शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

इन्टरपोलबाट कति प्रकारको नोटिस जारी हुन्छ ?

नेपालबाट १० आरोपी इन्टरपोललाई हस्तान्तरण
शनिबार, १२ फागुन २०८०, १७ : ३६
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा १३ माघमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)ले राई विरुद्ध डिफ्युजन जारी गरेको हो । 

अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन जारी गरिन्छ । अदालतबाट वारेन्ट जारी नभएको अवस्थामा गरिने ‘सूचनात्मक परिपत्र’ नै डिफ्युजन हो । इन्टरपोल महासचिवालयबाट जारी गरिने डिफ्युजनकै आधारमा मात्र आरोपी पक्राउ पर्दैनन् । नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकाल खोजी सूचीमा रहेका आरोपी लोकेट भएपछि पक्राउका लागि रेड नोटिस जारी गर्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘खोजेको आरोपी लोकेट भएपछि पक्राउ गर्न डिफ्युजनलाई रेड नोटिसमा बदल्नुपर्छ ।’

अपराध अनुसन्धान गर्न रेड नोटिस र डिफ्युजन जस्तै अन्य ८ प्रकारका नोटिस जारी गरिन्छ । इन्टरपोलको सदस्य संगठनहरूको आग्रहमा फ्रान्सको लियोन स्थित इन्टरपोल महासचिवालयबाट त्यस्ता नोटिस जारी गरिन्छ । १९६ देशका प्रहरी संगठन इन्टरपोलका सदस्य छन् । 

इन्टरपोलबाट रेड, ब्लू, ग्रिन, ओरेन्ज, ब्ल्याक, यल्लो र पर्पल नोटिस जारी गरिन्छ । रेड नोटिस दुई वर्षभन्दा धेरै कैद सजाय हुने अपराधमा संलग्न आरोपीका लागी मात्रै जारी गरिन्छ । 

अपराधीको बारेमा थप जानकारी पाउन ब्लु नोटिस जारी गरिन्छ । शङ्कित व्यक्तिले अपराधको घटना गराउन सक्नेबारे जानकारी गराउन ग्रिन नोटिस जारी गरिन्छ ।  

जैविक र रासायनिक हतियारबाट हुने सम्भावित अवस्था रोक्ने चेतावनी दिन ओरेन्ज नोटिस जारी गरिन्छ । त्यस्तै, पहिचान खुल्न नसकेका शवको पहिचान खुलाउन ब्ल्याक नोटिस जारी गरिने बताउँछन् प्रहरी प्रवक्ता भीम ढकाल । 

हराएका मानिसको खोजीका लागी यल्लो नोटिस र अपराधीको अपराध कार्यविधिबारे जानकारी दिन पर्पल नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस चाहिँ फरार आरोपीको खोजी गर्नका लागी गरिने ‘सूचनात्मक परिपत्र’ हो । डीआईजी भीम ढकाल भन्छन्–‘अदालतबाट वारेन्ट आउनुअघि आरोपीलाई लोकेट गर्न डिफ्युजन जारी गरिन्छ ।’ 

प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट अहिलेसम्म १६९ वटा रेड नोटिस जारी गरिएको छ । तीमध्ये ५४ वटा रेड नोटिसमा उल्लेख भएका अपराधी इन्टरपोलको सदस्य राष्ट्रहरूको खोजी सूचीमा छन् । रेड नोटिसको आधारमा अहिलेसम्म ५१ जना अपराधीलाई पक्राउ गरिएको डीआईजी ढकालले बताए । नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा अहिलेसम्म १०४ वटा डिफ्युजन जारी भएको थियो । तीमध्ये ३३ वटा डिफ्युजन अहिले कार्यान्वयनको प्रक्रियामा छ । नेपाल प्रहरीले खोजेको मान्छे लोकेट भएपछि डिफ्युजन नोटिसलाई रेड नोटिसमा रूपान्तरण गरेर पक्राउ गरिने डीआईजी ढकालले बताए । ढकाल भन्छन्–‘अनुसन्धान गर्ने युनिटले एनसिबि काठमाडौँलाई आग्रह गरेपछि अनि, त्यहाँबाट इन्टरपोलको महासचिवालयमा अनुरोध गरेर त्यस्ता नोटिस जारी गरिन्छ ।’ 

ठगी, हत्या, अपहरण, वन्यजन्तु सम्बन्धी कसुर, मानव बेचबिखन, आर्थिक अपराध, कागजात किर्ते, साइबर अपराध र यौन अपराध मुद्दामा संलग्न अपराधीलाई पक्राउ गर्न इन्टरपोलबाट नोटिस जारी गर्ने गरिन्छ । 

  • १० आरोपी इन्टरपोललाई हस्तान्तरण 

वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।

उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् ।

तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरि कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् ।

युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरेको थियो । उमेशलाई पक्राउ गर्न नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ मा उनीबिरुद्ध रेड नोटिस जारी भएको हो । पुस ३ मा इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । 

उमेशलाई विदेशबाट ल्याएजस्तै इन्टरपोलबाट नोटिस जारी भएका १० जना अपराधीलाई नेपाल प्रहरीले पक्राउ गरेर सम्बन्धित मुलुकमा पठाएको छ । बालयौन दुराचार, रकमको अवैध लेनदेन, लागू औषध, फिरौती र चाइल्ड पोर्नोग्राफी जस्ता अपराधमा संलग्न आरोपीलाई प्रहरीले नेपालबाट पक्राउ गरेर पठाएको हो । चिन, अस्ट्रेलिया, भारत, कोरिया र स्विडेन लगायतका मुलुकका अपराधीलाई नेपालबाट पक्राउ गरेर इन्टरपोलको समन्वयमा सम्बन्धित मुलुकमा पठाइएको डिआईजी ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप