आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारी घटनाबारे भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले दिए बयान

घटनाबारे ४१ जनासँग आयोगको सोधपुछ र बयान
शुक्रबार, २६ माघ २०८०, १६ : ४८
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बयान दिएका छन् । मन्त्री ज्वालाले सिंहदरबारस्थित आयोगको कार्यालयमा गएर बयान दिएका हुन् ।

ललितपुरको बालुकमारीमा १३ पुसमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए । प्रदर्शन स्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको जानकारहरू बताउँछन् । मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

प्रदर्शन स्थलमा जानुको कारणबारे मन्त्री ज्वालासँग आयोगका पदाधिकारीले बयान लिएका हुन् । मन्त्री ज्वालाले बालकुमारीस्थित कान्तिपुर गार्डेनमा आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को बैठकमा पुस ११ र १२ मा लगातार गएको हुनाले त्यसदिन पनि ‘नर्मल होला’ भन्ने आकलन गरेको आयोगका पदाधिकारीहरूसँग बताएका छन् । उनले भनेका छन्–‘परिस्थिति नर्मल होला भन्ने भयो, त्यस्तो होला भन्ने आकलन नै गरिएन ।’

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दलको बैठकबारे स्थानीय प्रहरीलाई जानकारी नगराएको छानबिनबाट थाहा भएको छ । त्यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरले बैठक स्थलमा सुरक्षाकर्मी नखटाएको आयोगको निष्कर्ष छ । आयोगका एकजना सदस्य भन्छन्–‘मोटरसाइकलमा प्रहरी परिचालन गरेको प्रहरी अधिकृतहरूको जिकिर छ तर, सीसीटिभी फुटेज जाँच गर्दा बैठक स्थलमा स्थानीय प्रहरीको उपस्थिति देखिएन ।’

सशस्त्र प्रहरी बलको तर्फबाट घटनास्थलमा दुई राउन्ड अश्रुग्याँस मात्र प्रहार भएको छानबिनबाट खुलेको छ । बालकुमारी घटना जाँचबुझ आयोगले अहिलेसम्म ४१ जनासँग सोधपुछ र बयान लिएको छ । आयोगका अध्यक्ष (पूर्व न्यायाधीश) शेखर पौडेल भन्छन्– ‘४१ जनासँग बयान लिने र कागज गर्ने काम सकेका छौँ ।’

आयोगको आग्रहमा मन्त्रिपरिषद्ले १५ दिनको म्याद थप गरेको छ । थप गरेको म्यादभित्र प्रतिवेदन बुझाउने गरी काम भइरहेको अध्यक्ष पौडेलले रातोपाटीलाई बताए । आयोगको म्याद फागुन ५ मा सकिन्छ ।

किष्ट अस्पतालमा मृत्यु भएका सुजन रावतलाई गोली नलागेको पुष्टि भएको छ । रावतको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ बाट भएको चिकित्सकहरूले पोस्टमार्टम रिपोर्टमा उल्लेख गरेका छन् । रावतको मृत्यु दौडिँदा ठोक्किएर, ग्याँस सेलले लागेर वा लाठी प्रहारबाट हुनसक्ने विश्लेषण गरिएको छ ।

वीरेन्द्र शाहले प्रहरीको गोलीबाट ज्यान गुमाएका हुन् । ललितपुर प्रहरीमार्फत दुवै मृतकको ‘फरेन्सिक जाँच रिपोर्ट’ मगाइएको आयोगका पदाधिकारीहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप