आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा नेपाली श्रमिक पठाउने प्रक्रिया कहाँ पुग्यो ?

शनिबार, १३ माघ २०८०, १९ : १४
शनिबार, १३ माघ २०८०

काठमाडौँ । २० असोज २०८० मा जर्मनीसँग एक सम्झौता भयो । दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरिएको थियो ।

श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला राज्य सचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । उक्त जेडीओएल अनुसार नेपालीहरूलाई जर्मनीमा सीप सिक्नका लागि अवसर दिने र दक्ष कामदार बनाएर जब मार्केटमा पठाउने भन्ने थियो ।

उक्त सम्झौता भएको चार महिना पुरा हुँदैछ । जति सक्दो चाँडो नेपाली श्रमिकलाई अवसर दिने भन्ने थियो । अहिले कसरी कामदार लैजाने भन्ने विषयमा कार्यविधि बन्दैछ । दुवै देशका अधिकारीहरूबिच उक्त कार्यविधिमा छलफल चलिरहेको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले अहिले जिरो ड्राफ्ट तयार गरेर जर्मनी पठाइएको बताए ।‘हामीले जिरो ड्राफ्ट बनाएर उता पठाएका छौँ । उता हेरेपछि त्यसपछि हामी दुई पक्षबिच थप छलफल गरेर सहमतिमा पुग्छौँ । अझै केही समय लाग्छ,’ उनले भने ।

उक्त ड्राफ्टमा जर्मनीका अधिकारीहरू सहमत भएको खण्डमा त्यसलाई अन्तिम रूप दिइनेछ । दुवै पक्ष भौतिक रूपमा बसेर काम गर्न नपाएकाले कठिनाइ भइरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

‘आमनेसामने बसेर कुरा गर्न पाइएको छैन । यताबाट हामीले लेखेर पठाउने । उता हेरेपछि उताबाट लेखेर यता हामीलाई पठाउनुहुन्छ । जसले गर्दा अलि बढी समय लिइरहेको छ,’ प्रवक्ता पोखरेलले भने ।

यो सबै प्रक्रिया पुरा गर्न अझै तीन महिना लाग्ने उनको भनाइ छ । कार्यविधि बनेर फाइनल भएपछि नेपाली कामदारहरूलाई जर्मनी पठाउने बाटो खुल्नेछ ।

युरोपका विकसित देशहरूमा श्रमिकको अभाव भइरहेको छ । जसले गर्दा नेपाल लगायतका कम विकसित देशहरूबाट श्रमिक लगिरहेका छन् । जर्मनीले समेत नेपाली श्रमिक लैजाने प्रस्ताव यसअघि नै गरेको थियो । सोही आधारमा श्रम मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो ।

जब मार्केटमा पठाउन दक्ष बनाइने   

नेपालबाट प्रशिक्षार्थी कामदार लगेर जर्मनीले एक वर्षसम्म तालिम दिनेछ ।  काममा दक्ष बनाएपछि निश्चित मापदण्ड पुरा गरेकालाई मात्रै ‘जब मार्केट’ मा पठाउनेछ । हाल जर्मनीमा करिब ८ हजारको हाराहारीमा नेपाली छन् । जसमा कोही विद्यार्थीको रूपमा छन् भने कोही व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।

यसका लागि निश्चित शैक्षिक योग्यता पुरा गरेको, जर्मनी भाषा जानेको लगायतका मापदण्ड हुनेछन् । ट्रेनीका रूपमा जाँदा खान, बस्न लगायतका सबै सुविधा हुनेछ । त्यसका साथै मासिक २ हजार युरो (दुई लाख ८२ हजारभन्दा बढी) तलब पनि हुनेगरी कार्यविधि बन्दैछ । यसका लागि जर्मनी जाने नेपाली श्रमिकहरूले जर्मनीका नागरिकसरह अन्य सेवा सुविधासमेत पाउनेछन् । त्यसमा सामाजिक सुरक्षा, बीमा लगायतका सुविधा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप