शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरक्रिया

नेपाल–चीन सम्बन्ध :  आर्थिक विकासमा जोड, कसले के भने ?

आइतबार, १४ माघ २०८०, १३ : २५
आइतबार, १४ माघ २०८०

काठामाडौँ । नेपाल र चीनका राजनीतिक दलका नेताहरूले राजनीतिकसँगै आर्थिक सम्बन्धलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आज दुई देशबिचको राजनीतिक दलको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले आर्थिक सम्बन्धमा जोड दिनुपर्ने बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश उपमन्त्रीको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा नेपालका राजनीतिक दलका नेताहरूले आर्थिक सम्बन्ध विस्तारमा जोड दिएका हुन् ।

अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उप–विदेशमन्त्री सुन हेयानले चीन नेपालबिचको सहकार्य नयाँ उचाइमा पुगेको बताइन् । दुई देशबिच सम्पन्न पछिल्ला सम्झौताले नेपाल र चीनबिचको राजनीतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताएकी हुन् ।

उनले नेपालको आर्थिक स्थितिलाई सुधार गर्नका लागि चीनले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने समेत बताइन् । उनले भनिन्, ‘नेपालको आर्थिक क्षेत्र मजबुत बनाउनका लागि पर्यटन क्षेत्रको सहायता लिन सकिन्छ । चीनले यसमा सहयोग गर्छ ।’ तर, पर्यटन क्षेत्रको विकासका लागि नेपालले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

‘पर्यटनसँगै सबै क्षेत्रको पूर्वाधार निर्माणमा नेपालले जोड दिनुपर्छ,’ अन्तरक्रियामा उनले थपिन्, ‘नेपाल आउनुअघि चिनियाँ व्यवसायीसँग नेपालमा लगानीका लागि समेत छलफल गरेको थिएँ ।’ त्यस क्रममा चिनियाँ व्यवसायीले नेपालको नीतिगत अस्थिरताको बारेमा जानकारी दिएकाले यो अस्थिरतामा नेपालका नेताहरूले सुधार गर्नुपर्ने उनको तर्क थियो ।

यसबाहेक, चीनले नेपालको विकासका लागि अधिकांश परियोजना अघि बढाइरहेको उनले बताइन् । तर, यी परियोजना तीव्र गतिमा अघि नबढ्दा सर्वसाधारणले लाभ लिन नपाएकाले यसलाई समेत सुधार गर्नुपर्ने हेयानले बताइन् ।

नेपालका लागि चिनियाँ राजदूत चेन सँगले नेपाल र चीनबिचको सम्बन्ध पछिल्लो समय नयाँ उचाइमा पुगिरहेकोबारे आफू जानकार रहेको बताए । उनले चीनबाट नेपालमा घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दो अवस्थामा रहेको बताउँदै यसबाट नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने सुझाए । कोभिड महामारीको समयमा चिनियाँ पर्यटक नआउँदा नेपालीले आफूसँग चिनियाँ खोइ भनेर प्रश्न गरेको समेत उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल चीनसँग सिमाना जोडिएका १४ वटा मुलुकमध्ये एक देश भएको बताए । यसबाट नेपालले प्रत्यक्ष आर्थिक फाइदा लिन सक्ने र त्यसका लागि चीनले सहयोग जारी राख्नुपर्ने कोइरालाको भनाइ छ । ‘चीन र भारतमा विश्वको ४० प्रतिशत जनसङ्ख्या छ,’ कोइरालाले भने, ‘यी देशको ठुलो बजारबाट नेपालले लाभ लिन चीनको सहयोग चाहिन्छ ।’

यस्तै, नेपालले चीनको बीआरआई परियोजनाबाट समेत लाभ लिन सक्नुपर्ने बताउँदै कोइरालाले भने, ‘चीनले नेपालको विकास क्षेत्रमा सहयोग गर्नुपर्छ । नेपाल चीनको एक देश नीतिमा अडिग रहन्छ ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीनको आर्थिक विकासबाट नेपालले लाभ लिन नसकेको बताए । उनले गोरखाली रबर उद्योग, भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता उद्योग चीनको सहयोगमा स्थापना भएकोमा ती उद्योग सञ्चालनलाई निरन्तरता दिन नसक्दा प्रत्यक्ष आर्थिक लाभ लिनबाट चुकेको बताए । तर, भावी दिनमा ती उद्योग सञ्चालनका लागि निरन्तर पहल गरिराख्ने उनको भनाइ छ ।

‘चीनको एक देश नीतिमा नेपाल अडिग छ । हङकङ, मकाउ र ताइवान चीनको अभिन्न अंग हुन भन्नेबारे हामी प्रस्ट छौँ,’ महासचिव पोखरेलले भने, ‘नेपाल ताइवानको स्वतन्त्रताको विपक्षमा छ ।’ तर, यसको बदलामा चीनले समेत नेपालको सार्वभौमसत्तालाई मान्नुपर्नेमा महासचिव पोखरेलको जोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्धी विभाग प्रमुख शिशिर खनालले नेपाल र चीनबिचको सम्बन्ध परापूर्व कालदेखि नै कायम रहेको बताए । उनले अरनिको पालादेखि नै नेपाल र चीनबिच आर्थिक र सामाजिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै भावी दिनमा चीनले नेपालको आर्थिक क्षेत्रको विकासमा भूमिका खेल्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप