बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

निर्माण सम्पन्न नहुँदै भत्कियो मोहनलाल नगर उद्यान

मङ्गलबार, १५ फागुन २०८०, ०६ : ५०
मङ्गलबार, १५ फागुन २०८०

धनगढी । कैलालीको लम्की नगरपालिकामा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र परेको छ । करोडौँ रुपैयाँ लगानी भएको सो नगर उद्यान अलपत्र परेको हो ।

नगरपालिकाको वडा नंं २ र ५ स्थित मोहनलाल सामुदायिक वनमा नगरपालिकाले २०७५ तिर नगर उद्यान निर्माण थालेको थियो । नगरकै गौरवको योजनाका रुपमा लिइएको सो उद्यान संघीय सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण प्रक्रिया अघि बढाइएको थियो, जसका लागि ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।

वातावरणीय प्रभाव मूल्या्कन नै नगरी नगरपालिकाले सामुदायिक वनको सुरक्षा तथा उद्यान निर्माणका लागि भन्दै सामुदायिक वनको ६ किलोमिटरसम्म पर्खालले घेरबार र ४ वटा गेट निर्माण गरेको छ । जसका लागि नगरपालिकाले हालसम्म २ करोड ५२ लाख खर्च गरेको छ । तर सो पर्खाल ठाउँ–ठाउँमा चर्किएको छ भने तारजाली र फलामे डण्डीमा खिया लागेको छ ।

चार वर्ष अगाडि नै महालेखा परीक्षकको प्रतिवेदनले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नबनाएको परामर्शदाता कम्पनीलाई नगरपालिकाले नौ लाख रुपैयाँ भुक्तानी गरेको औँल्याएको थियो । 

कानुनी प्रक्रिया पूरा नगरी काम थालेपछि वनले सो कार्य अघि बढाउन नदिँदा योजना अलपत्र परेको छ भने हालसम्म गरिएको लगानी बालुवामा पानी झैँ भएको हो ।

Mohanlal uddhan1

नगरको गौरवको योजना रहेकाले नगरवासीको जीविकोपार्जनसँग जोड्दै निर्माण प्रक्रिया बढाउनुपर्ने स्थानीयको जोड छ । स्थानीय देवानन्द जैशीले उद्यान निर्माण भए आन्तरिक र बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे । उद्यानको उद्देश्य र लक्ष्य अनुसार यसको काम तत्काल अगाडि बढाउनुपर्ने जैशीको भनाइ छ ।

‘नगरपालिकाको लापरबाहीले जनताले दुःख पाए’

तत्कालीन समयमा उद्यान निर्माण योजना आर्थिक चलखेलको कोपभाजनमा परेको समेत बताइएको छ ।

मोहनलाल सामुदायिक वनका अध्यक्ष बखत बहादुर बिष्टले भने, ‘ठुलो बजेट भएकाले यसमा कसैकसैमा लोभ पलायो । क्षेत्राधिकार, रेखदेख हाम्रो छ भने हामीले निर्माण गर्न पाउनुपर्छ भन्दा सुनुवाइ भएन । पछि विकासमा हामीले हस्तक्षेप गरेनौँ । तर नगरपालिकाको लापरबाही र बेवास्ताले यसको कानुनी प्रक्रिया पूरा नहुँदा हामी जनताले दुःख पाउँदै छौँ ।’

Mohanlal uddhan2

निर्माणको विषयमा पूर्व मेयर महादेव बजगाई र हालका मेयर सुशिला शाहीसँग पटक–पटक छलफल गर्दा पनि निचोडमा पुग्न नसकेको उनको गुनासो छ ।

उद्यान निर्माण गर्दा करिब ५५ वटा रुख काट्नु पर्नेछ । वनभित्र पर्यटनको आकर्षण बढाउन पोखरी निर्माणलगायत संरचना बनाउनुपर्ने थियो । तर अझै वनले रुख काट्ने अनुमति नदिँदा निर्माणको कार्य अगाडि नबढेको नगरपालिकाले जनाएको छ ।

Mohanlal uddhan4

नगरपालिकाकी मेयर सुशिला शाहीले उद्यानको निर्माण अघिल्लो जनप्रतिनिधिको समयमा सुरु भएको बताइन् । उद्यान निर्माणको क्रममा रुख काट्ने स्वीकृति नपाएको बताउँदै उनले वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बजेट निकासा भएको बताइन् । तर अब निर्माणको लागि वनसँगको परामर्शमा रहेको उनको भनाइ छ ।

मेयर शाहीले भनिन्, ‘ईआईए नगरी तपाईहरु कसरी काम गर्नुहुन्छ ? कटानको काम कसरी गर्नुहुन्छ भनेर वनले हामीलाई त्यो अधिकार दिएको छैन । यो नगरको गौरवको योजना भएकाले हामीले बनाउनुपर्छ भनेर लागेका छौँ । त्यसको लागि सर्वप्रथम कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।’

Mohanlal uddhan5Mohanlal uddhan6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप