मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
न्याय मार्च

मिटरब्याज पीडितको ‘न्याय मार्च’ : मेचीबाट हिँडेरै १४ दिनमा हेटौँडा

सोमबार, २९ माघ २०८०, २२ : २६
सोमबार, २९ माघ २०८०

हेटौँडा । मिटरब्याज पीडितको न्याय मार्च हेटौँडा आइपुगेको छ । मेची पुलबाट हिँडेर मिटरब्याज पीडितहरूको न्याय मार्च सोमबार राती अबेर हेटौँडा आइपुगेको हो ।

मिटरब्याज पीडितहरूले गत माघ १६ मा नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर न्याय मार्च आन्दोलनको सुरुवात गरेका थिए । मेची पुलबाट हिँडेको १४ औँ दिनमा मिटरब्याज पीडितको ‘न्याय मार्च’ हेटौँडा आइपुगेको हो ।

miter-bag-hetauda (1)

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले थालेको ‘न्याय मार्च’ का अभियानकर्मीहरू सोमबार राति ९ बजे हेटौँडा आइपुगेका हुन् ।  हेटौँडा आइपुगेको न्याय मार्चका सदस्यहरू सोमबार राति हेटौँडा १० स्थित गोरक्षेश्वर पशुपति मन्दिर परिसरमा रहेको धर्मशालामा बस्ने र बुधवार बिहानै चितवनतर्फ लाग्ने केन्द्रीय सदस्य घिमिरेले बताइन् । 

miter-bag-hetauda (2)

मिटरब्याजी विरुद्ध सङ्घर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेका अनुसार मेची पुलबाट पैदल हिँडेर सुरु गरेको ‘न्याय मार्च’ काठमाडौँ पुगेर आन्दोलनमा होमिने छ । पूर्वबाट हिँडेको दिन अर्को टोलीले पश्चिमबाट पनि न्याय मार्चको सुरुवात गरेको उनले बताइन् । उनले पूर्व र पश्चिमबाट एकैदिन पैदल हिँडेका मिटरब्याज पीडितहरु चितवनमा भेला भएर काठमाडौँ जाने बताइन् ।

‘मेची पुलबाट ‘न्याय मार्च’ सुरु भएकै दिन सुदूर पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट पनि ‘न्याय मार्च’ सुरु गरिएको छ । चितवनमा भेला भएर एकैपटक काठमाडौँ प्रवेश गर्ने तयारी रहेको छ’ उनले भनिन् ।

मेची पुलमा भेला भएर हिँडेको ७० जनाको टोली अहिले करिब ३०० जनाको हाराहारीमा पुगेको केन्द्रीय सदस्य घिमिरेले बताइन् । ‘न्याय मार्च’ मा झापा, सुनसरी, मोरङ, सप्तरी, धनुषा, सर्लाही, रौतहट बारा लगायतका जिल्लाबाट समेत मिटरब्याज पीडितहरू सहभागी भएको उनको भनाई छ । 

miter-bag-hetauda (6)

मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेर जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ । मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेको केन्द्रीय सदस्य घिमिरेले बताइन् ।

miter-bag-hetauda (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप