सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

फिल्म रिलिजमा स्क्यान्डल : केहीलाई फाइदा, धेरैलाई असर

स्क्यान्डलभन्दा पनि कन्टेन्टमा जोड दिनुपर्छ : घिमिरे
शुक्रबार, १२ माघ २०८०, १५ : २६
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । यतिबेला नेपाली फिल्म क्षेत्रमा ‘एक्टर’ र ‘अक्टोर’बारे विवाद चुलिएको छ । राजन भुसालले प्रदीप खड्का र आना शर्मालाई लिएर बनाउन लागेको फिल्म ‘अक्टोर’लाई ‘एक्टर’ भनियो भनेर विवाद देखिएको हो ।

‘एक्टर’ नामबाट मदन घिमिरे निर्देशित फिल्म सेन्सर पास भइसकेको छ । फिल्म बनाउनु पहिले चलचित्र विकास बोर्डमा नाम दर्ता गर्नुपर्छ । एउटाले दर्ता गरेको नामबाट फेरि अर्काे फिल्म दर्ता हुँदैन । त्यो हिसावले पनि अब ‘एक्टर’ नामबाट अर्को फिल्म बन्ने सम्भावना छैन । तर ‘एक्टर’ युनिट नामलाई लिएर विवाद गरिरहेको छ । फिल्मकर्मी यो विषय विवादभन्दा प्रचार ‘स्क्यान्डल’ भएको बताउँछन् ।

अहिलेमात्र होइन, निर्माता, निर्देशक र कलाकारले पहिले देखिनै फिल्म रिलिजको समय विभिन्न स्क्यान्डल रच्दै आएका छन् । फिल्म ‘मिस नेपाल’ रिलिजको समय अभिनेत्री शुभेच्छा थापाले आफ्ना स्तन माछाले छोपेर चर्चा कमाएकी थिइन् । फिल्मको प्रचारमा समेत प्रयोग गरिएको उक्त तस्बिरका कारण उनको आलोचना समेत भयो तर त्यो स्क्यान्डलले फिल्मको व्यवसाय बढाउन सकेन ।

त्यस्तै निर्माता छविराज ओझाको हरेक फिल्म रिलिज समय डिभोर्स र प्रेम निकै चर्चाको विषय बन्दै आएको छ । फरक यति हो, पहिले अभिनेत्री रेखा थापासँगको प्रेम र डिभोर्स चर्चाको विषय बन्थ्यो भने पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेलसँगको प्रेम र विवाह । अहिले त शिल्पासँग पनि छविको सम्बन्ध बिग्रिसकेको छ ।

अभिनेता, निर्माता तथा वितरक करण क्रेजीको फिल्म ‘छेस्को’ रिलिजको समय फिल्मकी अभिनेत्री अर्चना पनेरुले पोर्न फिल्म खेल्ने भनेर स्क्यान्डल गरिन् । फिल्म रिलिजपछि त्यो चर्चा त्यसै सेलायो । फिल्मलाई पनि त्यो विषयले फाइदा पुर्‍याएन ।

‘चपली हाइट’ रिलिज समय अभिनेत्री विनिता बरालको नग्नजस्तै लाग्ने तस्बिर पोष्टरमा आयो । निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै उनले पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको फिल्म ‘चपली हाइट’ विनिताले खुलेरै एक्सपोज गरेको भन्दै प्रचार भयो । यही कारणले ‘चपली हाइट’ हिट भयो भने विनिताले पनि राम्रो चर्चा पाइन् ।

अभिनेत्री पूजा शर्माको पनि फिल्म रिलिजको समय विभिन्न चर्चा हुने गरेको छ । एक समय उनको फिल्म रिलिजमा निर्देशक सुदर्शन थापासँगको प्रेमको चर्चा हुन्थ्यो । त्यसपछि अभिनेता आकाश श्रेष्ठसँगको प्रेम र ब्रेकअप चर्चाको विषय बन्यो । पछिल्लो समय अभिनेता पल शाहको जेल जीवनसमेत उनले चर्चाको विषय बनाइन् । यो चर्चाले फिल्मको व्यवसायमा समेत मद्दत गर्‍यो ।

निर्देशक दिपक श्रेष्ठले एक फिल्मको रिलिजको समय हलमा कलाकारको हातबाट रुमाल बाँडे । केही अगाडि रिलिज फिल्म ‘गुन्जन’ले फिल्म मन नपरे पैसा फिर्ता भनेर चर्चा चलायो । गत दसैँमा रिलिज फिल्म ‘परदेशी २’को समय अभिनेत्री वर्षा सिवाकोटीको विवाह र डिभोर्सको चर्चा बढी भयो । आगामी २६ गते रिलिज हुने फिल्म ‘हात्तीछाप’को प्रचारमा पनि अहिले अभिनेता सौगात मल्लको प्रेम र ब्रेकअपको चर्चा भइरहेको छ । यी त केही केही उदाहरण हुन् । नेपाली फिल्म जगतमा कलाकारसँग जोडिएका यस्ता कयौँ किस्सा छन्, जो उनीहरुको फिल्म प्रदर्शन अघि चर्चामा ल्याइएका थिए । यस्ता फन्डाले कतिपयलाई फाइदा पुगेको देखिन्छ भने कतिलाई घाटा ।

स्क्यान्डल कति आवश्यक ?

निर्माण भएका फिल्म रिलिज गरेरमात्र हुँदैन, त्यसले गर्ने व्यापारले नै निर्माता, निर्देशक तथा कलाकारको मूल्याङ्कन हुन्छ । राम्रो व्यवसाय गर्न दर्शकहरु हलमा आउनुपर्छ । दर्शकलाई हलमा बोलाउने एउटै माध्यम भनेको फिल्मको प्रचारप्रसार हो । कतिपय समय निर्माता निर्देशक विभिन्न स्क्यान्डल गरेर दर्शकलाई हलसम्म तान्ने गर्छन् ।

‘चपली हाइट’, ‘ठुल्दाइ’, निर्माता छविराज ओझाका फिल्महरु, पूजा शर्माको ‘म यस्तो गीत गाउँछु २’ लगायत फिल्म विभिन्न स्क्यान्डल मार्फत दर्शकलाई हलसम्म तान्न सफल भए । त्यसैले पनि कतिपय फिल्मकर्मी फिल्म रिलिज अगाडि स्क्यान्डल आवश्यक रहेको बताउँछन् ।

तीमध्येमा पर्छन् निर्देशक अष्ट महर्जन । महर्जन जति नै राम्रो फिल्म भए पनि दर्शक हलसम्म तान्न सकिएन भने फिल्म सफल नहुने धारणा राख्छन् ।

collage

‘कतिपय फिल्मलाई स्क्यान्डलले सफल बनाएको छ’, महर्जनले भने, ‘दर्शकलाई हलसम्म तान्नका लागि स्क्यान्डल एउटा माध्यम हो ।’ स्क्यान्डलको नाममा विभिन्न विकृति फैलाउने र अरुलाई असर पुग्ने क्रियाकलाप भने गर्नु नहुने महर्जनको भनाइ छ ।

फिल्मका लेखक तथा समीक्षक सामिप्य तिमिल्सेना फिल्म चलाउन स्क्यान्डल गर्न पाइने धारणा राख्छन् । ‘पहिले मनोरञ्जनका लागि फिल्ममात्र एउटा माध्यम थियो । त्यो बनेर हलमा लागेमात्र पनि दर्शक पाउँथ्यो,’ उनले भने, ‘अहिले मनोरञ्जनका माध्यम धेरै भएसँगै कसरी आफूतिर आकर्षित गर्ने भन्ने चुनौती निर्माताका सामु हुन्छ ।’

फिल्म चलाउन विभिन्न फन्डा संसारभरि नै हुँदै आएको उनी बताउँछन् । स्क्यान्डलको पनि एउटा सीमा हुने र सीमामा रहेर गर्दा राम्रो हुने उनको धारणा छ ।

‘स्क्यान्डल गर्दा कसैको व्यक्तिगत घटना जोड्ने, पर्सनल कुरामा जाने कामचाहिँ गलत हो,’ तिमिल्सेनाले थपे ।

फन्डा होइन कन्टेन्टमा जोड

नेपाली फिल्म क्षेत्रमा स्क्यान्डलको विषयमा फिल्मकर्मीहरुबिच मतभेद देखिन्छ । कोही फिल्मको व्यवसायका लागि स्क्यान्डल आवश्यक रहेको बताउँछन् भने कोही कन्टेन्ट राम्रो भएमा दर्शकलाई त्यसै पनि हलसम्म तान्न सकिने तर्क गर्दछन् ।

‘पहिले पहिले स्क्यान्डले केही फिल्म चल्यो होला । अहिले दर्शक धेरै बाठो भइसकेका छन् । त्यसैले फिल्म राम्रो बनाउनुपर्छ’, निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले भने, ‘स्टार भनिएकाको फिल्म पनि नचलेको देखेका छौँ ।’

फिल्म राम्रो बनाएर मार्केटिङ राम्रो गरेमा दर्शक त्यसै ओइरिने सुवेदीको बुझाइ छ ।

‘फिल्मको प्रचार सामाग्री पोष्टर, ट्रेलर र गीत पनि राम्रो भए त्यसैले दर्शक तान्छ’, सुवेदी अगाडि थप्छन्, ‘सस्तो लोकप्रियता र प्रचारले फिल्म चल्दैन । त्यो जग हसाउँने काममात्र हो ।’

लक्ष्मणको नयाँ फिल्म सतिदेवीले पोष्टरबाटै चर्चा पाइसकेको छ ।

निर्देशक लक्ष्मणको विचारसँग शतप्रतिशत सहमति जनाउँछन् निर्देशक मदन घिमिरे । घिमिरे पनि फिल्ममा दम भयो भने स्क्यान्डल गर्नु नपर्ने बताउँछन् ।

‘फिल्मको कथा, प्रस्तुति, कलाकार सबै राम्रो चाहिन्छ’, घिमिरेले भने, ‘अहिले फिल्म मेकरलाई पनि सिकाउने क्षमता भएका दर्शक छन् ।’

फन्डाले केही फिल्मलाई फाइदा पुगेको देखिए पनि फिल्म चल्न कन्टेन्ट नै राम्रो हुनुपर्ने घिमिरे बताउँछन् । उनले भने, ‘फन्डाले फिल्मको व्यवसायमा प्लस होइन, माइनस गर्छ ।’ विगतका अनुभवले पनि त्यो बुझाउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप