बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फागुन १ गतेदेखि कसरी पाइन्छ ई–भिसा ?

शुक्रबार, २६ माघ २०८०, १५ : ०२
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । सरकारले ई–भिसाको शुभारम्भ गरेसँगै सर्वसाधारणलाई लाइन लाग्नबाट मुक्ति मिल्ने भएको छ । शुक्रबार अध्यागमन विभागले ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको हो ।

फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको सेवा सुरु हुने विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । शुक्रबार विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाको शुभारम्भ गरेसँगै फागुन १ गतेदेखि सर्वसाधारणलाई सेवा लिन सहज हुने विभागले बताएको छ ।  

“हाल बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म र ई–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, महानिर्देशक तामाङले भने । 

‘ई–भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले बताएको छ ।  

यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवेदन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्ने विभागले जनाएको छ । विभागले सबै प्रकारका सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ । 

सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली  प्रारम्भ गरिएको जानकारी दिए । उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए । यस्तै विभागले नयाँ वेवसाइट शुक्रबारदेखि नै सुरु गरेको छ  ।

महानिर्देशक तामाङले सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए । “यस विभागबाट प्रदान हुने सबै प्रकारका सेवा अनलाइनमार्फत् स्वचालित रुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

विभागले नाता र विवाहका आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउन नपर्ने व्यवस्था गरेको हो । “अब सबै प्रक्रिया अनलाइनमार्फत नै हुनेछ भने सेवाग्राही भिसा स्टिकर टाँस्न मात्र विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयमा जान सक्छन्”, उनले भने ।

विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, ईन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआवद्धता गरिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तरआवद्धताका लागि तयारी गरिरहेको जनाएको छ । विदेशी नागरिकहरुले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको समेत जानकारी दिइएको छ ।  

भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने र आवेदकले नेपाली बैङ्किङ प्रणालीमार्फत भुक्तानी गरे पश्चात् अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इजाजत जारी हुने व्यवस्था गरिएको छ । सो इजाजतपत्र सम्बन्धित एजेन्सीले आफैले प्रिन्ट गर्न सक्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप