मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वाधार

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन : तोकिएकै समयमा पाइपलाइनबाट पेट्रोल आउनेमा आशङ्का

दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने परियोजनाको ५५ प्रतिशत मात्रै पूर्वाधार निर्माणको काम सम्पन्न
सोमबार, १५ माघ २०८०, ११ : १९
सोमबार, १५ माघ २०८०

बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ । अगामी २ महिनाभित्र (मार्च अन्तिमसम्म) सम्पन्न गर्नुपर्ने परियोजनाको जनवरी अन्तिम सातासम्म ५० देखि ५५ प्रतिशत मात्रै काम भएपछि पाइपलाइनबाट समयमै पेट्रोल आयात हुनेमा आशङ्का उब्जिएको हो । 

यसअघि डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म थपिएको थियो । तर, ठेकेदार कम्पनीको चरम लापरबाहीको कारण सन् २०२४ को मार्च अन्तिमसम्म पूर्वाधार निर्माणको काम सम्पन्न नहुने देखिएको हो । भारतीय आयल निगमसँगको सम्झौता अनुसार पाइपलाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । 

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम तोकिएको समयमै सम्पन्न गर्ने सम्भावना कम भएको स्वीकार गरे । उपाध्यायका अनुसार निगमले २ महिनाअघि नै ठेकेदार कम्पनीलाई पत्राचार गरेर ‘अहिलेसम्मको कामको प्रगति हेर्दा तिमीले तोकिएको समयमा काम सम्पन्न गर्न सक्छौँ ?’ भन्दै पत्र पठाएको सोधेको थियो । तर ठेकेदार कम्पनी लिखिता इन्फ्रास्ट्रक्चरले निगमको पत्रको आधिकारिक रूपमा कुनै जवाफ भने पठाएको छैन । 

amlekhgunj petroleum pipeline (1)

डिपो प्रमुख उपाध्यायले भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा भए पनि मार्च अन्तिमसम्म काम सम्पन्न हुन गाह्रो हुने बताए । ‘डिजल, पेट्रोल र पानीको ट्यांकी निर्माणको काम धमाधम भइरहेको छ । पाइपहरू बिछ्याउने र ट्याङ्की लोड/अनलोड गर्ने स्थलको पनि निर्माण काम धमाधम भइरहेको छ,’ उपाध्यायले भने, ‘उहाँहरूलाई दिएको अवधि भनेको मार्च अन्तिमसम्म हो । तर अहिलेसम्म ५० देखि ५५ प्रतिशत मात्रै काम सम्पन्न भएकोले बाँकी २ महिनाभित्र परियोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुहुन्छ भन्नेमा हामीलाई पनि आशङ्का छ ।’

amlekhgunj petroleum pipeline (2)

निगमको अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की र २ वटा फायर वाटर ट्यांकी निर्माणको काम भइरहेको छ । पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये  ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ । 

amlekhgunj petroleum pipeline (6)

पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल  ट्याङ्की निर्माण भइहरेको छ जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो ।

amlekhgunj petroleum pipeline (7)

आयल निगम अम्लेखगञ्ज डिपोका इन्जिनियर प्रशान्त भट्टराईले आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गर्दैछ जसमा एउटा पेट्रोल र अर्कोमा डिजेल भण्डारण गरिनेछ । 

amlekhgunj petroleum pipeline (8)

साना २ वटा २५० लाख किलोटिरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पेट्रोलियम पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पीएमसिसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक ८ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न ‘बे हाउस’ निर्माणको काम भइरहेको इन्जिनियर भट्टराईले जनाएका छन् ।

amlekhgunj petroleum pipeline (9)

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ ।  दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । 

amlekhgunj petroleum pipeline (11)

निगमले दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको इन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड वार्षिक १ अर्ब ८० करोड बचत हुने गरेको छ । 

amlekhgunj petroleum pipeline (14)

भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ ।

amlekhgunj petroleum pipeline (18)

अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा रहेको भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको छ  । साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्ने, अनेकन् शुल्क, सवारी चालक र सहयोगीको खाने बस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमको भनाई छ । 

amlekhgunj petroleum pipeline (19)

तेलको अवैध चोरी, तेल उडेर जानेलगायतका समस्या समाधानका लागि पनि पाइपलाइनबाट तेल ल्याउन सके खर्च धेरै कम हुने प्रमुख उपाध्यायको भनाई  छ ।  हाल बारा र आसपासको क्षेत्रको लागि मात्रै दैनिक बरौनीबाट १५ वटा पेट्रोल ट्याङ्कर आउँछन् ।  

amlekhgunj petroleum pipeline (20)

तर, देशभरका अधिकाशं ठुला सहरहरुमा डिजल भने अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले पाइपलाइनबाट पेट्रोल ल्याउन सुरु भएपछि देशभरका लागि दैनिक २ सय ट्याङ्कर पेट्रोल  अम्लेखगञ्जबाट  लोड भएर जाने बताएका छन् । 

amlekhgunj petroleum pipeline (21)amlekhgunj petroleum pipeline (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप