सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रीय समिति र स्थायी समिति बैठकको सन्देश के ?

सोमबार, २९ माघ २०८०, २० : ५७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनअघि लगातार दुई वटा महत्त्वपूर्ण बैठक समापन गरेको छ । जनयुद्ध दिवस फागुन १ को अवसरमा भोलि (मंगलबार) प्रथम विधान अधिवेशन प्रज्ञाभवन कमलादीमा उद्घाटन कार्यक्रम छ ।

शान्ति प्रक्रियामा आएपछि पटकपटक टुटफुट र विभाजनले कमजोर भएको माओवादी आसन्न विधान अधिवेशनबाट बलियो सांगठनिक संरचना निर्माण र विशेष महाधिवेशनबाट समाजवादी नीति, नेतृत्व, कार्यदिशा, कार्यक्रम बनाउने योजनामा छ ।

तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा पार्टीको आगामी सांगठनिक संरचना कस्तो बनाउने विषयमा घनिभूत बहस हुने नेताहरूको दाबी छ । २०६९ मा हेटौंडामा भएको सातौँ महाधिवेशनबाट माओवादी बहुपदीय संरचनामा गएको थियो ।

९ वर्षपछि प्रज्ञा भवनमा बसेको आठौँ महाधिवेशनले अध्यक्ष प्रचण्डको ‘२१ शताब्दीमा समाजवादको नेपाली बाटो’ राजनीतिक दस्ताबेज पारित गरेको थियो । बहुपदीय सांगठनिक संरचनालाई महाधिवेशनले कायमै राख्यो ।

त्यसैलाई कार्यान्वयन गर्न योपटक विशेष महाधिवेशनअघि माओवादीले छुट्टै विधान अधिवेशन गर्न लागिएको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वले कार्यदलले केन्द्रीय समिति १५१ सदस्य राख्ने प्रस्ताव गरेको छ । निर्वाचन प्रक्रिया पुरानै संसदीय प्रणाली (महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय समितिले पदाधिकारी चुन्ने) कायम राखेको छ ।

तर विगतको अभ्यासलाई क्रमभङ्ग गर्दै योपटक अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाए । शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल चलाए । मस्यौदामाथि दुई दिनसम्म स्थायी समिति सदस्यहरूले बहस र छलफल गरेका थिए । यद्यपि मस्यौदा परिमार्जन गर्ने निर्णय पदाधिकारीलाई दिइयो ।

मस्यौदामाथि छलफल गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बसे पनि निष्कर्ष निस्किएन । बैठक बुधबार बिहान १० बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘आजको बैठकमा पदाधिकारीहरूले सुझाव दिए । स्थायी समितिबाट आएका सुझावसहित मस्यौदा परिमार्जनका लागि भोलि बिहान बैठक बस्नेछ । अहिले केही निर्णय भएको छैन’, सचिव पौडेलले भने ।

अधिकांश नेताहरूले सांगठनिक संरचना प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने सुझाव दिएका छन् । केही नेताले अहिले नै प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी केन्द्रीयतामा समस्या आउने भन्दै मौलिक जनवादी केन्द्रीयता अपनाउनुपर्ने सुझाव दिएका छन् ।   

तथापि बैठकले आधुनिक समाजवादी क्रान्ति हाँक्न सक्ने संगठन कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाको दाबी छ ।

यस्तै आइतबार र सोमबार राष्ट्रिय सभा गृहमा बसेको केन्द्रीय समिति बैठकमा पार्टीले भदौदेखि पुससम्म सञ्चालन गरेको चार महिने अभियानको क्रममा नेता तथा कार्यकर्तामा तीन वटा प्रवृत्ति देखिएको निष्कर्ष निकाल्यो । अभियानमा १० प्रतिशत पनि काम नगर्ने नेताहरूलाई कारबाही गर्ने अध्यक्ष प्रचण्डले घोषणा गरे ।

सोमबार केन्द्रीय समिति बैठक समापन गर्दै उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई बुधबारसम्म रिपोर्ट दिन निर्देशन दिएको सहभागी एक नेताले रातोपाटीलाई बताए ।

‘अध्यक्षले योपटक अभियानमा नखट्ने नेताहरूमाथि कारबाही गर्छु भन्नुभएको छ । बैठकको निर्णय कार्यान्वयन गर्छु भन्नुभएको छ,’ ती नेताले भने ।

काम नगर्ने नेताहरूको लिस्ट बुधबारसम्म दिन सम्बन्धित अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्जहरूलाई निर्देशन दिएको र उक्त रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘निर्णय कार्यान्वयन हुन्छ वा हुँदैन, केही दिन कुर्नुपर्नेछ । यद्यपि अधिवेशन अगाडि लगातार स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएर छलफल हुनु जनवादी केन्द्रीयताको अभ्यास भएको अनुभूति भएको छ’, ती नेताले भने ।

रुपान्तरण अभियानले नेताहरूमा तीन खालको प्रवृत्तिलाई राम्रोसँग उजागर गरेको प्रवक्ता सापकोटाले बताए । ‘अभियानमा कसले कति काम ग¥यो, कति गरेन भन्ने राम्रोसँग थाहा भएको छ । कामको मूल्याङ्कनको निकै राम्रो आधार बनेको छ’, अभियानको निष्कर्ष निकाल्दै उनले भने, ‘सारमा भन्नुपर्दा नेता तथा कार्यकर्ताहरूमा तीन थरीका प्रवृत्ति देखा प¥यो ।’

प्रवक्ता सापकोटाका अनुसार पहिलो दसैँ, तिहार चाडपर्व नभनी काममा इमानदार भएर खट्ने नेता–कार्यकर्ता देखिए भने दोस्रो, काममा पूरै समय नदिने खालका छन् । उनले भने, ‘तेस्रो, फिल्डमा नजाने नेताहरू छन् । कामको मूल्याङ्कनका आधारमा तिनीहरूमाथि कारबाही हुन्छ ।’

प्रवक्ता सापकोटाले अभियानमा ७५ प्रतिशत कार्यकर्ता परिचालन भएको जानकारी दिँदै पार्टी बन्ने बलियो आधार तय भएको निष्कर्ष निकाले । यो पटक पार्टीभित्र जनवादी अभ्यास राम्रोसँग भएको उनको जिकिर छ ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधान अधिवेशनपछि दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने  योजना सुनाए । जसअनुसार तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण नामक अर्को अभियान चलाउने योजना उनको थियो ।

उत्तर–दक्षिण अभियानले हिमाल, पहाड र तराईलाई जोड्ने तथा तराई मधेस जागरण अभियानले पार्टीको संगठन सुदृढीकरणमा मद्दत गर्ने प्रचण्डको विश्वास लिएका छन् ।

दुवै दिनको केन्द्रीय समिति बैठकको निष्कर्ष निकाल्दै केन्द्रीय सदस्य रामनारायण बिडारीले अभियानबाट माओवादी सलबलाएको बताए । आगामी दिनमा गठबन्धनबिना एक्लै प्रतिस्पर्धा गर्नका लागि बलियो संगठन आवश्यक रहेको उनको बुझाइ छ ।

त्यसका लागि काठमाडौँ उपत्यका, मधेस, हिमाल र पहाडमा विशेष अभियान सञ्चालन गरिने प्रचण्डको योजना रहेको उनले सुनाए ।

‘माओवादी बलियो हुन बलियो संगठन आवश्यक पर्छ । आफैँ बलियो भएपछि गठबन्धन गर्न परेन । यसो भएमा आगामी निर्वाचनमा माओवादीले गठबन्धन गरिरहन आवश्यक छैन’, बिडारीले भने ।

बलियो संगठन बनाउने विषयमा विधान अधिवेशनमा गम्भीर बहस हुने र अधिवेशनले समाजवादी क्रान्ति हाँक्न सक्ने सांगठनिक संरचना निर्माण गर्नेमा उनको विश्वास छ ।

अर्का केन्द्रीय सदस्य माधव सापकोटाले केन्द्रीय समिति बैठकले नेताहरूको मूल्याङ्कनको आधारमा कारबाही र पुरस्कार गर्ने तहबाट निर्णय भएकाले कार्यान्वयनमा जाने विश्वास लिएका छन् ।

‘बैठकले पार्टी निर्माणको आधार तय गरेको छ । यद्यपि पूर्ण छैन । अभियानमा जसले उत्कृष्ट ढंगले समय दिएर काम गर्नुभयो, उहाँहरूको मूल्याङ्कन गरी सम्मान गर्ने, जसले कार्यक्षेत्रमा काम गरेनन्, उहाँहरूलाई कारबाहीको सिफारिस सम्बन्धित प्रदेशका इन्चार्जले गर्नेछन्, समाजवादी क्रान्तिका लागि विचार निर्माण गर्नेतर्फ केन्द्रित भएर हामी विशेष महाधिवेशनमा जानेछौँ’, सापकोटाले भने । 

२०४५ सालदेखि लगातार ३५ वर्षसम्म नेतृत्व हाँकेका प्रचण्ड आगामी दिनमा आफूलाई निर्विकल्प अध्यक्षमा प्रस्तुत हुन चाहेको प्रस्तावित मास्यौदाले देखाएको छ । अधिकांश नेताले अध्यक्षमा प्रचण्ड दोहोरिन चाहे पनि प्रत्यक्ष निर्वाचन प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन् ।

भोलिदेखि तीन दिनसम्म चल्ने अधिवेशनमा पनि प्रत्यक्ष निर्वाचितमा जाने कि पुरानै संसदीय मोडललाई कायमै राख्ने भन्ने विषयमा बहस हुने निश्चित छ । तथापि योपटक अध्यक्ष प्रचण्डले देखाएको सक्रियता, अधिवेशनपूर्व लगातार स्थायी र केन्द्रीय समितिमा एजेण्डामाथि बहस गराएकोमा नेताहरूले पार्टी बदलिनेमा विश्वास लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप