सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी अस्पताल

कर्मचारी नियुक्तिमा फरक–फरक मापदण्ड, आफ्ना मान्छे राख्न चलखेल

अरूलाई लिखित र अन्तर्वार्ता, बायोमेडिकल टेक्निसियनलाई अन्तर्वार्ता मात्रै !
सोमबार, ०८ माघ २०८०, ०६ : ३२
सोमबार, ०८ माघ २०८०

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन गर्दा फरकफरक मापदण्ड अपनाएको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले आफ्ना मान्छे सेटिङ गर्न यस्तो मापदण्ड बनाएको अस्पतालकै कर्मचारी स्रोत बताउँछ ।

अस्पतालले गत माघ ४ गते एकै पटक ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी नियुक्तिका लागि आह्वान गर्दै सूचना जारी गरेको छ । तीन महिनाको सेवा करार रहने गरी जारी गरेको सूचनामा अस्पताल विकास समितिले मनपरी मापदण्ड बनाएको हो ।

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२३ जना अस्थायी पद सिर्जनाका लागि थप दरबन्दी माग गरेको थियो । मन्त्रालयले भने ५० जनाको दरबन्दी स्वीकृत गरेको थियो । जसमा आठौँ तहको १० जना मेडिकल अधिकृत, सातौँ तहको एक जना नर्सिङ अफिसर, पाँचौँ तहको ३० जना स्टाफ नर्स, पाँचौँ तहको २ जना बायोमेडिकल इन्जिनियर र ७ जना पाँचौँ तहको फार्मेसी सहायक छन् ।

तर, पाँचौँ तहको स्टाफ नर्सका लागि लिखित र अन्तर्वार्ता दुवै लिने सूचनामा उल्लेख छ । उता, सातौँ तहको नर्सिङ अधिकृत नियुक्ति गर्न भने अन्तर्वार्तामात्र लिने सूचनामा उल्लेख छ । जसका कारण निष्पक्ष नियुक्ति हुनेमा आशङ्का बढेको कोशीका स्वास्थ्यकर्मी बताउँछन् ।

‘यसअघि लिखित र अन्तर्वार्ता दुवैमा उत्तीर्ण हुनेलाई नियुक्ति गर्ने गरेको थियो । अहिलेको सूचनामा विभेद गरेजस्तो देखिएको छ । जुनियर कर्मचारीको लागि लिखित र अन्तर्वार्ता हुने र सिनियर अधिकृतका लागि अन्तर्वार्तामात्र राखिएको छ । सूचना हेरेर हामी पनि छक्क परेका छौँ,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘विकास समितिले आफ्नो मान्छे राख्नका लागि समान मापदण्ड कायम नगरेको हो कि भन्ने आशङ्का छ ।’

कोशीमा अहिले १० औँ तहको एक जना नर्सिङ अधिकृत कार्यरत छन् । आठौँ तहका एक जना र सातौँ तहका तीन जना नर्सिङ अधिकृत छन् । उनीहरू लोकसेवा उत्तीर्ण गरेर आएका स्वास्थ्यकर्मी हुन् ।

यस्तै अस्पतालले दुई जना पाँचौँ तहकै बायोमेडिकल टेक्निसियन नियुक्तिका लागि पनि अन्तर्वार्तामात्र लिने तयारी गरी सूचना जारी गरेको छ ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले दरबन्दी कम भएको पदमा मात्र अन्तर्वार्ता राखिएको बताए । ‘संख्या बढी भएकोमा लिखित र अन्तर्वार्ता राखिएको हो । नियुक्तिको प्रक्रिया लामो र झन्झटिलो हुन्छ । त्यसैले पनि कम संख्यामा अन्तर्वार्ता मात्र राखिएको हो,’ उनले भने ।

निष्पक्ष र खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट हुने उनले बताए । विकास समितिले बनाएको पदपूर्ति समितिमा बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको संयोजत्वमा तीन सदस्य छन् । समितिको अन्य सदस्यहरूमा फिजिसियन डा. मनोज ठाकुर र दिनेश न्यौपाने छन् । अस्पतालले जारी गरेको सूचनामा चलानी नम्बर र पत्र संख्या पनि क्रमबद्ध नरहेको पाइएको छ ।   

  • बायोमेडिकल इन्जिनियर भने सुटुक्क नियुक्ति

कोशी अस्पताल विकास समितिले एक जना बायोमेडिकल इन्जिनियरलाई भने गुपचुपमा निर्णय गरेर नियुक्त गरेको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालले खुला प्रतिस्पर्धा बिना नै गोविन्द मिश्रलाई बायोमेडिकल इन्जियिर (पाँचौँ तह)मा नियुक्त गरेका हुन् ।

अस्पताल विकास समितिले पुसमै उनलाई करारमा बायोमेडिकल इन्जिनियरमा नियुक्त गरेको देखिएको छ । विकास समितिको अध्यक्ष भएपछि सिलवालले सम्पूर्ण कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने बताउँदै आएका थिए । तर, उनी आफैँले सूचना आह्वान नगरी सुटुक्क मिश्रलाई नियुक्त गरेको कर्मचारीहरु बताउँछन् ।

koshi 2

कोशी अस्पताल विकास समितिका अध्यक्ष  सिलवालले भने अस्पतालको काम कारबाहीको लागि बायोमेडिकल इन्जिनियर जरुरी परेकाले काम गर्दै आएकालाई नियुक्ति गरेको बताए । उनले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्दा ठुलो रकमको चलखेल हुने भएकाले त्यो रोक्न पनि विज्ञापन नगरी नियुक्ति गर्नु परेको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप