आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

६ सय जनाबाट ६९ करोड ठग्ने ‘नटवरलाल’, ठग्नकै लागि कन्सल्टेन्सी दर्ता

शुक्रबार, १९ माघ २०८०, १६ : ४५
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ घर भएका सुजन तामाङ अहिले वैदेशिक रोजगार विभागको थुनामा छन् । ३२ वर्षका सुजन १७ माघमा पुल्चोकबाट पक्राउ परेका हुन् । आफूलाई विकास वाइबा भनेर चिनाउने सुजनले दुई वटा नाममा ६९ करोड रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आरोपीविरुद्ध ताहाचल स्थित वैदेशिक रोजगार विभागमा ६ सय २ जना पीडितले उजुरी दिएका छन् । बालाजुमा ‘युरो विङ्स’ नामको कन्सल्टेन्सीको आवरणमा सुजनले ठगी धन्दा चलाएका हुन् । कन्सल्टेन्सी मार्फत युरोपियन मुलुकमा पठाउने सपना देखाएर उनले ठगी धन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

नक्साल बस्ने सुस्मिता क्षेत्रीले फेसबुकमा क्रोएसियामा जाने पाउने विज्ञापन देखिन् । विज्ञापन ‘युरो विङ्स’को फेसबुक पेजमा थियो । सामाजिक सञ्जालको विज्ञापन हेरेर उनी बालाजुस्थित सो कन्सल्टेन्सीको अफिसमा पुगिन् ।

त्यहाँ उनले भेटेकी हुन्, विकास वाइबा । तर, उनी विकास वाइबा नभएर सुजन तामाङ भन्ने ‘नटवरलाल’ रहेको प्रहरीले पक्राउ गरेपछि मात्र सुस्मिताले थाहा पाइन् । ‘मलाई सुरुमा पुलिस रिपोर्ट बनाउनुपर्छ भनेर ५० हजार मागेका थिए’ सुस्मिताले रातोपाटीसँग भनिन्, ‘१ महिनामा कन्ट्याक्ट लेटर आउँछ त्यसपछि बायोमेट्रिक गर्न २ लाख ५० हजार चाहिन्छ भने ।’

क्रोएसियामा गएर ‘प्याकेजिङ’को काम गर्न पाइने आशामा सुस्मिता र उनका साथीले सुजनलाई ४ लाख तिरेका हुन् । तर, अहिले उनीहरू सो पैसा फिर्ता हुने आशामा प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागमा धाइरहेका छन् ।

सुजनले सञ्चालन गरेको कार्यालयमा काम गर्ने ‘मिका’ नाम गरेकी कर्मचारीले पीडितको विवरण अनलाइनमा देखाउने गर्थिन । सो सफ्टवेयर उनीहरूले नक्कली बनाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुस्मिता भन्छिन्, ‘दसैँ अगाडि बायोमेट्रिक लिनुपर्छ भनेका थिए तर, चार लाख लिएपछि कन्सल्टेन्सी संचालक सम्पर्कविहीन भए ।’

सुजन तामाङले क्रोएसिया, पोल्याण्ड, माल्टा, लक्जम्बर्ग र क्यानडा पठाउँछु भनेर रकम लिएपछि सम्पर्क विहीन भएको पीडितहरू बताउँछन् । विकास वाइबाको नामबाट उनले ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

ललितपुरका बद्री घिमिरेले पनि सुजनलाई बालाजुमा भेटेका हुन् । क्रोएसिया पठाउने मान्छे भेट्न जाँदा बालाजुमा सुजन तामाङसँग भेट भएको बद्री घिमिरेले बताए । उनी भन्छन्–‘सुरुमा मलाई मेडिकल गर्न १ लाख लाग्छ भने, मेरो परिवारका ४ जनाले ५ लाख ९० हजार बुझायौँ ।’

युरो विङ्स कन्सल्टेन्सीका कर्मचारीले २०८० असोजतिर अनलाइनमा आफ्नो भिसा देखाएपछि विश्वास लागेको घिमिरेले बताए । उनी भन्छन्, ‘पैसा बुझाएपछि मात्र ठगिएको थाहा पायौँ ।’

Sujan Pidit 10.19 (2080)

सुजनबाट पीडित भएकाहरु उपत्यका अपराध अनुसन्धान कार्यालय  परिसरमा

गोरखाका ठाकुर बरामले पनि  युरोपियन मुलुक उड्न पाउने आशामा सुजनलाई रकम बुझाए । सुरुमा ५० हजार र त्यसपछि पटक पटक गरेर ४ जनाले ५ लाख ५० हजार बुझाएको बरामले रातोपाटीसँग बताए । ठाकुर बराम जस्तै ६ सय जनालाई आरोपीले ठगेको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी भन्छन्, ‘पीडितको सङ्ख्या अझै बढ्न सक्छ ।’

सुजनसँगै हिँड्ने र ठगीमा संलग्न उनका सहयोगी अर्जुन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्जुन नुवाकोटका स्थानीय हुन् ।

ठगेको रकम लगानी

सुजनले पीडितहरूबाट लिएको मध्ये ५० लाख रुपैयाँ बसुन्धाराको राप्ती म्यानपावरमा लगानी गरेको भेटिएको छ । म्यानपावरमा उनले ५० लाख लगानी गरेको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए ।

४ करोड रुपैयाँ उनले व्यक्तिगत ऋण तिरेका छन् । ३५ लाख रुपैयाँमा हुण्डाइको क्रेटा गाडी खरिद गरेको सुजनले प्रहरीलाई बताएका छन् । 

भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार डिपोजिट गरिदिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनी ५ लाखको सुनका ब्रासलेट लगाएर हिँड्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप