सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अदालतमा सहन्यायाधिवक्ताको बहस

देशको विकास बजेट बराबर क्रिप्टो र हुण्डीको कारोबार छ, अर्थतन्त्र कहाँ पुग्ला श्रीमान् ?

झण्डै ३ खर्ब बिगो रहेको मुद्दामा १२ वर्षसम्म कैद हुनसक्ने
शुक्रबार, १२ माघ २०८०, १४ : ४९
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा झण्डै ३ खर्ब रुपैयाँ बिगो भएको हुण्डी र क्रिप्टो करेन्सी कारोबारका प्रतिवादीको थुनछेक बहस हुँदै थियो । जम्मा ५ जना प्रतिवादीलाई पक्राउ तथा १२ जनालाई फरार प्रतिवादीको सूचीमा राखेर चलाइएको मुद्दामा २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको बिगो कायम गरिएको छ ।

यति ठुलो रकमको अवैध कारोबार भएको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका कार्यालय प्रमुखसमेत रहेका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ आफैँ बहसमा उपस्थित भए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा गत माघ ८ गतेदेखि बयानमा राखी ‘हेर्दाहेर्दै’मा रहेको उक्त मुद्दामा शुक्रबारबाट थुनछेक बहस सुरु भएको थियो । झण्डै ३ खर्ब रुपैयाँको बिगो कायम भएको, नेपाल अमेरिका तथा केही विवादित व्यापारीसमेत जोडिएको गहन मुद्दा भएकाले हुनसक्छ, सहन्यायाधिवक्ता श्रेष्ठ आफैँ बहसमा उपस्थित भएका थिए ।

सुरुमा अभियोजकसमेत रहेका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अभियोजन किन र कसरी भयो, त्यहाँ के के प्रमाण छन्, उनीहरुको कनेक्सन र लिङ्क चार्ट कस्तो छ आदिबारे सविस्तार बहस गरे ।

न्यायाधिवक्ता अर्यालले भने– कुनै समूहले नै अनौपचारिक अर्थतन्त्र चलाइरहेको छ

sitaram-ariyal

सुरुमा प्रतिवादी नम्बर १ मा रहेका रुपेश श्रेष्ठको सम्बन्धमा बहस गर्दै अर्यालले रुपेशले ११ महिनाको अवधिमा बैंकिङ कारोबार, हिसाब खाताको अध्ययन र क्रिप्टोकरेन्सीको वालेट तथा अमेरिकामा मात्रै चल्ने नेपालको इसेवा वा खल्ती जस्तै वालेट क्यास एप र हुण्डी कारोबारको रजिष्टरको अध्ययन गर्दा रुपेश एक्लैले १ खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको दाबी गरे । एकै व्यक्तिले विगत ११ महिना अवधिको मात्रै अनुसन्धान गर्दा पनि यति धेरै रकमको कारोबार भएको पाइएको भन्दै उक्त रकम अत्यन्तै धेरै भएको र यसले अनौपचारिक अर्थतन्त्र चलाइरहेको उनको जिकिर थियो ।

नेपालमा रुपेश र उनकी श्रीमती लगायतको बैंकिङ कारोबार, मोबाइल वालेट, क्रिप्टेकरेन्सीको वालेट, हुण्डीको खाता आदि विश्लेषण गर्दा यति ठुलो रकमको कारोबार भएको पाइए पनि यसमा रुपेश एक्लैको संलग्नता भने छैन । यो कारोबारमा मुख्यतः अमेरिकामा रहेका रुपेशका भाइ दिपेश श्रेष्ठ, अमेरिकामै रहेका भाञ्जाहरु अंशुल श्रेष्ठ र आयुष श्रेष्ठले साथ दिएका छन् । नेपालबाट अमेरिका वा अमेरिकाबाट नेपालमा हुण्डीको कारोबार गर्न नेपालमा इसेवा वा खल्ती जस्तै रहेको एप अर्थात् अमेरिकामा क्यास एपको नामले परिचित मोबाइल वालेटको सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । अमेरिकामा बैंक अफ अमेरिका र चेज बैंक तथा क्रिप्टोकरेन्सी मार्फत् पनि कारोबार भएको पाइएको थियो ।

रुपेशले हुण्डी, क्रिप्टोकरेन्सी, क्यास एप कारोबार आदिको हिसाब किताब राख्न तीन जनालाई तलब दिएर राखेको र नेटवर्कसमेत विस्तार गरेको प्रमाण मिसिलसाथ संलग्न रहेको पनि जिल्ला न्यायाधिवक्ता अर्यालले इजलासमा बताए । तत्काल प्राप्त प्रमाण, सहप्रतिवादीको पोल बयान, बिगो रकम आदि कारणबाट पनि रुपेशलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अर्यालले बहसमा जिकिर लिए ।

जिल्ला न्यायाधिवक्ता अर्यालले अर्का प्रतिवादी आशिष अग्रवालले पनि ९७ अर्ब भन्दा बढी रुपैयाँ बराबर अवैध क्रिप्टोकरेन्सी, हुण्डी, क्यास एप आदिको प्रयोग गरेको प्रमाण रहेको जिकिर लिए । अदालतमा पेस भएको मिसिलमा अग्रवालले ९७ अर्ब २३ करोड १० लाख १९ हजार १११ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको अर्यालको दाबी छ ।

प्रतिवादी रहेका आशिष अग्रवालले ३५ करोड ६४ लाख ५८ हजार ७१८ डलर ३९ सेण्ट बराबरको क्रिप्टोकरेन्सी अर्थात् युएसडीटी लोड गरेको र ३५ करोड २० लाख ४४ हजार ५७२ डलर १२ सेण्ट बराबरको युएसडिटी आउट गरेको कारण नेपाली रुपैयाँ ९६ अर्ब २१ लाख ९५ हजार ८६५ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको दाबी लिइएको छ ।

त्यसैगरी अग्रवालले अमेरिकी डलरमा मात्रै कारोबार हुने क्यास एपमार्फत् ९१ लाख ९२ हजार २७४ डलर ४३ सेण्ट अर्थात् नेपाली रुपैयाँ १ अर्ब २२ करोड ८८ लाख २३ हजार २४६ रुपैयाँको कारोबार गरेको प्रमाण रहेको भन्दै कुल ९७ अर्ब २३ करोड १० लाख १९ हजार १११ रुपैयाँ बराबर बिगो कायम भएकाले अग्रवाललाई पनि धरौटी लिइ छाड्न नसकिने भएकाले थुनामै राख्न माग गरे ।

जिल्ला न्यायाधिवक्ता अर्यालले पक्राउ परेका अन्य प्रतिवादीहरु मिन बहादुर जिसीले पनि हुण्डीको कारोबार गरेको पुष्टि भएको, अर्का प्रतिवादी कुमार परियारले पनि क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएको तथा प्रतिवादी बनाइएका झनिन्द्र प्रसाद खतिवडाले क्रिप्टोकरेन्सी र हुण्डीको कारोबारको हिसाबकिताब हेरेको कारण तत्काल प्राप्त प्रमाणबाट उनीहरु दोषी देखिएकाले उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बहस गरे ।

नेपाल राष्ट्र बैंक ऐनले पनि नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध भनेको, बेलाबेलाको सूचनाले पनि त्यस्तो कामकाज नगर्न भनेको र गरेमा कारबाही हुने भनी निकालेको सूचना आफँैमा कानुनसरह हुने भएकाले पनि कानुन विपरीतका काम गरेकाले उनीहरु तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बहस गरे ।

जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालको बहसपछि पालो आयो जिल्ला सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको । सीतारामले मिसिलमा रहेका अधिकांश विषयमा बहस गरिसकेपछि सहन्यायाधिवक्ता श्रेष्ठले प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने कारण र आधारबारे बहस गरे । श्रेष्ठले यो बिगो सम्भवतः हालसम्मकै ठुलो बिगो भएको, क्रिप्टो र हुण्डीमार्फत् अनौपचारिक अर्थतन्त्र चलाएको र यसले देशको अर्थव्यवस्थामै गम्भीर धक्का पुगेको कारण प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिए ।

सहन्यायाधिवक्ता श्रेष्ठको जिकिर– देशको विकास बजेट बराबर क्रिप्टो र हुण्डीको कारोबार छ, देशको अर्थतन्त्र कहाँ पुग्ला श्रीमान् ?

sandesh-sth

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसमेत रहेका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले हाल कायम गरिएको बिगो देशको एक वर्षको विकास बजेट जत्ति नै रहेको बताए । यति ठुलो रकम पाँच जनाको अवैध कारोबारमा देखिनु भनेको देशको अर्थतन्त्र नै गम्भीर खतरामा पर्नु रहेको श्रेष्ठले जिकिर लिए ।

उनले इजलासमा भने, ‘मैले हेरेँ, यस आर्थिक वर्षमा देशको विकास बजेट ३ खर्ब २ अर्बको रहेछ । तर यो समूहले अवैधरुपमा गरेको क्रिप्टोकरेन्सी, हुण्डी र क्यास एपको कारोबारमा २ खर्ब ८६ अर्बको कारोबार देखिएको छ । यो नेपालजस्तो सानो अर्थतन्त्र भएको देशका लागि निकै ठुलो कुरा हो । विकास बजेट जत्तिकै रकम क्रिप्टोकरेन्सी, हुण्डी लगायतबाट कारोबार भइ अनौपचारिक अर्थतन्त्रमा देखिनु भनेको गम्भीर छ, यसले देशको अर्थतन्त्र कहाँ पुग्ला श्रीमान् ?’

सहन्यायाधिवक्ता श्रेष्ठले नेपालबाट अमेरिका र अमेरिकाबाट नेपालमा हुण्डीको कारोबार हुँदा विदेशी विनिमयको सञ्चितिमा असर परेको र यसले नेपालजस्तो आयात बढी भएको देशको अर्थतन्त्रलाई गम्भीर समस्या पर्ने बताए । अमेरिकामा रोजगारी गरी नेपालमा डलरमा पठाउनुपर्ने रकम हुण्डी कारोबारीको कब्जामा रही डलर उतै रहने र यहाँबाट नेपाली रुपैयाँमा कारोबार हुँदा राजस्व र डलरको खपत वा सञ्चितिमा असर परिरहेको उनले बताए । यसले अनौपचारिक अर्थतन्त्र निर्माण गरेको भन्दै उनले यसले देशको आर्थिक अवस्थामा गम्भीर असर गर्ने बताए ।

पक्राउ परेका रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका प्रतिवादीहरुबाट बरामद भएको सरसामान, नगद, पैसा गन्ने मेसिन, हुण्डीको रेकर्ड राखिएको रजिष्टर, अस्वाभाविक बैंकिङ कारोबार आदि नै उनीहरुविरुद्ध पर्याप्त प्रमाण हुने र प्रथम दृष्टिमा नै उनीहरु दोषी देखिएको भन्दै थुनामै राख्न सहन्यायाधिवक्ता श्रेष्ठले माग गरे । प्रमाण ऐनको दफा १४ ले बरामद भएका रजिष्टर पनि प्रमाणका रुपमा लिन मिल्ने भएकाले त्यो समेत अकाट्य प्रमाण भएको उनले जिकिर लिए ।

सहन्यायाधिवक्ता श्रेष्ठले अवैध क्रिप्टो करेन्सी, हुण्डी र क्यास एपको कारोबारमा नेपालमा एकभन्दा बढी व्यक्तिहरुको संलग्नता रहेको तथा अमेरिका र भारतमा समेत व्यक्तिहरु रही कारोबार भएकाले यो अन्तरदेशीय अपराधसमेत भएको जिकिर गरे । संगठित अपराधमा पनि सजाय हुनुपर्ने भएकाले उनीहरुलाई थुनामै राख्नुपर्ने उनको तर्क थियो ।

यी समूहले गरेको कारोबार, कायम भएको बिगो, मौकाको बयान आदि प्रमाणबाट उनीहरुले अवैधरुपमा अनौपचारिक अर्थतन्त्र निर्माण गरेको र यसले व्यक्तिलाई मात्रै नभएर समाज र राष्ट्रलाई नै धरापमा पारिरहेको भन्दै उनीहरुलाई थुनामै राखे। मुद्दाको पुर्पक्ष गर्न उनले माग गरे । दायर भएको मुद्दामा प्रतिवादीहरुलाई १२ वर्षसम्मको कैद सजाय हुनसक्ने भएकाले पनि उनीहरुलाई थुनामै राख्नुपर्ने श्रेष्ठको जिकिर थियो ।

यस्तो छ रुपेश श्रेष्ठ जोडिएको क्रिप्टोकरेन्सी, हुण्डी र बेटिङको कनेक्सन

काठमाडौँको बागबजार स्थायी ठेगाना भएका रुपेश श्रेष्ठको भाइ दिपेश श्रेष्ठ लामो समयदेखि अमेरिकामा व्यापार व्यवसाय गरी बसेका छन् । सीआइबी स्रोतका अनुसार अमेरिकामा दिपेशको ५ सयभन्दा बढी ग्यास स्टेशन, ५० भन्दा बढी ब्राञ्च भएको बैंकमा प्रतक्ष संलग्नता, पाँचतारे होटल र सपिङ मार्टहरु छन् ।

रुपेशका बुबा कृष्णलाल श्रेष्ठ पनि केही समय पहिले मात्रै अमेरिकाको नागरिकता त्यागेर नेपाल फर्किबसेको रुपेशको बयानमा उल्लेख छ । रुपेश पनि अमेरिकाको नागरिकता लिइ बसेको प्रहरीको निष्कर्ष छ । यद्यपि त्यसको पुष्टि हुन भने सकेको छैन । अमेरिकाको बैंकमै लगानी रहेको व्यक्ति भएको कारण उनले अमेरिकाकै नागरिकता लिएको अनुसन्धानको निष्कर्ष छ ।

अमेरिकामै दिपेशसँगै उनका दुइ भाञ्जाहरु अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठ पनि छन् । उनीहरु पनि ग्यास स्टेशन सञ्चालन गर्ने, मार्टहरु चलाउने लगायतको काम गर्छन् । दुई भाञ्जाहरु पनि मुख्यतः मामा दिपेश श्रेष्ठलाई नै सघाउने काम गर्छन् ।

तर दिपेशले ग्यास स्टेशन, बैंक, होटल र सपिङ मार्टमात्रै चलाउँदैनन्, अमेरिकामा बसेर नेपालमा वा नेपालबाट हुण्डीको कारोबार, क्रिप्टोकरेन्सीको कारोबार, अनलाइन बेटिङ लगायतको काम पनि गर्छन् । त्यसका लागि उनले नेपालमा आफ्ना दाइ रुपेश श्रेष्ठ लगायतका व्यक्तिहरुलाई परिचालन गरेका छन् ।

नेपालमा भने रुपेशसँग मिलेर काम गर्नेमा आशिष अग्रवाल, मिन बहादुर जिसी, कुमार परियार, झनिन्द्र प्रसाद खतिवडा, रुपेशकी श्रीमती रचना शर्मा, सरद भट्टराई, विरेन्द्र मगर, बिगल सिंह शर्मा, ओम कुमार श्रेष्ठ, दिपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्द प्रसाद श्रेष्ठ र रुदे तामाङ तथा भारतीय नागरिक बिमल पोद्दारले सहयोग तथा कारोबार गर्ने गरेको पाइएको छ ।

११ महिनाको अवधिमा यो समूहले २ खर्ब ८६ अर्बको कारोबार गरेको पाइएको छ ।  यो भनेको झण्डै नेपालको एक वर्षको विकास बजेट बराबरको रकम हो । यति ठुलो रकमको अवैध कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसनधान ब्यूरो (सीआइबी)को प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गत माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा ५ पक्राउ र १२ फरार गरी कुल १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । माघ ८ गतेदेखि हेर्दाहेर्दैमा राखेर लिइएको बयान बिहीबारमात्रै सकिएको थियो । त्यसपछि शुक्रबारबाट उक्त मुद्दामा थुनछेक बहस सुरु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप