बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लाखौँ खर्च गरेर विदेशी भूमिमा आएका नेपाली युवा कुलतमा फस्दै

सोमबार, ०८ माघ २०८०, १७ : २३
सोमबार, ०८ माघ २०८०

दीपक भण्डारी

लिस्बोन (पोर्चुगल) । लाखौँ खर्च गरेर विदेशी भूमिमा आएका कतिपय नेपाली युवा कुलतमा फस्ने गरेको पाइएको छ । युरोपमा राम्रो कमाइ हुने सपना बोकेर आएका कतिपय युवाहरू भनेजस्तो काम नपाएपछि सडक आश्रित हुने र कुलतमा लाग्ने गरेको पाइएको हो ।

रुकुम घर बताउने एक युवक पोर्चुगल आएर सुरुमा खेतीको काम गर्दथे । खेतीमा ‘अफ सिजन’ भएपछि कम्पनीले सबै मान्छे निकालिदिएको र कामको खोजीमा लिस्वोन आइपुगेको उनी बताउँछन् । ‘पैसा हुँदासम्म होस्टेलमा बासियो । पैसा पनि सकियो, अनि सडकमा आइयो,’ उनले भने ।

घरबाट लाखौँ ऋण खोजेर पोर्चुगल आएको बताउने बागलुङका एक युवक आफू आउँदा लिएको ऋणको व्याजसमेत तिर्न नसकेको सुनाउँछन् । ‘बैंकको ब्याजले घरबारी लिलाम गर्ने अवस्था आयो । काम पाइँदैन, अहिले त घरमा पनि सम्पर्क हुँदैन,’ उनले भने ।

बाध्यताले सडकमा आइपुगेको बताउने उनी बाँच्नका लागि संघर्ष गर्ने क्रममै गलत मानिसको संगतमा फसेको र कुलतमा लाग्न पुगेको बताउँछन् । ‘घर परिवार सम्झिँदा मुटु भक्कानिएर आउँछ तर विकल्प केही छैन,’ उनले भने, ‘मन भुलाउनलाई पनि लागु औषध सेवन गर्न बाध्य भइयो ।’

आफ्नो घर रुकुम बताउने प्रकाश (नाम परिवर्तन) ले आफू पैसा र उच्च शिक्षा प्राप्त गर्न सुरुमा युक्रेन गएको सुनाए । त्यहीँ उनी एक युवतीसँग मायाजालमा फसे । सुरुसुरुमा उनीहरू दुईबिच राम्रो सम्बन्ध बन्यो । यसै समयमा युक्रेन र रुसबिचमा युद्ध सुरु भयो । त्यसपछि उनीहरू दुवै जना फ्रान्स पुगे ।

‘त्यहाँ कार्ड ढिलो बन्छ भन्ने निष्कर्ष निकाल्दै हामी पोर्चुगल आयौँ,’ उनले भने, ‘पोर्चुगलमा आइपुगेपछि प्रेमिकाले धोका दिइन् ।’ 

त्यसपछि आफूले लागु औषध प्रयोग गर्न थालेको उनले सुनाए ।

छोराछोरी युरोप पठाएका छौँ, अब सबै राम्रो हुन्छ भनेर नेपालमा रहने बुवा आमाहरुले चासो यसबारेमा चासो पनि लिनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका पूर्ब अध्यक्ष तिलक गैरेले धारणा राखे । ‘मेरो कार्यकालमा केहीलाई परिवारको आग्रहमा ट्राभल्स डकुमेन्ट बनाएर नेपाल पनि पठाइएको थियो ।  केहीलाई यतै पुनर्स्थापना पनि गरेका छौँ’, पूर्वअध्यक्ष गैरेले भने । यसको कुलतमा आफ्ना सन्ततीहरु नफसुन् भन्नका लागि परिवारनै सजक हुनु पर्ने उनको भनाइ छ । साथसाथै यसबारे जनचेतनाको खाँचो रहेको उनको भनाइ छ । 

अहिले युरोपमा वर्षाको सिजन हो । भनेजस्तो काम नपाएका, आर्थिक सङ्कटमा परेका युवा युवतीहरु खाली ठाउँमा टेन्ट लगाएर रात बिताउने गर्छन् । कोही त खाली घरमा गएर बस्ने गर्दछन् । 

नेपालीहरुको संरक्षणमा खटिँदै आएकी गैर आवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेका अनुसार एक जना बहिनीको किड्नी फेल भएको छ । एक जनालाई एचआइभी/एडस लागेको भनेर स्वास्थ्यकर्मीहरुले बताएका छन् । यी सब कुलतकै कारण भएको उनको भनाइ छ ।

नेपालमा राम्रै परिवारका छोराछोरीहरु लाखौँ खर्चेर युरोपको सुन्दर भविष्यसँग लालयित हुन्छन् । तर भनेजस्तो काम नपाउने, बेरोजगारी जस्ता कारणले नै कयौँ युवा कुलतमा लागेको गैर आवासीय नेपाली संघ पोर्चुगलका सदस्य चक्र गुरुङ बताउँछन् ।

विषेश गरी पोर्चुगलको राजधानी लिस्बोनका विभिन्न क्षेत्रमा यस्ता समस्यामा रहेका नेपाली भेटिन्छन् । लिस्बोनको ओदिविलास, अलकन्त्रा, कायसुद्रे, ओरन्ते, एवेनिदा लगायतका ठाउँमा यस्ता लागु औषध प्रयोगकर्ता भेटिन्छन् भने सबैभन्दा धेरै लिस्बोनको मुटु मानिने मार्टिमुनिज भन्ने ठाउँमा भेटिन्छन् ।

कतिपयले त आफ्नो पासपोर्ट धितो राखेर पैसा माग्ने र लागु औषध प्रयोग गर्ने गरेको पनि काफ्लेको भनाइ छ । उनका अनुसार सबै जिल्लाका सेवा समाजले मात्र आ–आफ्नो जिल्लाका मान्छेहरूलाई जिम्मा लिन सके यो समस्या शून्यमा झार्न सकिन्छ । 

तर यसबारे न लिस्वोनमा अभिभावकीय भूमिकामा रहेको कन्सुलर अफिसलाई वास्ता छ, न त नेपालीहरुको साझा संस्था एनआरएनमा नेतृत्व गर्ने नेताहरुलाई नै मतलब रहेको लिस्बोनमा बस्दै आएका कमल रायमाझी बताउँछन् । तर, कन्सुलर कार्यालयले भने यसबारे गम्भीर भएर काम गरिरहेको जिकिर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप