शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

पुरानो चुक्ता नगर्दै नयाँ ऋण खोज्दै वायुसेवा निगम, १ सय ३५ अर्ब ‘सफ्ट लोन’ माग

शुक्रबार, १२ माघ २०८०, १० : ५८
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । जहाज खरिद तथा व्यवस्थापनमा यसअघि नै ४८ अर्ब रुपैयाँ हाराहारी ऋणमा रहेको नेपाल वायुसेवा निगमले थप १३५ अर्ब (१ खर्ब ३५ अर्ब रुपैयाँ ) ऋण लिने तयारी गरेको छ ।  निगमले पुरानो ऋणको साँवा–ब्याज भुक्तानी गर्दै नयाँ जहाज खरिद तथा सञ्चालनका लागि १ सय ३५ अर्ब रुपैयाँ सफ्ट लोन (सस्तो ब्याजदरमा कर्जा) लिन लागिएको जनाएको हो ।

यसअघि वायुसेवा निगमले नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको निगमले नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणबाट निगमले वाइड–बडी, न्यारो–बडीसहित चिनियाँ जहाज खरिद गरेको थियो । 

समयमा नै भुक्तान गर्न नसक्दा उक्त ऋणको सावाँ ब्याज गरी हाल ४८ अर्ब रुपैयाँ पुगिसकेको छ । तर, पछिल्लो पटक निगम सञ्चालक समितिले सोही ऋणलाई देखाएर सस्तो ब्याजदरको ऋण लिएर महँगो ऋण भुक्तानी गर्ने भन्दै १ सय ३५ अर्ब रुपैयाँ ऋण लिने प्रस्ताव अघि सारेको छ ।

यतिमात्र होइन निगम सञ्चालक समितिले तालुक मन्त्रालय  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक समेतको स्वीकृति देखाएर ऋण मागका लागि अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) समेत आह्वान गरिसकेको छ ।

‘नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरू खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कम ब्याजदरमा ऋण लिई ब्याज खर्चको भार कम गर्ने उद्देश्यले लोन स्वाप (ऋण मिलान) गर्नको लागि निगम व्यवस्थापनबाट पेश भएको प्रतिवेदन अनुसार सफ्ट लोन लिनको लागि सैद्धान्तिक सहमतिको लागि निगम सञ्चालक समितिका अध्यक्ष श्री युवराज अधिकारीको अध्यक्षतामा मिति २०८०÷०२÷२५ मा बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकार समक्ष पेश गर्ने निर्णय भए बमोजिम श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार मिति २०८०÷१०÷०४ को निगम सञ्चालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तिका लागि मिति २३ जनवरी, २०२४ मा अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) आह्वान गरिएको छ,’ निगमले जारी विज्ञप्तिमा भनिएको छ ।

ऋण गरेर जहाज किन्ने योजना

वायु सेवा निगमसँग हाल अन्तर्राष्ट्रिय उडानतर्फ चारवटा वाइडबडी र न्यारोबडी जहाज रहेको छ भने आन्तरिकतर्फ जम्मा दुईवटा ट्वीअटर जहाज मात्र छ । प्रतिस्पर्धी बजारमा जम्मा ६ वटा जहाजले व्यवसाय धान्न नसक्ने र निगमको व्यवसायसमेत सुधार नहुने निगमको ठहर छ । 

वायु सेवा निगमको व्यावसायिक सुधारका लागि थप जहाज खरिद गर्ने र सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रको नेतृत्वमा गठित ‘वायु सेवा निगम सुधार कार्यदल’को प्रतिवेदनसमेतले सुझाव दिएको छ । यसै सुझावका आधारमा निगमले तत्काल तीनवटा ट्वीअटर जहाज खरिद गर्ने र आन्तरिक दुर्गम क्षेत्रमा सञ्चालन गर्ने योजना निगमले अघि सारेको छ । जहाज खरिदका लागि टेन्डरसमेत भइसकेको छ । 

यसअघि नै ४८ अर्ब रुपैयाँ ऋणमा रहेको निगमले थप जहाज किन्न ऋण नलिने तर आफ्नै स्रोतबाट जहाज किन्ने बताइरहेको छ । तर, निगमको पछिल्लो तयारीले भने थप ठुलो ऋण लिएर जहाज खरिद गर्ने, ऋणको सावाँ ब्याज भुक्तानी गर्ने र जहाज मर्मतमा खर्च गर्ने बताएपछि सबैलाई आश्चर्य बनाएको छ । 

‘प्राप्त हुने सफ्ट लोन मध्येबाट नेपाल सरकार तथा सम्बन्धित निकायहरूको स्वीकृति लिई मौजुदा लोन स्वाप गर्नको लागि, निगमको १० वर्षे व्यावसायिक योजना अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरू खरिद गर्ने प्रयोजनको लागि, अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माणका लागि लगानी गर्ने समेत योजना रहेको छ,’ निगमका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रमेशकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा बुझ्न रातोपाटीले प्रवक्ता पौडेललाई ‘के निगमले पुनः ऋण लिएर जहाज किन्न लागेको हो ?’ भनेर प्रश्न गर्दा उनले भने, ‘लिन लागिएको ऋणबाट जहाज खरिद नै नगर्ने भनिएको त छैन । तर तत्काल खरिद गर्न लागिएको तीनवटा ट्वीनअटर जहाज भने यसबाट खरिद हुँदैन ।’

निगमले लिन लागेको १ सय ३५ अर्बको ऋण सुलभ ब्याजदरको लोन भएको र यसको पहिलो प्राथमिकता हाल रहेको महँगो ब्याजदरको ऋण भुक्तानी गर्ने र बाँकी रहेको पैसाले अन्तर्राष्ट्रिय उडानका लागि ठुला जहाज खरिदमा खर्च गरिने प्रवक्ता पौडेलको भनाइ छ । 

‘महँगो ब्याजका कारण हाल निगमले ऋणको ब्याजका लागि मात्र वार्षिक साढे ३ अर्ब रुपैयाँ तिरिरहनु परेको छ । यो महँगो ऋणबाट मुक्ति पाउने हो भने निगम फाइदामा जान्छ,’ प्रवक्ता पौडेलले रातोपाटीसँग भने । 

हाल कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको ब्याजदर १० प्रतिशतमाथि रहेको प्रवक्ता पौडेलले बताए । यस्तै चिनियाँ जहाज (हाल ग्राउण्डेड ५ वटा जहाज) खरिद गर्दाको चाइना एक्जिम बैंकको ऋणको ब्याजदर १.७५ प्रतिशत रहेको छ । महँगो ब्याजदरको ऋण तिर्नका लागि सस्तो ऋण लिन खोजिएको उनले तर्क छ । 

तर, उक्त सफ्ट लोन एकै पटक नभई निगमको व्यावसायिक लगानीको आवश्यकता अनुसार पटक–पटक लिइने निगमले बताएको छ । यसरी सफ्ट लोन प्राप्ति भए पश्चात् हाल निगमले वार्षिक रुपमा तिर्दै आएको करिब साढे तीन अर्ब ब्याज खर्चमा उल्लेख्य कटौती हुन गई निगमको नाफा वृद्धि हुने अपेक्षाका साथ आशयपत्र (ईओआई) आह्वान गरिएको विज्ञप्तिमा नै उल्लेख गरिएको छ ।

निगमको ऋणमाथि महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आफ्नो ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनमा निगमका कारण कर्मचारी सञ्चय कोषको कर्जा लगानी जोखिममा परेको औँल्याएको छ । प्रतिवेदनले वाइडबडी जहाज खरिदका लागि कोषले २०७४ जेठ २८ गतेको सम्झौता अनुसार निगमलाई १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको तर निगमले ऋण तिर्न नसक्दा ब्याजसमेत साँवामा गाभिएको बताएको छ । सोही ऋण तिर्दातिर्दा निगम आजित भएकोले पनि सस्तो ऋण लिएर मुक्ति खोजेको प्रवक्ता पौडेलको भनाइ छ । यसका लागि पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको समेत स्वीकृति रहेको पौडेलले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप