आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोशी इन्चार्ज बलदेवलाई प्रश्न– चुनावमा माओवादीलाई कसले हरायो ?

शुक्रबार, १२ माघ २०८०, १८ : २०
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवले कांग्रेभित्र गुटबन्दीका कारण कोशीमा माओवादी पराजय भएको बताएका छन् ।

माओवादीका उम्मेदवारलाई हराउनका लागि कांग्रेसका नेता सुनिल शर्मा खुलेरै लागेको उनले आरोप लगाए । संस्थापनइतर पक्षले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पनि हराउन खोजेको तर एमालेले आफ्नै उम्मेदवारलाई मत दिएकाले हारबाट जोगिएको उनले दाबी गरे ।

गठबन्धनमा बहुमत हुँदाहुँदै माओवादीका उम्मेदवार चम्पा कार्की पराजित हुनुको दृष्टान्त दिँदै बलदेवले भने,‘कांग्रेसले मत हालेनन् हारियो । हुन त सिटौलालाई पनि हराउन बल गरेको देखिन्छ । एक सांसदसहित ५ जना स्थानीय तहका प्रमुखले एमालेमै मत हालेका हुनाले उनी थोरै मतले बचे । माओवादीतर्फ तीन जना सांसद र १७ जना स्थानीय तहका प्रमुख÷उपप्रमुखले भोट क्रस गरे । हामीलाई हराउन सुनिल शर्माले भूमिका खेलेका छन् । शर्माका खास मान्छे दुई जना रहेछन् । पाँच जना पत्ता लागियो । अन्यको विषयमा छानबिन हुँदै छ ।’

शर्मा पक्षका मान्छेहरूले सेटिङबाट पहिल्यैदेखि नै हाल्दिनौं भनेकाले भोटक्रस नियन्त्रण हुन नसकेको उनले जिकिर गरे । माओवादीले इमान्दारपूर्वक कांग्रेसका उम्मेदवारलाई मतदान गरेपनि कांग्रेसले मत नहालेर अराजकता देखाएको बलदेवले गुनासो पोखे ।

‘कांग्रेससँग सम्बन्ध राख्दा अब सजग रहनुपर्ने कोशीको राजनीतिले पाठ सिकायो । गठबन्धनको बहुमत मतभार हुँदाहुँदै हामी पराजित भयौँ । हामीले इमान्दारिपूर्वक भोट हालेका छौँ । कहीँ कसैले प्रश्न उठाउँदैन । कांग्रेसहरूले इमान्दारीता देखाएनन्’, उनले भने ।

माओवादीको उम्मेदवार पराजित हुनुको कारण पहिल्याउँदै उनले प्रदेश सरकारलाई केन्द्रीय सरकारको रिलेटेड जस्तो बनाउँदा समस्या आएको बताए ।

‘केन्द्रीय सरकारले प्रदेश सरकारलाई अलि रिलेटेड जस्तो बनाउँदा समस्या भएको छ । प्रदेश भनिएपनि स्वायत्त छैनन्’, उनले भने, ‘स्वायत्त भएको भए आफ्नै ढंगका निर्णय हुन्थे । माथिबाट नै पेलेर निर्णय गर्छन् । त्यसको परिणाम पनि हो । अर्को आफैँमा कमजोर संगठनको परिणाम पनि हो । अलि समानान्तर भएको भए हाम्रा पनि दुई चार जनाले गडबड गर्नेवित्तिकै के हुन्छ भन्ने हुन्थ्यो ।’  

कांग्रेस कस्तो पार्टी हो भन्ने विषयमा गत वर्ष आफूलाई हराउन प्रमुख भूमिका खेलेका नेता दीपकुमार उपाध्यायलाई कारबाही नभएको विषयबाट स्पष्ट हुने उनले चित्रण गरे । २०७९ मंसिरमा भएको निर्वाचनमा उनी कपिलवस्तु–१ बाट गठबन्धनका उम्मेदवार थिए । तर उनलाई हराउँदै एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका थिए । आफूलाई हराउन उपाध्यायले प्रमुख भूमिका खेलेको उनले आरोप लगाउँदै आएका थिए । उनीमाथि कांग्रेसले कारबाही नगरको उनको गुनासो पोखे ।

‘मेरो निर्वाचन क्षेत्रमा माओवादीको राम्रो स्थिति हुँदाहुँदै दीपकुमार उपाध्यायले हराए तर उनी एउटा पनि स्पष्टीकरण सोधिएन । त्यसैले कांग्रेसको यो प्रवृत्तिसँग हामीलाई गाह्रो भएको छ । कांग्रेससँग सजग रहनुपर्छ’, उनले भने ।

यद्यपि कोशी प्रकरणकै करण संघमा गठबन्धन तत्काल नभत्किने उनले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप