बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रविमाथि महेशको कटाक्ष : सरकारले हाई प्रोफाइल सहकारी ठगलाई कारबाही गर्नै सकेन

आइतबार, २१ माघ २०८०, १६ : ३२
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरूलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानबिनको दायरामा पनि ल्याउन सकेको छैन ।’

रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ । यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाजीको मुद्दासमेत प्रभावित हुने उनले बताए । ‘म चाहिँ बाठो छु, भएभरका सबै लाटा छन्,’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । 

भिडिओ बनाएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्युको छानबिन कहाँ पुग्यो भन्दै उनले प्रश्न उठाए । पपुलिष्ट शक्तिको आडमा यस्ता प्रकारका अपराधमा सरकारले उन्मुक्ति दिन नहुने उनको भनाई छ । 

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा २०४२ सालदेखि राजाका भाइ धिरेन्द्रसँगको व्यापारिक साझेदारी र विनोद चौधरीसमेतको आडमा अरुण चौधरीले हडपेको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भनिरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफ्नो अविज्ञता प्रकट गरिरहेको दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डले यो विषयमा म बेखबर छु, यो कसरी भयो ? यसले त व्यापारीहरूलाई निरुत्साहित बनाएको छ भन्दै हिँड्नु भएको छ । काम गर्ने प्रहरी प्रशासनको निकाय पनि प्रतिपक्षले परिचालन गरेको जस्तो देखिएको छ,’उनले भने । 

विगतमा भ्रष्टाचार छानबिन गर्छु भनेर सरकारले अनेक हल्लाखल्ला गरे पनि सुन प्रकरणमा आफ्नै मान्छे जोडिएपछि चुपचाप बसेको टिप्पणी गरे । वर्तमान सरकारले निकै शानदार ढङ्गले हल्लाखल्ला गरेर सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान हात्ती आयो, हात्ती आयो फुस्स बनेको उनको टिप्पणी छ । 

उनले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताए । अन्तर्राष्ट्रिय शक्तिको दबाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उनले टिप्पणी गरे । उनले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताए । कांग्रेस जिम्मेवार हुन नसकेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले अहिले पुनरुत्थानवादी शक्तिहरूले टाउको उठाउन खोजेका र बैंकका ठगहरूले ज्ञानेन्द्रलाई उचालिरहेका उनले आरोप लगाए । दरबार हत्याकाण्ड छानबिनको प्रश्न उठिरहेको भन्दै उनले प्रचण्डले छानबिन गर्छन् भन्ने आफूलाई नलागेको बताए ।

वीरेन्द्रको वंशनाश भएपछि राजा बनाइदेऊ भन्दै माधव नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएकाले उनीमाथि नैतिकताको प्रश्न उठेको उनले बताए । राजा ल्याएर देशमा समृद्धि आउँछ भन्नु कोरा सपना मात्रै भएको उनले बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर केवल उन्नत लोकतन्त्र भएको दाबी गरे । उनले ज्ञानेन्द्रलाई राजनीति गर्न मन लागेको भए दल खोलेर प्रतिस्पर्धामा आउनसमेत चुनौती दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप