शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

त्यो बेला मेरो आँखाबाट आँसु झर्‍यो : अञ्जु पन्त

‘यो माया कहाँ मार्न सक्छु र ?’
शुक्रबार, ११ फागुन २०८०, १३ : १९
शुक्रबार, ११ फागुन २०८०

काठमाडौंँ । लोकप्रिय गायिका अञ्जु पन्त केही अगाडिमात्र अमेरिकाबाट नेपाल आएकी छन् । नेपाल आएपछि उनको दैनिकी गीतसङ्गीत नै बनिरहेको छ । उनी नेपाल आएको थाहा पाएपछि थुप्रै गायक, सङ्गीतकार र गीतकारले उनलाई पछ्याइरहेका छन् । उनी अचेल दिनमा एकदेखि तीन वटासम्म गीत रेकर्ड गर्ने गरेकी छन् ।

अमेरिका रहँदा पनि थुप्रै गीत रेकर्ड गरेको बताउने उनी मेलामहोत्सवमा भने अहिले सहभागी भएकी छैनन् । दैनिक गीत रेकर्डको चटारोले मेला महोत्सव भ्याउन गाह्रो भएको उनले रातोपाटीसँगको भेटमा बताइन् ।

‘न बिर्से तिमीलाई, न पाए तिमीलाई’ जस्तो बहुचर्चित गजलकी गायिकासमेत रहेकी पन्तले फिल्म, एल्बम र फुटकर गरेर थुप्रै हिट गीत दिएकी छन् ।

पन्त करिब तीन वर्ष अगाडि थीर कोइरालासँग विवाह गरेर अमेरिका उडेकी थिइन् । उनको अमेरिका यात्रालाई धेरैले पलायन समेत भनेका थिए । स्रोता, दर्शकको माया र नेपाली गीतसङ्गीत छोडेर आफू संसारको कुनै ठाउँमा पनि रमाउन नसक्ने उनले बताइन् । गायिका अञ्जु पन्तसँग गीतसङ्गीत र अबको योजनाको विषयमा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • अहिले केमा व्यस्त हुनुहुन्छ ?

– नयाँ गीतसङ्गीतको रेकर्डिङमै व्यस्त छु । दिनमा एकदेखि तीन वटासम्म गीत रेकर्ड भइरहेको छ । म एक महिना अगाडि अमेरिकाबाट नेपाल आएको हो । आएदेखि फुर्सदमा छैन ।

अमेरिकामा बस्दा पनि धेरै गीत रेकर्ड गरेको थिएँ । तीमध्ये ‘पञ्चमी बेला’, ‘अधुरो सपना’ लगायत केही अहिले हिट छन् ।

  • अञ्जु पन्त हराइन् भनिन्छ नि त ?

– धेरैले मलाई अहिले त्यसै भनिरहेको सुन्छु । म हराएको छैन । म नेपालमा छु । यो गर्दैछु, त्यो गर्दैछु भनेर हल्ला गर्ने मेरो बानी छैन । गुपचुप काममा लागिरहेकी छु ।

  • मेला महोत्सवको माहोल छ । तपाई गुपचुप रहँदा आयोजकले कसरी खोज्छन् त ?

– अमेरिकामै रहँदा देशका विभिन्न भागबाट मेला महोत्सवका आयोजकको फोन आउँथ्यो । तपाईं हाम्रो पहिलो रोजाइ हो, तपाईं नेपाल हुनुहुन्न भनेर चित्त दुखाउनुहुन्थ्यो । म आएको केहीले थाहा पाइसके । त्यसैले पश्चिमका केही ठाउँमाबाट महोत्सवका लागि अफर आएको छ, जाँदैछु ।

मलाई मेला महोत्सवमा एक पटक गएको ठाउँमा वर्षैपिच्छे जान मन पर्दैन । त्यस्ता ठाउँमा कम्तीमा पनि तीन वर्षपछि मात्र जान्छु ।

  • तपाईं अमेरिका उडेपछि अञ्जु अब उतै पलायन हुन्छिन् भनियो । तपाईं त छिट्टै फर्किनुभयो नि ?

– मेरा लागि नेपाली स्रोता, दर्शकजस्तो अरु कोही हुनै सक्दैन । त्यसैले नेपाल गीतसङ्गीत छोडेर अमेरिकामा हराउने भन्ने कुरा आउँदैन । अमेरिकामा नेपाल, भारत, बंगलादेश लगायतबाट गीतहरु प्राप्त भए । मैले गाएँ  । त्यो बेला मेरो आँखाबाट आँसु झर्‍यो । किनभने त्यति टाढा रहँदा पनि मलाई माया गरेर गीतहरु पठाइयो । त्यो मप्रति गरिएको माया र विश्वास हो । म यो विश्वास कहिल्यै पनि हट्न दिन्न । संसारको जुनै कुनामा रहे पनि म सङ्गीतमै हुन्छु । सबैको यो माया कहाँ मार्न सक्छु र ?

  • पछिल्लो समय गीत आइरहेका छन् भन्नुभयो । हामीले तपाईंको गीतको अभाव देखिरहेका छौँ नि ?

– चलचित्र, एल्बम, फुटकर लगायत मेरो धेरै गीत आइरहेका छन् । पहिलेको जस्तो कालजयी गीत आएको छैन । अहिले पञ्चमी मेला र अधुरो सपना बोलको गीतले चर्चा पाइरहेको छ ।

‘अधुरो सपना’ गीत म जतिपटक सुन्छु, त्यति पटक नै रुन्छु । त्यो गीत एकदमै मार्मिक छ । केही फिल्मको पनि गीत आएको छ । पहिलेपहिले अञ्जु पन्तसँग गाउने भनेर गीतहरु आउँथ्यो । नवगायक, मोडल, स्टुडियो, कम्पनी, सङ्गीतकारदेखि गायकसम्म मेरो गीतबाट स्थापित हुन्थे ।

अहिले सबैले आफ्नो युट्युव च्यानल खोलेका छन् । गीत त्यसैमा राखेका छन् । तर ती गीत बाहिर कसरी प्रवाह गर्ने भन्ने थाहा नहँुदा स्रोता–दर्शकसम्म पुग्न नसकेर बर्बाद भएका छन् । त्यसबाट मलाई पनि चित्त दुखेको छ ।

  • केही त अञ्जु पन्तको पारिश्रमिक उच्च भएका कारण गीत कम भएको भन्छन् नि ?

– मैले गीतसङ्गीतमा व्यावसायिक तरिकाले पनि अगाडि लैजानुपर्छ भनेर पारिश्रमिक त्यही अनुसार बनाएँ । तर पनि मलाई कामको कमी छैन । अहिले मैले नै पारिश्रमिक कम लिन थाले भने आउने पुस्ताले कति लिने त ? । यो सङ्गीत भनेको महासागर हो । यसमा जति पौडी खेले पनि सकिन्न । यसमा रहिरहन नम्र, धैर्यवान, मेहनत पनि चाहिन्छ ।

  • सङ्गीतको बजार बिग्रियो भनेर गायक गायिकाले भन्ने गरेको सुनिन्छ, हो र ?

– त्यस्तो त लाग्दैन । तर अहिले सबै भाइरलको पछि लागेका छन् । क्लासिकल सिकेर भयङ्कर ज्ञान लिएका सङ्गीतकारहरु समेत भाइरलको पछि लागिरहेका छन् । तर मेलोडी नछोड्ने, गुरुको पथ नछोड्ने धेरै हुनुहुन्छ । अहिले पनि सङ्गीतको अवस्था नराम्रो छैन । अझै राम्रो बनाउन सक्छौँ । हामीले विश्वबजारमा जाने गीत बनाउन सक्छौँ । आशामा जीवन हुन्छ । हामी निराशा हुने अवस्था छैन ।

  • त्यसो भए सङ्गीतको बजार कस्तो देख्नु भएको छ ?

– सङ्गीतमा राम्रो, नराम्रो दुई पाटो पहिलेदेखि अहिलेसम्म छदैछ । छान्ने केलाई भन्ने कुरो हो । सङ्गीतको बजार राम्रो छ । तर विकृति पनि भित्रिएको छ । नयाँ आउने बच्चाबच्चीबाट म निकै आशावादी छु ।

  • अहिले गायक–गायिकाको आफ्नै युट्युव च्यानल छ । तपाईंले पनि खोल्नुभएको छ ?

– मेरो पनि अञ्जु पन्त अफिसियल युट्युव च्यानल छ । त्यसबाट पछिलो समय आफ्नो गीत सार्वजनिक गरिरहेको छु । अहिले मसँग गीत धेरै छन् । बिस्तारै बाहिर ल्याउँछु ।

  • अहिले भिडियोमा पनि गायक–गायिकाले नै अभिनय गर्ने चलन छ, तपाईं के गर्नुहुन्छ ?

– म धेरै एक्सपोज हुने, सामाजिक सञ्जालमा पनि नियमित अपडेट रहनेखालकी गायिका होइन । आफ्नो गीतको भिडियोमा आफैँ अभिनय गर्नु भनेर मलाई धेरैले भन्नुहुन्छ । पहिले परदेशी, सिन्दुर, स्काउट लगायत धेरै चलचित्रमा अभिनय अफर आएको थियो । म ‘गायक–गायिका देखिनुपर्छ र ?’ भन्दै आएकी छु । गायकले दिने आवाज हो जस्तो लाग्छ । पछिल्लो समय गायक, गायिका नै ‘वान मेन आर्मी’ बन्नुपर्ने स्थिति छ । यो एक किसिमले राम्रो हो । मेरो स्वभाव गीत रेकर्ड गर्नेमात्र हो ।

  • आफैँ पनि गीत ल्याइरहनु भएको छ । सङ्गीतको लगानी फर्किन्छ र ?

– गीतसङ्गीतको लगानी अहिले जुवा खेलजस्तै हो । तर पनि गीतसङ्गीत प्रतिको जोश र जागर नेपालमा कम भएको छैन । पैसा छैन, माहोल बिग्रिएको छ । त्यो सबै थाहा हुँदाहुँदै पनि लगानी भइरहेको छ । किनभने गीतसङ्गीतले मानिसलाई जिउने आधार र टेवा दिन्छ । विश्वमा सबैभन्दा बढी सर्च गरिएको शान्ति हो । त्यो शान्ति मानिसले सङ्गीत बाहेक अन्य माध्यममा पाउनै सक्दैन ।

  • अचेल मेला महोत्सवमा गायक गायिकाप्रति आक्रमणको घटना धेरै हुन थालेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

– यति धेरै अराजकता हुनुहँुदैन । यसमा दुवै पक्ष सजग हुनुपर्ने देखिन्छ । कलाकारबाट पनि मानसम्मान पाउने खालका व्यवहार हुनुपर्‍यो । एकदुई घटना भयो भनेर सबैलाई दोष दिन मिल्दैन ।

  • तपाईले फाउन्डेसन चलाउनु भएको थियो । के त्यो अहिले पनि छ ?

–मेरो संस्थाको नाम अञ्जु पन्त फाउन्डेसन हो । त्यसबाट अहिले धेरै नानीहरुलाई पढाउने काम भइरहेको छ । पर्सा पटेरुवामा सुकुमवासीका लागि ११ घर निर्माण कार्य भइरहेको छ । फाउन्डेसनबाट म समाजसेवा गरिरहेकी छु ।

  • अन्त्यमा केही छ ?

– दर्शकले धेरै माया, साथ दिनु भएको छ । धेरै आभारी छु । धन्यवाद समेत भन्छु । तपाईंहरुको यो साथ, माया सदैव रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप