आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चार अर्बको लगानी विराटनगरमै खुल्यो क्यान्सर अस्पताल

आइतबार, २१ माघ २०८०, १९ : ५८
आइतबार, २१ माघ २०८०

विराटनगर । उद्योगी राजेन्द्र राउतले अडाइ अर्बको विशिष्टीकृत हस्पिटल खोल्ने घोषणा गरेको केही महिना पछि मोरङको बुढीगंगामै रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालको चार अर्ब लगानीमा क्यान्सर इन्स्टिच्युटको निर्माण गरेको छ ।

उक्त इन्स्टिच्युटको आइतबार कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरेका हुन् । सो इन्स्टिच्युट भने विगत आठ महिनादेखि सञ्चालनमा रहेको थियो । 

उक्त इन्स्टिच्युटले एक सय शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । जसको लागि चार सय करोड रुपैयाँ लगानी भएको उनको दाबी छ । अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको लेटेष्ट उपकरणमात्रै ल्याएको जनाएको छ ।

रेवन्त रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने उनले बताए । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ डा. कार्कीले भने, ‘अहिले १०० शय्याको रहेको छ । यसलाई अवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउनेछौँ ।’ यसअगाडि कोशी प्रदेशमा रहेका क्यान्सरका बिरामीहरुले कि त चितवनको भरतपुर क्यान्सर अस्पताल, काठमाडौँमा वा भारत जानुपर्ने बाध्यता थियो । 

क्यान्सर इन्स्टिच्युटले कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई सेवा दिने जनाएको छ । ‘क्यान्सरका बिरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीयस्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने । 

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ । यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् । 

अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, क्यान्सर शल्यचिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहेता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष,  अंको रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानुप्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ । 

क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरू समेत छन् । क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सुपरस्पेसियालिटी सेवाहरु मिर्गौला डायलाइसीस, मुटु रोग, मूत्र रोग, न्यूरो सर्जरी, न्युरोलोजी, पल्मोनोलोजी, इन्डोक्राइनोलोजी रहेको छ । अस्पतालमा हालसम्म १५ लाख ४४ हजार ४ सय ७१ जनाले ओपिडी सेवा लिएको छन् भने अन्तरंग भर्ना सेवा (आइपिडी सेवा  २ लाख ७१ हजार ७२३ जनाले लिएको अस्पतालले जनाएको छ । हालसम्म मेडिकल कलेजमा जम्मा १ हजार २४३ जना कर्मचारी रहेका छन् । शिक्षण अस्पतालमा हाल कूल १२ सय बेड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप