आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा गठबन्धन नगर्ने बहस : के गर्ला माओवादी ?

बुधबार, ०९ फागुन २०८०, १९ : ४६
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगन थापाले भविष्यमा चुनावअघि गठबन्धन नगर्ने गरी सांगठनिक प्रतिवेदन पेस गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सशंकित देखिएको छ ।

सोमबारबाट ललितपुरको गोदाबरीमा सुरु भएको महासमिति बैठकमा महामन्त्री थापाले भविष्यमा हुने आवधिक निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने दृढ संकल्पसहित प्रतिवेदन पेस गरेका थिए ।

यद्यपि थापाको प्रतिवेदन पास हुने सम्भावना नरहेको सहभागी सदस्यहरूले बताएका छन् । उनको प्रस्तावप्रति सुरुमै कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति जनाएका थिए । देउवा निवास बुढानीलकण्ठमा पटकपटक छलफल पश्चात भाषामा केही संशोधन गरी प्रतिवेदन पेस गर्ने सहमति जुटेको थियो ।

तथापि कांग्रेस महासमिति बैठकले निर्वाचनअघि गठबन्धन गर्ने कि नगर्ने भन्ने बहस सतहमा ल्याएको छ । थापाको प्रस्तावलगत्तै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवासँग सोमबार छलफल गरिसकेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेका सभापति देउवाले थापाको प्रस्तावले गठबन्धन तलमाथि नहुनेमा प्रचण्डलाई आश्वस्त पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यद्यपि तत्काल गठबन्धनको विपक्षमा महामन्त्री थापा पनि देखिएका छैनन् । २०८४ को निर्वाचनसम्म उनी वर्तमान गठबन्धनको निरन्तरताकै पक्षमा उभिएका छन् ।

चुनावअघि गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे कांग्रेस महासमिति बैठकमा भएको बहसले आफूहरूलाई केही फरक नपर्ने नेकपा माओवादी केन्द्रका नेताहरूले दाबी गरेका छन् । भर्खर सकिएको माओवादी केन्द्रको विधान अधिवेशन र केन्द्रीय समिति बैठकमा सहभागी अधिकांशले आफ्नै क्षमतामा उभिने गरी तयारीमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

यसअघि (भदौ–पुस) मा सकिएको विशेष रूपान्तरण अभियानले पार्टीलाई चलायमान बनाएको माओवादी नेताहरुको निष्कर्ष छ । आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन नयाँ योजना र कार्यक्रम ल्याउने तयारी भइरहेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘हारजित जेसुकै होस्, एक्लै जानुपर्छ भन्ने निर्णय गरेका छौँ । कांग्रेसले पनि त्यो निर्णय गर्ने कुरालाई हामी अन्यथा मान्दैनौँ । गठबन्धन भनेको परिणाम आइसकेपछि सरकार बनाउन बहुमत पुगेन भने गर्ने विषय हो । तर सामान्यतया दलको नियम अनुसार चुनाव एक्लै लड्ने कुरा आफैँमा सही छ’, पौडेलले भने । 

निर्वाचनमा धक्का लाग्ला भनेर डराउने कुरा  नभएको पनि उनले स्पष्ट पारे । परीक्षा दिन गइसकेपछि फेल हुन्छ कि भनेर आफूहरू नडराउने उनले बताए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचन पश्चात हरेक निर्वाचनमा गठबन्धन गर्दै आएको माओवादी भरपर्दो विकल्प नभएसम्म गठबन्धनलाई निरन्तरता दिने पक्षमा छ । गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे कांग्रेसमा भइरहेको बहसप्रति माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै टिप्पणी गर्न चाहेनन् ।

‘यो कांग्रेसको आन्तरिक मामिला हो । यसमा मेरो कुनै टिप्पणी छैन’, उनले भने ।

उपाध्यक्ष पम्फा भुसालले कांग्रेससँग सहकार्य गर्दा माओवादीलाई घाटा भएको भन्दै आगामी निर्वाचनमा एक्लै भाग लिने बताइन् ।

‘हामी एक्लै चुनावमा भाग लिने हैसियतले योजना बनाइरहेका छौँ । यसअघि कांग्रेससँग मिलेर चुनावमा भाग लिँदा धेरै घाटा भएको छ । २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्ने गरी तयारी गर्छौँ’, उनले भनिन् ।  

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने आन्दोलनको नेतृत्व माओवादीले नै गरेको दाबी गर्दै उनले अब सामाजिक न्याय, सुशासन र समृद्धिको यात्राको नेतृत्वसमेत आफूहरूले नै गर्ने बताइन् ।

पार्टीलाई थप बलियो बनाउन एक वर्षभित्र विशेष महाधिवेशनको तयारीमा जुट्ने भुसालको भनाइ छ ।

२०६४ को निर्वाचनको तुलनामा पार्टीको मत निकै घटे पनि अब योभन्दा तल नघट्ने माओवादीले निष्कर्ष निकालेको छ । पहिलो संविधानसभा निर्वाचनमा झण्डै ३० लाख मत ल्याएको माओवादीले २०७९ सम्म आइपुग्दा पौने १२ लाख मत पाएको छ ।

अहिलेको मत भनेको थिग्रिएको भएकाले यहाँभन्दा नघट्ने तर आगामी दिनमा यो मतलाई बढाउने गरी निर्वाचनको तयारीमा जुट्ने योजना माओवादीले बनाएको छ ।

यसअघि माघ २९ गते राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य राजनीतिक दृष्टिकोणले बाध्यात्मक अवस्था भएको टिप्पणी गरेका थिए । माओवादीको मतले कांग्रेस ठुलो पार्टी भए पनि आफूहरूलाई कुनै लाभ नभएको उनले बताएका थिए ।

‘कांग्रेससँगको सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, बैठकमा उनले भनेका थिए, ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ ।’

प्रचण्डको उक्त अभिव्यक्तिले कांग्रेसका नेताहरू असन्तुष्ट देखिएका छन् । तर उनको अभिव्यक्तिलाई नै आधार बनाएर गठबन्धन भत्काउने पक्षमा अहिलेसम्म देउवा देखिएका छैनन् ।

प्रचण्ड–ओली भेटले कांग्रेस सशंकित

कांग्रेस महासमिति बैठक जारी रहेकै बेला प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेता केपी ओलीसँग अर्थपूर्ण भेट गरेका छन् । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय समिति बैठक सकिएपछि ओली प्रधानमन्त्रीको कार्यालय सिंहदरबार गएका थिए । यद्यपि ओली–प्रचण्ड भेटमा के कुरा भयो भन्ने विषयमा दुवै पक्षले खुलाएका छैनन् ।

राष्ट्रियसभा निर्वाचनमा कोशीमा कांग्रेसको अन्तर्घातका कारण आफ्ना उम्मेदवार पराजित भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग असन्तुष्ट देखिएका छन् ।

कांग्रेसभित्र संस्थापन इतर पक्ष गठबन्धन गर्न नहुने पक्षमा उभिएको बेला प्रचण्ड–ओली भेटले कांग्रेस महासमिति बैठकमा तरंग ल्याएको छ । भविष्यको चिन्ता लिएर अहिले नै गठबन्धन गर्न नहुने संकल्प प्रस्ताव कांग्रेसका लागि प्रत्युत्पादक हुन सक्ने धेरैको मत छ ।

गत वर्ष निर्वाचनपछि प्रधानमन्त्री बन्ने लोभमा गठबन्धन भत्काएको कांग्रेस फेरि गठबन्धन तोड्ने पक्षमा देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप