बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

मोरङमा ३ हजार जना नागरिकताबाट वञ्चित

बुधबार, ०२ फागुन २०८०, १७ : ३५
बुधबार, ०२ फागुन २०८०

विराटनगर । उमेर पुगे पनि कानुनी प्रावधानका कारण मोरङमा ३ हजारभन्दा बढी व्यक्ति नेपाली नागरिकता पाउनबाट वञ्चित भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार कानुन बमोजिम वंशजको आधारमा आमा र बुबाको नागरिकता भए निःशर्त नागरिकता पाउँछन् । तर, जन्मसिद्धका सन्तानका लागि भने आमा र बुबा दुवै जनाको नागरिकता हुनुपर्ने कानुनी व्यवस्था भएको कारण नागरिकता वितरण गर्न नसकिएको उनको भनाइ छ ।

‘जन्मसिद्धका छोराछोरीले नागरिकता पाउँदा बुबा र आमा दुवैको नागरिकता हुनुपर्ने प्रावधान राखिएको कारण उनीहरुले नागरिकता पाउन सकेका छैनन्,’ भट्टराईले भने, ‘कतिको बाबु मात्रै छ । कतिको आमा मात्रै छन् । त्यस्तो संख्या ३ हजार भन्दा बढी छ ।’

नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले नागरिकता पाउने विषय उल्लेख छ ।

‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ संविधानको उक्त उपधारामा उल्लेख छ ।

यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा २ को उपदफा (२) मा पनि संविधानमा रहेकै प्रावधान राखिएको छ । ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछ भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ उक्त ऐनमा उल्लेख छ । यही प्रावधानले जन्मको आधारमा नागरिकता पाएका तर दुवै दम्पतीको नभएको अवस्थामा उनीहरुको सन्तानले तत्काल नागरिकता नपाउने भएका हुन् ।

भट्टराईका अनुसार सात महिनाको अवधिमा मोरङ जिल्लाबाट जन्मका आधारमा १२ हजार ६४२ जनाले वंशजको नागरिकता पाएका छन् ।

उनका अनुसार गत असार ११ गतेदेखि फागुन १ गतेसम्ममा उक्त संख्यामा नागरिकता वितरण भएको हो । जसमा जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरबाट ८ हजार ९७४, इलाका प्रशासन कार्यालय रंगेलीबाट ३ हजार १९९ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६९ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाएका छन् ।

यस्तै हालसम्म एनआरएन नागरिकता पाउनेको संख्या मोरङबाट ४३ जना रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा यसअघि जस्तो नागरिकता लिनेको भीड पनि देखिएको छैन । ‘उर्लाबारी प्रशासन कार्यालयमा त जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई नागरिकता दिने प्रक्रिया सकिसकेको छ । रंगेली र विराटनगरमा फाट्ट फुट् आइरहेका छन् । पहिले जस्तो भिडभाड छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप