शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी मोटर्स बन्यो हिरोको आधिकारिक बिक्रेता, नेपालमै एसेम्बल सुरु गर्ने

सोमबार, ०८ माघ २०८०, २० : ४७
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । चौधरी ग्रुप हिरो मोटरकर्पको नेपालतर्फको बिक्रेता अधिकार पाएको छ । 

लामो रस्साकस्सीपछि चौधरी ग्रुप नेपालका लागि हिरो मोटरकर्पको आधिकारिक बिक्रेता बनेको हो । यसअघिसम्म नेपालका लागि हिरो मोटरकर्पको आधिकारिक बिक्रेता ज्योति समूह थियो ।

हिरो मोटरकर्प मोटरसाइकल र स्कुटर उत्पादनमा विश्वकै अग्रणी स्थानमा छ । चौधरी ग्रुपले एक विज्ञप्ति जारी गर्दै विश्वकै अग्रणी दुई पाङ्ग्रे सवारीको नेपालतर्फको बिक्रेताकारुपमा आफु चयन भएको जानकारी दिएको हो ।

यससँगै, हिरोमा साढे ३ दशक लामो ज्योति समूहको नेपाल लिगेसी अन्त्य भएको छ । नेपाल हिरोको उत्कृष्ट बिक्री बजारकारुपमा रहेको छ । नेपालमा हिरोको स्पिलिन्डर र एक्सप्लस जस्ता मोटरसाइकल लोकप्रिय छन् ।

चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यवसायीक घरानाकारुपमा रहँदै आएको छ । यो ग्रुपले १६० भन्दा धेरै कम्पनीमा लगानी तथा सञ्चालन गर्दै आइरहेको छ । यस्तै, १५ हजारभन्दा धेरै रोजगारी सृजना गर्दै आइरहेको समूहले जनाएको छ ।

चौधरीले ग्रुपले नेपालमा एफएमसीजी, वित्त क्षेत्र, ऊर्जा र पूर्वाधार, हस्पिटालिटी र विद्युतीय व्यापारमा पकड जमाइरहेको छ । अब यो सूचीमा हिरोको नाम समेत थपिएको समूहले जनाएको छ । चौधरी समूहले हिरोको बिक्रेताको अधिकार पाएसँगै नयाँ लगानी र रोजगारी सृजना गर्ने प्रतिबद्धता समेत गरेको छ ।

यस्तै, समूहले नवलपुरमा हिरोको एसेम्बल प्लान्ट लगाउने र वार्षिकरुपमा ७५ हजार युनिट दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने जनाएको छ । र, नेपालकै एसेम्बल प्लान्टबाट सन् २०२४ कै मार्चदेखि उत्पादन थाल्ने चौधरी ग्रुपले जनाएको छ ।

हिरो मोटरकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले चौधरी समूहसँगको सहकार्यबाट आफू उत्साहित भएको बताए । उनले चौधरी ग्रुपसँग नेपालमा व्यवसाय सञ्चालन गरेको राम्रो अनुभव रहेको र यसबाट हिरोलाई समेत फाइदा हुने बताए । उनले आगामी दिनमा नेपालमा हिरोले थप लगानी गर्ने र विश्वसतीय र गुणस्तरीय उत्पादन प्रदान गर्नेक्रमलाई निरन्तरता दिने समेत बताए ।

यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी अग्रणी कम्पनीसँगको सहकार्य सुरु गर्नु उत्साहजनक भएको बताए । यससँगै सीजी मोटर्स नेपालको अटो बजारमा बलियो र अब्बल खेलाडीकारुपमा अघि बढ्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप