कोशी प्रदेश सरकार र पहिचानवादीहरुबिच वार्ता सुरु

विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबिच वार्ता सुरु भएको छ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समिति तयार भएपछि वार्ता भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो ।
कोशी प्रदेश सरकारले सङ्घर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । टोलीमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा छन् ।
वार्तामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।
आजको वार्तामा दिवस राई र लाक्पा शेर्पा भने अझै आइपुगेका छैनन् । उनीहरू काठमाडौँबाट आउँदै गरेको बताइएको छ। कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । उक्त नाम पहिचानयुक्त नभएको भन्दै पहिचानको आधारमा नामकरण गर्न माग पहिचानवादीले गरेका थिए ।
प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच पटक पटक झडप भएका थिए । त्यसक्रममा आन्दोलनकारीमध्ये एक जनाको मृत्यु पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने