बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

अर्ती

शनिबार, २७ माघ २०८०, ०७ : ०५
शनिबार, २७ माघ २०८०

‘यो रकम हजुरको छोराको पढाइका लागि हो ।’ हेडसर भन्दै थिए । ‘यो छात्रवृत्तिको पैसाले छोरालाई कापी, कलम, किताब, झोला के के चाहिन्छ त्यही किन्दिनु होला है ? ल सही गर्नुस् त !’ 

‘हस् सर !’ यति भनेर उनले छोरालाई पनि बोलाएर भने, ‘ल छोरा आइज तँ पनि ! हेडसरले भनेको ठाउँमा तँ पनि सही गर् ।’ सही गराइसकेपछि उनले छोरालाई तुरुन्तै कक्षामा पढ्न पठाए । 

बेलुकी घर पुगेर उनले पत्नीलाई मासुको पोको थमाए, ‘ला बुढी आज मुख फेर्नुपर्‍यो । यो गिरिराजको भुटुवा तयार भएपछि मलाई दुई तीन पिस चखा है ?’ छोरालाई पनि बोलाएर एउटा बिस्कुट र कापी दिँदै भने, ‘ल राम्ररी पढ्नू, जे पायो त्यही नगर्नू, राम्ररी पढ्नू !’

उनको अर्डरबमोजिम पत्नीले मासुको परिकार टक्र्याइन् । छोरो पढाइमा व्यस्त थियो । पत्नी भान्सामा व्यस्त भइन् । उनी आफैँ भान्छामा गएर गिलास लिएर आए, लुकाएर ल्याएको मदिराको बोतल खोले र एकछिनपछि छोरालाई बोलाएर नशाको तालमा बर्बराउन थाले, ‘हेडसरले राम्ररी पढ्नू भनेका छन् । जहाँ पायो त्यहीँ नजानू, जे पायो त्यही नखानू ! कुरा राम्ररी बुझिस् नि ?’

भोर्लेटार, लमजुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे
लेखकबाट थप