समेत कुशलतापूर्वक व्यवस्थापन गर्न बैंक सक्षम रहेको उल्लेख गरे । उनले गरिबी निवारण, साना किसान विकास कार्यक्रम, ग्रामीण र कृषि क्षेत्रको विकास, दुर्गम विपन्न वर्गलाई लघुवित्त सेवा प्रदानलगायतमा विशेष भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।  

विक्रम संवत् २०४१ सालमा स्थापना भएको यस बैंकले वित्तीय सेवा, कृषक, उद्यमीलाई ऋण प्रवाह गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर गरी १३ प्रतिशत लाभांश दिएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले ओभरड्राफट डेविट कार्ड र कल सेन्टरको सुरुआत गरेको छ ।

बैंकको गत आवको सञ्चालन नाफा रु चार अर्ब ८२ करोड ७१ लाख २० हजार थियो । बैंकले सो आवमा रु एक खर्ब ९९ अर्ब ६६ करोड २० लाख ३० हजार निक्षेप र रु एक खर्ब ८२ अर्ब ८१  करोड ५० लाख ७० हजार कर्जा प्रवाह गरेको छ । बैंकको गत आवमा खराब कर्जा दुई दशमलव ७८ प्रतिशत थियो । बैंकको जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड छ लाख २७ हजार छ । बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप