सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हुण्डीको कारोबार प्रकरण

अवैध क्रिप्टो र हुण्डीमा सेयर ब्रोकरको संलग्नता !

ब्रोकर नम्बर २० का सञ्चालकका छोरामाथि झण्डै १ खर्बको बिगो मागदावी
आइतबार, १४ माघ २०८०, १८ : ०३
आइतबार, १४ माघ २०८०

काठमाडौँ । करिब १ खर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टो करेन्सी र हुण्डीमा सेयर ब्रोकर कार्यालयका सञ्चालककै संलग्नता देखिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सेयर ब्रोकरहरुमाथि निगरानी राख्न थालेको छ ।

ठूलो रकमको कारोबार हुने सेयर ब्रोकरहरुलाई एक दुई दिन सेयर खरिद बिक्री गर्नेहरुको रकम चलाउन समस्या नहुने भएकाले यही पैसा प्रयोग गरेर अवैध कारोबारमा संलग्न रहेको आशंकामा ब्यूरोले उनीहरुमाथि आँखा लगाउन थालेको हो ।

शेयर ब्रोकर आशिष अग्रवालअवैध क्रिप्टो करेन्सी र हुण्डीमा संलग्न रहेको अभियोगमा पक्राउलगत्तै आँखा अन्य सेयर ब्रोकरमाथि परेको सिआइबी श्रोतले जनाएको छ ।

सिआइबीका प्रमुख एआइजी किरण बज्रचार्यले सेयर ब्रोकहरुमाथि अनुसन्धानको अवस्था आएको बताइन् । ‘एक व्यक्तिका कारण सबै लागे भनिहाल्न मिल्दैन । यद्यपि ठूलो कारोबार हुने भएकाले उनीहरुमाथि पनि अनुसन्धान भने गर्नुपर्ने अवस्था आइपरेको छ’ उनले भनिन् ।

यसरी खुल्यो पोल

सिआईबिले अवैध क्रिप्टो करेन्सी र हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा गत मंसिर ६ गते बागबजारबाट रुपेश श्रेष्ठलाई नियन्त्रणमा लियो । उनको घरबाट हिसाबकिताबको खाता, डेस्कटप कम्प्युटर, ल्यापटप, मोबाइलहरू, पैसा गन्ने मेसिन, ८९ लाख नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलरसमेत बरामद गर्यो ।

अनुसन्धान गर्दै जाँदा रुपेश क्रिप्टो करेन्सी, हुण्डी र अनलाइन बेटिङमा संलग्न रहेको पत्ता लाग्यो । अनुसन्धानकै क्रममा यो अवैध कारोबारमा आशिष अग्रवालको नाम जोडिन आयो ।

३५ वर्षीय अग्रवालसँग रुपेशको कारोबारको लामो फेहरिस्त भेट्यो सिआईबीले । अनि उनी पक्राउ परे । प्रहरीको बयानका क्रममा सुरुमा उनले क्रिप्टो करेन्सीमा आफ्नो संलग्नता नरहेको जिकिर गरे । तर मोबाइलको प्राविधिक परीक्षण गर्दा आशिषले ठूलो रकम बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको पत्ता लगायो, प्रहरीले ।

आशिषले प्रहरीसँगको प्रारम्भिक बयानमा आफू धितोपत्र सञ्चालक रहेको बताए। ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिजको सञ्चालकमध्येको एक भएको बयान दिए । ज्ञानेश्वरमा रहेको सेक्युरिटिजकै कार्यालयबाट क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गरेको बयान आशिषले दिएको प्रहरी स्रोत बताउँछ ।

यही आधारमा सिआइबीको टोलीलेसो सेक्युरिटिजको कार्यालयमा छापा मार्यो । सो सेक्युरिटिजको कार्यालयमा रहेको आशिष अग्रवालको कोठाको दराज नै फोरेर  कागजात र प्रमाण नष्ट गरिएको आशंका प्रहरी टोलीले गर्यो । 

तर, आशिषको मोबाइलको प्राविधिक परीक्षणको क्रममा अरबौं रकमको कारोबार गरेको प्रमाण सिआइबीले पायो । विभिन्न १२ वटा वालेट एड्रेसमार्फत् ४८ अर्ब ३० करोड १ लाख ५६ हजार ३४२ नेपाली रुपैयाँ बराबरको युएसडीटी अर्थात् क्रिप्टोकरेन्सी खातामा आएको र ४७ अर्ब ७० करोड २० लाख ३९ हजार ५२३ रुपैयाँको क्रिप्टोकरेन्सी अर्थात् युएसडीटी आउट भएको पाइएको प्रहरी स्रोतले बतायो । क्रिप्टोकरेन्सी अर्थात् युएसडीटीको इन र आउट हेर्दा आशिष अग्रवालको वालेट एड्रेसबाट कुल ९६ अर्ब २१ लाख ९५ हजार ८६५ रुपैयाँको कारोबार भएको पाइएको छ । मोबाइलमा म्यासेजमा आशिषले १ अर्ब २२ करोड ८८ लाख २३ हजार २४६ रुपैयाँ बराबर क्यास एपमार्फत् कारोबार गरेको पाइएको छ । 

यसरी आशिषले कुल ९७ अर्ब २३ करोडको अवैध क्रिप्टोकरेन्सी र हुण्डीको कारोबार गरेको भन्दै सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका व्यक्तिहरुविरुद्ध कुल २ खर्ब ८६ अर्ब रुपैयाँको बिगो कायम गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

ब्रोकर कम्पनीमा आशिषको संलग्नता

ब्रोकर नम्बर २० अर्थात् सिप्ला सेक्युरिटिजका लगानीकर्ता पवन अग्रगाल निर्देशक हुन् । आशिष पवनका छोरा हुन् ।

सेक्युरिटिजको वेभसाइटमा नाम र पद उल्लेख नगरी पवनका साथै आशिषको समेत फोटो देखिन्छ । आशिषले बयानका क्रममा सेक्युरिटिजमै आफ्नो कार्यालय रहेको खुलाई सकेका थिए । 

आशिष कुन पदमा कार्यरत छन् भनी रातोपाटीले सेक्युरिटिजकै फोन नम्बर ०१४५४३१८२ मा पाँच पटक सम्पर्क गर्दा फोन उठाएर होल्ड गरियो, कुनै जवाफ पाउन सकिएन । अन्तिममा सेक्युरिटिजको सिइओ बताउने राहुल अग्रवालले आशिषआशिषको यो कम्पनीसँग कुनै सम्बन्ध नरहेको बताए । सिप्लाका निर्देशक पवनका छोरा भएकाले वेभसाइटमा आशिषको फोटो राखिएको उनले बताए ।

cipla-securities_pJgLPvGFTL

आशिषले बयानमा भने, ‘रुपेशसँग मिलेर क्रिप्टोको काम गरेको हुँ’

९७ अर्ब रुपैयाँको बिगो कायम गर्दै सरकारी वकिल कार्यालयले आशिषविरुद्ध मुद्दा दायर गरेको छ । उक्त मुद्दामा अनुसनधान अधिकारीसमक्ष बयान गर्दै आशिषले रुपेश श्रेष्ठसँग मिलेर आफूले क्रिप्टोकरेन्सीको कारोबार गरेको स्वीकारेका छन् । 

यस्तो छ आशिषको बयानको केही अंश:

–प्रतिवादी रुपेश श्रेष्ठसँग विगत ६ महिना अगाडी साथीहरु मार्फत चिनजान भएको हो । निजसँग कुराकानी गर्दै जाँदा निजले मलाई क्रिप्टो करेन्सीको काम, कारोबार गर्नु हुन्छ, हुँदैन भनी सोधेको थियो । मलाई सो सम्बन्धमा केही थाहा नभएको तर सो सम्बन्धमा जान्न चाहेकोमा निजले मलाई क्रिप्टो करेन्सी सम्बन्धमा के–कति रेटमा काम, कारोबार हुन्छ, प्राय अमेरिकामा बस्ने र नेपालमा आफन्त भएका व्यक्तिहरुले क्रिप्टो खोजिरहेका हुन्छन् भनी के–कसरी कारोबार गर्ने प्रक्रिया समेत सिकाएका थिए । निजले मलाई क्रिप्टो करेन्सीको वालेट बनाइदिन्छु भनेको थियो तर मैले मेरो व्यक्तिगत वालेट नबनाई क्रिप्टो करेन्सीको कारोबार गर्ने मानिसहरु खोजिदिन्छु भनेको थिएँ । निज रुपेश श्रेष्ठले क्रिप्टो करेन्सीको कारोबार गर्ने मानिसहरु खोजी निज मानिसहरुसँग क्रिप्टो करेन्सीको कारोबार गरेबापत जम्मा कारोबारको ०.१ % कमिसन दिने कुरा गरेको थियो । मैले क्रिप्टो करेन्सीको काम, कारोबार गर्ने हाल अमेरिकामा बस्ने विपुल साह, रिसभ दुगडको वालेट एड्रेसहरु निज रुपेश श्रेष्ठलाई पठाई दिएको थिएँ । विपुल साह र रिसभ दुगडलाई के–कति युएसडीटी चाहिएको छ, मलाई भन्थे र मैले सोही अनुसार नै रुपेश श्रेष्ठलाई विपुल साह र रिसभ दुगड वालेट एड्रेस पठाई दिन्थे । सो युएसडीटीको रकम विपुल साह र रिसभ दुगडले रुपेश श्रेष्ठलाई नगदै लिनु भनी नेपालको विभिन्न ठेगाना मलाई भन्थे र सोही अनुसार नै रुपेश श्रेष्ठले उक्त ठेगानाहरुमा गई रकम लिने गरेको थियो । 

–क्रिप्टो करेन्सीको कारोबार गर्ने व्यक्तिको वालेट एड्रेस OX59………70b1 मैले रुपेश श्रेष्ठलाई पठाएको हो उक्त वालेट एड्रेस कसको हो यकिन गर्न सक्दिन । Dt 135.5  मा हुन्छ भन्नुको मतलब एक युएसडीटीको रेट युएसडी १३५.५ मा हुन्छ की हुँदैन भनी मलाई रुपेश श्रेष्ठले सोधेको हो । मेरो मोबाइलमा देखिएको क्यास आउटको स्क्रिनसट निज रुपेश श्रेष्ठले मलाई पठाएको हो । नेपालमा रहेका विभिन्न बैंकहरुको चेकहरु, बैंकमा जम्मा गरेका डिपोजिट स्लिपहरुको फोटो तथा स्क्रिनसट मेरो आफ्नो कामको हुन सक्छ । नेपाली र विदेशी मुद्राहरुको नम्बर भएको अर्ध नोटहरुको फोटोको सम्बन्धमा निज रुपेश श्रेष्ठले उक्त नम्बरहरु वालेट एड्रेसमा युएसडीटी ट्रान्सफर गरिदिए बापतको रकम लिने बेलामा कोडको रुपमा प्रयोग गर्ने गरिएको थियो । म भारतीय नागरिक होईन निजसँग भारतमा नभई साथीहरु मार्फत नेपालमै चिनजान भएको हो ।

–रिसभ दुगड मार्फत आशिष दुबाई (+९७१५५७७६०८५५) ले ह्वाट्सएप च्याट मार्फत मलाई वालेट एड्रेस TRXM........... Zw  पठाएपछि मैले प्रतिवादी रुपेश श्रेष्ठलाई सोही वालेट एड्रेस फरवार्ड गरी दिएपश्चात निज रुपेश श्रेष्ठले उक्त वालेटमा सम्झौता बमोजिमको युएसडीटी ट्रान्सफर गरेपश्चात ट्रान्सफर कम्प्लिट वालेटको फोटो स्क्रिनसट गरी निज रुपेश श्रेष्ठले मलाई पठाएपछि मैले सोही फोटो आशिष दुबाई (+९७१५५७७६०xxx) लाई पठाई दिने गरेको थिए । प्रतिवादी रुपेश श्रेष्ठमार्फत सामाजिक सञ्जालबाट चिनेका करन भगत(+९१८९०५२३३xxx) क्रिप्टो कारोबारको वालेट एड्रेस मलाई पठाएपछि रुपेश श्रेष्ठले भनेबमोजिम सोही वालेट एड्रेस निज रुपेश श्रेष्ठलाई फरवार्ड गर्दथे । निज रुपेश श्रेष्ठले उक्त वालेट मा युएसडीटी ट्रान्सफर गरी ट्रान्सफर कम्प्लिट वालेट को फोटो स्क्रिनसट गरी निज रुपेश श्रेष्ठले मलाई पठाएपछि मैले सोही फोटो करन भगत(+९१८९०५२३३xxx) लाई फरवार्ड गरी पठाई दिने गरेको थिएँ। 

–प्रतिवादी रुपेश श्रेष्ठ मार्फत सामाजिक सञ्जालबाट चिनेका रामरतन (+९१७०६५२३८२१६) ले क्रिप्टो कारोवारको वालेट एड्रेस मलाई पठाएपछि रुपेश श्रेष्ठले भनेबमोजिम सोही वालेट एड्रेस निज रुपेश श्रेष्ठलाई फरवार्ड गर्दथे । निज रुपेश श्रेष्ठले उक्त वालेटमा युएसडीटी ट्रान्सफर गरी ट्रान्सफर कम्प्लिट वालेट को फोटो स्क्रिनसट गरी निज रुपेश श्रेष्ठले मलाई पठाएपछि मैले सोही फोटो रामरतन (+९१७०६५२३८२१६) लाई म्यासेज फरवार्ड गरी पठाई दिने गरेको थिए । 

–एसिएच (+९१६३५३०२२०८९) ले ह्वाट्सएप च्याट मा मलाई वालेट एड्रेस TRXM ....34 सेयर गरी मैले उक्त वालेट एड्रेस निज रुपेश श्रेष्ठको ह्वाट्सएप च्याट फरवार्ड गरी दिएको र उक्त वालेट निज रुपेश श्रेष्ठले उल्लेखित युएसडीटी ट्रान्सफर गरेपश्चात् स्क्रिनसट गरी फोटो पठाएपछि मैले उक्त फोटो निज एसिएच (+९१६३५३०२२०८९) लाई ह्वाट्सएप गरी पठाई दिएको हुँ । आशिष दुबाईले (+९७१५५७७६०८५५) ले ह्वाट्सएप च्याट मार्फत मलाई वालेट एड्रेस TRX......7dm पठाएपछि मैले प्रतिवादी रुपेश श्रेष्ठलाई सोही वालेट एड्रेस फरवार्ड गरी दिएपश्चात् निज रुपेश श्रेष्ठले उक्त वालेटमा १४,००० युएसडीटी ट्रान्सफर गरेपश्चात ट्रान्सफर कम्प्लिट वालेटको फोटो स्क्रिनसट गरी निज रुपेश श्रेष्ठले मलाई पठाएपछि मैले सोही फोटो आशिष दुवाई (+९७१५५७७६०८५५) लाई पठाई दिएको हुँ । 

–मैले विदेशी मुद्राहरु विनिमय सम्बन्धी कारोबार गर्न नेपाल सरकारको कुनै निकायबाट अनुमति लिएको छैन । रुपेश श्रेष्ठले क्रिप्टो करेन्सीको कारोबार गर्ने भएकोले निज जस्तै क्रिप्टो करेन्सीको कारोबार गर्ने अमेरिकामा बस्ने मेरो साथीहरु विपुल साह र रिसभ दुगडसँग रुपेश श्रेष्ठबिच युएसडीटी कारोबार गर्न मैले माध्यमको रुपमा काम गरेको हुँ । मैले विदेशी मुद्राको (हुण्डी) को कारोबार गरेको छैन । मेरो मोबाइलमा देखिएको स्क्रिनसट समेतको कारोबार सम्बन्धमा रुपेश श्रेष्ठले क्रिप्टो करेन्सीको कारोबार गर्ने भएकोले निजले मलाई क्रिप्टो करेन्सीको कारोबार गर्ने अन्य मानिसहरु खोज्नु भनेकोमा मेरो साथीहरु विपुल साह र रिसभ दुगडको वालेट एड्रेस रुपेश श्रेष्ठलाई पठाई दिने र रुपेश श्रेष्ठले विपुल साह र रिसभ दुगडको वालेट एड्रेसमा युएसडीटी ट्रान्सफर गरिदिए बापत रुपेश श्रेष्ठले पाउनु पर्ने रकम विपुल साह र रिसभ दुगडले मलाई भनेको नेपालको विभिन्न ठेगानामा निज रुपेश श्रेष्ठ नै गई लिने गरेको थियो ।

–उल्लेखित कार्य कानुन विपरीतको कार्य हो भनी जानकारी हुँदा हुँदै पनि आर्थिक प्रलोभनमा परि रुपेश श्रेष्ठले लाए अह्राए बमोजिम गरेको हुँ । उक्त क्रिप्टो करेन्सीको कारोबार गरेबापत निज रुपेश श्रेष्ठले मलाई निजहरु बिच भएको जम्मा कारोबारको ०.१% कमिशन दिने भनेको थियो । सोही अनुसार हालसम्म मैले जम्मा रु. २०–३० हजार कमिसन लिएको छु ।

–मैले रिसभ दुगड र विपुल साह मार्फत अन्दाजी १२ हजार डलर बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको छु, सो बाहेक माथि उल्लेखित क्रिप्टो कारोवार भएको वालेट एड्रेसहरु मेरो मोबाईलमा प्राप्त भएको वालेट एड्रेस हुन् । उक्त एड्रेसहरुमा क्यास इन र क्यास आउट को–कसले गरेको हो सम्बन्धित व्यक्तिलाई नै थाहा हुन्छ । मलाई थाहा हुदैन । 

आशिषले हालसम्म करिब २०–३० हजार रुपैयाँ कमिसन पाएको दाबी गरेपनि उनकै बयानमा उल्लेख भएको शूल्य दशमलव ०१ प्रतिशतको दरले कमिसन पाउँदा पनि ९७ अर्बको कारोबार हुँदा ९७ लाख रुपैयाँ कमिसन वापत प्राप्त हुन्छ । 

आशिषले अदालतमा पुगेर बयान गर्ने क्रममा भने आफूले क्रिप्टो करेन्सी र हुण्डीको कारोबार नगरेको, रुपेश श्रेष्ठले पठाएको म्यासेजहरु अरुलाई पठाइदिएको मात्रै हो भनी बयान दिएका छन् । 

यस्तो छ, रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका मानिसहरु जोडिएको अवैध क्रिप्टोकरेन्सी, हुण्डी र अनलाइन बेटिङको लिंक चार्ट:

दिपेशश्रेष्ठ (अमेरिका): 

अमेरिकामा ५०० भन्दा बढी ग्यास स्टेशन, ५० भन्दा बढी ब्राञ्च भएको बैंक, पाँचतारे होटल र कैयन् डिपाटैमेण्टल स्टोर सञ्चालक । 

अंशुल श्रेष्ठ र आयुष श्रेष्ठ (भान्जाहरू) : मामा दिपेश श्रेष्ठलाई अमेरिकामा सहयोग गर्ने, अवैध क्रिप्टोकरेन्सी, हुन्डी लगायतका काममा अमेरिका र नेपालमा मामा रुपेश श्रेष्ठमार्फत् काम गर्ने तथा गराउने ।

रुपेश श्रेष्ठ : नेपालबाट दिपेश श्रेष्ठलाई सघाउने, क्रिप्टो करेन्सी, हुण्डी आदिको कारोबार गर्ने ।

शरद भट्टराई, विरेन्द्र मगर र झनिन्द्र प्रसाद खतिवडा : रुपेश श्रेष्ठको हिसाबकिताब हेर्ने र कारोबारमा सहयोग गर्ने तलबी कर्मचारीहरु ।

रचना शर्मा : रुपेशश्रेष्ठकी श्रीमती । रुपेशले नै रचनाको बैंक खाताहरु सञ्चालन गर्ने र रचनाको नाममा रहेको मोबाइल तथा सिम कार्ड प्रयोग गरी कारोबार गर्ने गरेको । 

आशिष अग्रवाल, मीन बहादुर जिसी, भारतीय नागरिक विमल पोद्धार, बिगल सिंह शर्मा, ओम कुमार श्रेष्ठ, दीपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्द प्रसाद श्रेष्ठ, रुदे तामाङ रुपेशसँग मिलेर अवैध हुन्डी, क्रिप्टोकरेन्सी तथा अनलाइन बेटिङमा संलग्न व्यक्ति र कारोबारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप