आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
निर्देशन समिति बैठक

युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

बिहीबार, २५ माघ २०८०, ११ : ३४
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् ।

यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा.महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ ।’

अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए ।

यसबाहेक, विश्व बैङ्कको सहुलियत दरमा ऋण दिने सम्बन्धी सम्मेलन आगामी जुनमा हुँदैछ । यो सम्मेलन नेपालमा गर्नका लागि समेत अर्थ मन्त्रालय लागि परेको छ । अर्थ मन्त्रालयको निरन्तर पहलका बाबजुद विश्व बैंक यो सम्मेलन नेपालमा नै गर्न सहमत भएको अर्थमन्त्री महतले बताए ।

उनका अनुसार यो अहिलेसम्म नेपालमा सम्पन्न सबै प्रकारका सम्मेलनभन्दा विशेष हुनेछ । यो सम्मेलनमा विश्वभरका ९२ भन्दा धेरै देशका प्रतिनिधि सहभागिता बन्नेछन् । विश्व बैंकका अध्यक्ष र विभिन्न देशका सरकार प्रमुख र अर्थमन्त्रीहरूको सहभागिता समेत रहनेछ ।

सोहीकारण, वैशाख १६ र १७ सम्म चल्ने सम्मेलनलाई सफल बनाउँदै विदेशी लगानी भित्र्याउनका लागि नेपालले छाती फराकिलो पार्नुपर्ने डा.महतले बताए । ‘विदेशी लगानी आयो भने सबैलाई फाइदा हुन्छ,’ उनले भने, ‘लगानी नै आएन भने राज्यलाई र रोजगारीको खोजीमा रहेकालाई पनि फाइदा हुँदैन ।’

विदेशी लगानी भित्र्याउनका लागि सबै निकायले छाती फराकिलो पार्दै कर, ऐन, नियम तथा कानुन र विभिन्न व्यवस्था छलफल र संशोधन गर्नुपर्ने उनको भनाई छ । विदेशी लगानी ल्याउन संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी लगानी ल्याउनका लागि सुरुवातमा कर छुटको प्रावधान लिएको समेत अर्थमन्त्रीले स्मरण गरे ।

‘सुरुमा यूएई सरकारले कर छुटको प्रावधान लियो र विश्वभरबाट लगानीकर्ता खनिए,’ उनले भने, ‘अब यस्तो इकोसिस्टम बनिसक्यो । युएईले कर लगाउँदा र बढाउँदा पनि लगानीकर्ता छाडेर जाँदैनन् ।’ नेपालमा समेत सोही प्रकारको माहौल बनाउन सक्नुपर्ने र त्यसलाई अवसरका रूपमा लिन सक्नुपर्ने अर्थमन्त्रीले बताए ।

यसबाहेक विदेशी लगानीकर्तालाई मात्रै प्राथमिकतामा राखेर स्वदेशी लगानीकर्तालाई छायाँमा पार्ने मनस्थितमा सरकार नरहेको उनले प्रस्ट पारे । यसका लागि मौजुदा नीतिगत कानुनी अवस्था सुधार गर्नका लागि सबै निकाय एकजुट बनेर लाग्नुपर्ने भन्दै यसकालागि अर्थमन्त्री डा.महतले यसका लागि सबैलाई आह्वान समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप