मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट नहुँदा झोलुङ्गे पुल अलपत्र

बुधबार, १७ माघ २०८०, १९ : ४१
बुधबार, १७ माघ २०८०

झापा । बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयले पुलको निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन् । 

मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो । क्रमागत रुपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । 

सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५० मिटरको हुने र त्यसको कूल लागत रु. चार करोड ३८ लाख रहेको इन्जिनियर भट्टराईले बताए ।

सिभिल कन्स्ट्रक्सनको कार्य पूरा भएर लागतको ३० प्रतिशत बिल भुक्तानीका लागि निर्माण व्यवसायी पक्षले पेस गरेको जानकारी दिदै इन्जिनियर भट्टराईले भुक्तानी दिन नसकिएको स्वीकार गरे । 

“बदनियत राखेर ठेकेदार पक्षले काम रोकेको होइन,” उनले भने,“क्रमागत रुपमा बजेट आइरहेकै छ  तर तोकिए जति आएको छैन । अर्थमन्त्रालयले बजेट दिन सकेन भन्ने विषयमा हामी केही भन्न सक्दैनौं ।”

स्थानीयबासीले ठेकेदार पक्षले पुलको निर्माण अलपत्र पारेर हिँडेको आरोप लगाएका छन् । मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहालले सङ्घीय सांसद् विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल अलपत्र हुँदा बेवास्ता गरेको गुनासो गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप