शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रोनाल्डोको जन्मदिन र उनको नामसँग जोडिएका पाँच प्रमुख कीर्तिमान

सोमबार, २२ माघ २०८०, १४ : ३३
सोमबार, २२ माघ २०८०

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले सोमबार ३९औँ जन्मदिन मनाउँदै छन् । प्रभावशाली पोर्चुगिज स्ट्राइकर रोनाल्डोको जन्म सन् १९८५ को फेब्रुअरी ५ तारिखमा भएको हो ।

रोनाल्डो हाल साउदी अरेबियन क्लब अल नासरबाट ब्यवसायीक फुटबल खेल्छन् । सन् २०२३ मा अल नासरमा आबद्ध हुनुअघि उनले चर्चित युरोपियन क्लबहरूबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् । यी महान् फुटबलरको नामसँग विश्व फुटबलका थुप्रै कीर्तिमान पनि जोडिएका छन् ।

विश्व फुटबलमा रोनाल्डोको एउटा भनाई निकै चर्चित छ । कुनै समय उनले भनेका थिए, ‘म कहिले पनि कीर्तिमानहरूको पछाडि दौडिदिन । बरु कीर्तिमानहरू मलाई पछ्याउँदै आउँछन् ।’ विश्वभर यी महान् खेलाडीका करोडौँ समर्थक पनि छन् ।

अल नासरमा आबद्ध हुनुअघि उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सबाट पनि लामो समय ब्यवसायीक फुटबल खेलेका थिए । सोमबार परेको रोनाल्डोको जन्म दिनको अवसरमा उनको नामसँग जोडिएको मुख्य पाँच कीर्तिमानको विषयमा यहाँ चर्चा गरिएको छ । उनको नामसँग जोडिएको केही महत्त्वपूर्ण कीर्तिमानको मात्र यहाँ चर्चा गरिएको हो । योभन्दा पनि निकै बढी कीर्तिमान उनले आफ्नो नाममा पारिसकेका छन् ।

१० पटक ह्याट्रिक गर्ने पहिलो खेलाडी

कुनै समय विश्व फुटबलमा रोनाल्डो र ह्याट्रिकलाई एक अर्काको पर्यायको रूपमा हेरिन्थ्यो । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो १० वटा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । मैदानमा प्रतिद्वन्द्वीको रक्षापंक्तिलाई चिर्दै गोल गर्ने विशेष क्षमताका कारण उनले समकालीन विश्व फुटबलमा ‘गोल मेसिन’ को उपनाम पनि पाएका छन् । रोनाल्डोले सन् २०२१ मा लग्जम्बर्गविरुद्धको खेलमा पोर्चुगलका लागि दशौँ ह्याट्रिक गरेका थिए । त्यो खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ५–० गोलले हराएको थियो ।  

सर्वाधिक अन्तर्राष्ट्रिय गोल

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले यो कीर्तिमान सन् २०२१ मा आफ्नो नाममा पारेका थिए । रोनाल्डोले यो कीर्तिमान इरानका खेलाडी अली दाईबाट खोसेका हुन् । सन् २०२१ मा आयरल्यान्डविरुद्ध ११०औँ गोल गर्दै उनले यो कीर्तिमान आफ्नो नाममा पारेका थिए । त्यसअघि अली दाईको नाममा एक सय नौ गोलको कीर्तिमान थियो । हाल रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय २८ गोल गरिसकेका छन् ।

तीन वटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी

युरोपियन ब्यवसायीक फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो, च्याम्पियन्स लिग । पोर्चुगिज स्टार रोनाल्डो तीन वटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी हुन् । उनी च्याम्पियन्स लिगको फाइनलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले च्याम्पियन्स लिगको फाइनलमा चार वटा गोल गरेका छन् । च्याम्पियन्स लिगको फाइनलमा उनले म्यानचेस्टर युनाइटेडका लागि एक र रियल म्याड्रिडका लागि तीन गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा हालसम्म एक सय ४० गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगमा एक सय ८३ खेल खेल्दै यस्तो सफलता हात पारेका हुन् ।

रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीले एक सय ६३ खेल खेल्दै एक सय २९ गोल गरेका छन् । रोनाल्डोले हालसम्म विभिन्न क्लबबाट पाँचपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेका छन् ।

आठ सय गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो सक्रिय खेल जीवनमा आठ सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् । उनले राष्ट्रिय टोली र विभिन्न क्लबबाट गरेको गोल सङ्ख्या आठ सयभन्दा बढी छ । उनी सन् २०२२ को नोभेम्बरमा आठ सय गोल गर्ने विश्वकै पहिलो फुटबलर बनेका थिए । उनले म्यानचेस्टर युनाइटेड र आर्सनलविरुद्धको खेलमा यो उपलब्धि हात पारेका थिए । त्यो खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि विजयी गोल पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप