शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागी नियन्त्रणका लागि महानगरको पूर्वतयारी

आइतबार, ०६ फागुन २०८०, ११ : ५४
आइतबार, ०६ फागुन २०८०

विराटनगर । सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने भएकाले विराटनगर महानगरपालिकाले नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सम्बन्धित क्षेत्रमा समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । 

यसका लागि मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले विराटनगरस्थित सनसारी माईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताए । 

बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न मुख्य बजार क्षेत्रभन्दा केही पर पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता छ । ‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपर्थ्यो,’ मेयर कोइरालाले भने, ‘अब बजार र दक्षिणी क्षेत्रमा लागालागी भएमा पानी सकिने बित्तिकै सनसारी माईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । यसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।’

अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताए । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

सनसारी माईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । 

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले जानकारी दिए ।

बजार क्षेत्रमा लागालागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो । महानगरले विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप