बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
किसान

हण्डर खाएका नवराजलाई फूलले जगाएको आशा

शनिबार, २० माघ २०८०, ११ : ५२
शनिबार, २० माघ २०८०

धनगढी । डोटीको शिखर नगरपालिका–४, मुडभाराका ४२ वर्षीय नवराज जोशीले आफ्नो ऊर्जावान् समय भारतमै गुजारे । जीविकोपार्जनका लागि साथीभाइसँगै ज्याला मजदुरी गरे ।

घरको गुजारा जसोतसो चलाउँथे । कति दिन अर्काको देश बस्नु भन्दै उनी घर फर्किए । सुरुमा डोटीमै उनले शृङ्गार पसल थापे । पसल खासै फापेन ।

२०७२ मा लमौट कृषि तथा पशुपंक्षी विकास फर्म स्थापना गरी उनले पोल्ट्रीको काम थाले । तर उनलाई पोल्ट्रीमा पहिलो गाँसमै ढुङ्गा लागेजस्तै भयो ।

जोशी भन्छन्, ‘२०७३ को कुरा हो, पहिलो लट तयार हुँदै थियो । बाढीसँगै आएको पहिरोले फर्म नै बगायो । केही रहेन । त्यसमा ६ लाख जति घाटा खाएँ ।’

दोस्रो र तेस्रो लटमा केही हुन्छ कि भनेर काम गरेको तर कुखुरामा अज्ञात रोग देखा परेर सबै कुखुरा मरेको उनले सुनाए । कुखुरा पालनमा उनलाई २०/२२ लाख घाटा भयो ।’

भएको जाँगर, पैसा सकिपछि उनी जीवनदेखि निराश भए । निकैपछि एक जना आफन्तको सहयोगमा उनी कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको सम्पर्कमा आए ।

व्यवसायमा पाएको हण्डरपछि अब के गर्न सकिन्छ भनेर जोशीले निर्देशक जोशीसँग सुझाव मागे । निर्देशक जोशीले सोहीबेलै सुदूरपश्चिम प्रदेशबाट अन्य प्रदेशमा कृषि अवलोकन भ्रमण गर्न जाने कृषकहरूको समूहमा उनलाई समावेश गराए ।

एक हप्ते अवलोकन भ्रमणपछि उनमा रहेको निराशा आशामा परिणत भयो । फेरि पनि उनमा केही गरौँ भन्ने हुटहुटी जाग्यो ।

  • २ मुठी बिउबाट एक लाख मुनाफा

तर अति नै न्यून लगानीमा पनि केही गर्न सकिन्छ भन्ने उपाय निर्देशक जोशीले सुझाएपछि उनी हौसिए । सुझावसँगै निर्देशक जोशीले उनलाई केवल २ मुठी सयपत्रीको फूलको बिउ अनुदान दिए ।

सोही बिउबाट जोशीले बेर्ना राखे र त्यसलाई ३ रोपनी जग्गामा रोपे । आपेक्षाभन्दा राम्रो मुनाफा आएपछि उनी व्यावसायिक फूल खेतीमा कम्मर कसेर लागेका छन् ।

धनगढीमा नयाँ प्रजातिका फूलका बिउ लिन आएका जोशीले भने, ‘गत वर्षको कमी कमजोरीलाई सुधार्दै फेरि तयारीमा जुटेको छु । थप विस्तार गर्दै राम्रो गर्ने योजनामा छु ।’

गत साउन/भदौदेखि फूल खेती थालेका उनी हालसम्म त्यही फूल विक्री गर्दै आएका छन् । २ मुठी बिउको बेर्नाबाट सिजनमा मात्रै २ क्विन्टल ३५ किलो फूल उत्पादन गरेको बताउँछन् उनी ।

सुरुमा १५ हजार मात्रै लगानी गरेको बताउने नवराजले उत्पादित फूल शिखर नगरपालिका क्षेत्र, सिलगढी, दिपायल, धनगढीलगायत बजारमा प्रति किलो २ सयदेखि ३ सय रुपैयाँका दरले बिक्री गरे । जसबाट उनले मुनाफा मात्रै १ लाख भएको जानकारी दिए ।

हाल बेलाबखत विभिन्न कार्यक्रमका लागि आइरहने फूलको अर्डरले उनमा काम गर्ने जाँगर बढाएको छ ।

व्यावसायिक फूल खेतीमा एक सिजनको अनुभव लिएका नवराजले पहाडी क्षेत्रमा सिँचाइ र छाडा चौपाया प्रमुख चुनौती रहेको बताउँछन् । सिँचाइ  र घेराबेरामा मात्रै सरकारी निकायले ध्यान दिए पहाडी क्षेत्रको बाँझो जमिनमा धेरै काम गर्न सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप