शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेनी-जोमसोम-कोरला सडक : छाक्ताङखोलामा पुल निर्माण

मङ्गलबार, २३ माघ २०८०, १५ : ५५
मङ्गलबार, २३ माघ २०८०

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । 

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन आवतजावतमा  सहज भएको छ । छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो प्रिस्ट्रेस कङ्क्रिट विम प्रविधिको मोटरेबल पुल निर्माण गरिएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले जानकारी दिए । 

“पुलसम्म पुग्ने पहुँचमार्ग कालोपत्र गर्न बाँकी भए पनि अन्य काम सकिएपछि सवारीसाधन सञ्चालन गरिएको छ”, उनले भने, “छाक्ताङखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत बन्द हुने र खोलाबाट सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ ।”

सो पुल निर्माण गर्न कालिका-गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो । पुलके ९९ प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर चापागाईंले बताए । दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकमा छाक्ताङखोलासहित थप छ वटा मोटरेबल पुल निर्माण भएको हो । 

बेनी–जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो । 

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत रु चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत रु छ करोड ८५ लाख छ । 

पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । 

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०/७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको हो । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् भने थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । 

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । 

छ वटा खण्डमा ८५ किमी ग्राभेल र तीन वटा खण्डको २२ किमी सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप