बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकप : उद्घाटनमा आयोजकलाई हराएर थ्रीस्टार क्वाटरफाइनलमा

मङ्गलबार, ०९ माघ २०८०, १९ : १९
मङ्गलबार, ०९ माघ २०८०

पोखरा । पोखरामा २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप सुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरी थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ । 

थ्रीस्टारले सहारालाई २–१ गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा योगेश गुरुङले एक गोल गरे भने अर्को गोल सहाराका अनिष तामाङले आत्मघाती गरेका हुन् ।

सहाराका लागि आशिषले एक गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा योगेशको गोलबाट अग्रता लिएको थ्रीस्टारलाई ५९ औँ मिनेटमा सहाराका अनिषले आत्मघाती गोल गरिदिएका थिए । एन्जल महर्जनले ४० यार्ड परबाट प्रहार गरेको फ्रिकिकलाई अनिषले क्लियर गर्न खोज्दा जाली चुमेको थियो ।

सहाराका लागि २३ औँ मिनेटमा आशिषले गोल फर्काए । खेललाई बराबरीमा ल्याएसँगै विपक्षी टिमलाई दबाबमा राखेको आयोजक सम्हालिन नसक्दा पराजित भयो । दुवै टिमले राम्रो अवसर पाएपनि गोल हुन सकेन ।

प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्  । प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयुष सर्वोत्कृष्ट खेलाडी

राष्ट्रिय खेलाडी आयुष घलानलाई सहारा क्लब पोखराले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०८०’ बाट सम्मान गरेको छ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन अघि घलानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको हो ।

सम्मानसहित घलानले ५० हजार ५ रुपैयाँ प्राप्त गरे । पोखरा उपमहानगरका मेयर धनराज आचार्यले आयुशलाई ताम्रपत्र, अवार्ड सहित सम्मान गरे । राष्ट्रिय फुटबल टिमका प्रभावशाली फुटबलर घलानले यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रभाव छाडेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप