सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अदालत र कानुन व्यवसाय अन्तरसम्बन्धित परिपूरक पक्ष : प्रधानन्यायाधीश श्रेष्ठ

मङ्गलबार, ०८ फागुन २०८०, २० : ०४
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रूपमा स्थापित गर्न कानुन व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसन नेपालले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गरेका हुन् । 

उनले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानुन व्यवसायीको प्रवर्द्धन हुन नसक्ने र सबल, सक्षम र सुदृढ कानुन व्यवसायीहरूबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मसात् गरेर अघि बढ्न पनि कानुन व्यवसायीहरूलाई आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानुन व्यवसायीहरू पनि विश्वासिलो बन्न सक्ने जिकिर गरे ।

उनले भने, ‘सुशासन, जबाफदेहिता र उत्तरदायित्वलगायत न्यायिक मूल्य, मान्यताको जगेर्ना र त्यसलाई अनुभूतिको तहसम्म पुर्‍याउने कार्य त्यत्तिकै चुनौतीपूर्ण विषय हो भन्ने मलाई लाग्दछ । विशेष गरी आम नागरिकहरू विश्वस्त हुने किसिमको वातावरणको निर्माण एवं ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता हो । न्यायपालिकाप्रतिको आकाङ्क्षाहरूको डिमान्ड तथा भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि हामीले गम्भीर ढङ्गले आत्मरक्षा गर्न सक्नुपर्दछ । त्यसै भित्रबाट न्यायिक सुधारका अन्तर्य र अन्तरवस्तुको पहिचान गर्न सकिए मात्र सही गन्तव्य भेटिन्छ जस्तो मलाई लाग्दछ ।’

अदालत र कानुन व्यवसाय अन्तरसम्बन्धित परिपूरक र अन्योन्याश्रित पक्षहरू भएको उनको भनाई थियो । । प्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरूले जोड दिएको बताए । 

‘स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानुन व्यवसायीको प्रवर्द्धन हुन सक्दैन । त्यसै गरी सबल, सक्षम र सुदृढ कानुन व्यवसायीहरू बिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन । हामी सबैले यो शाश्वत सत्यलाई आत्मसात् गर्न सक्नुपर्दछ । हाम्रा भूमिका र जिम्मेवारीहरू फरक छन् । तर लक्ष्य एउटै हो, त्यो हो न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति । यस प्रकारको अन्तरसम्बन्धको जति गहिरो मापन गर्नसक्दछौं, आपसी सम्बन्ध र सहकार्यको क्षितिज पनि त्यत्तिकै फराकिलो बन्दै जान्छ भन्ने मलाई लाग्दछ । न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो नबनाएसम्म हामी विश्वासिलो बन्न सक्दैनौँ । न्याय पालिकालाई विश्वास प्राप्त संस्थाको रूपमा स्थापित गर्ने चुनौती संसारमा सबैतिर छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप