बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

कोशीमा माओवादीलाई झट्काबारे प्रचण्ड : कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव

बुधबार, १६ फागुन २०८०, २२ : २६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा पार्टीको उम्मेदवार पराजित हुनुमा कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव भएको जवाफ दिएका छन् । 

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडाँमा सम्पन्न स्थायी समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले तत्काल गठबन्धनको विकल्प नभएको बताएको एक नेताले जानकारी दिए । यद्यपि कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा भएका छलफलप्रति भने आफू गम्भीर रहेको प्रचण्डको भनाइ थियो ।

ती नेताका अनुसार शान्ति सम्झौतादेखि लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान निर्माण तथा सत्ता सहकार्य गरेको दलका मुख्य नेताबाट नै जनयुद्धलाई अपमानित हुने भाषा प्रतिवेदनमा उल्लेख गर्नुले गम्भीर बनाएको प्रचण्डको भनाइ थियो । यस्तै संविधानले परिकल्पना नगरेको हिन्दूराष्ट्रको पक्षमा बहस केन्द्रित हुनु र चुनावअघि गठबन्धन नगर्ने प्रतिवेदन आउनुलाई पनि सहज रूपमा लिन नसकिने प्रचण्डको भनाइ रहेको थियो । 

यस विषयमा आफूले रक्षा मन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग कुराकानी गरेको प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । जवाफमा खड्काले उक्त शब्दावली आफूले नराखेको र कसैले भूलवश राखेको हुनसक्ने भन्दै त्यसलाई परिमार्जन गरी अनुमोदन गर्ने प्रतिबद्धता जनाएको प्रचण्डले बैठकमा बताएका थिए ।

‘कोशीमा हाम्रा उम्मेदवार दुर्घटनामा पर्नु कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव हो । गठबन्धनका उम्मेदवार सबै निर्वाचित नहुनुमा शेरबहादुर देउवाजी गम्भीर हुनुहुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘उहाँले आगामी दिनमा यस्ता गल्ती हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।’

प्रचण्डले अगाडि भने, ‘जहाँसम्म कांग्रेसको भर्खर सकिएको महासमिति बैठकमा गठबन्धनलाई अप्ठ्यारो पार्ने खालका जिम्मेवार नेताबाट आएका प्रतिवेदन आएका छन्, संविधानविपरीत हिन्दु राष्ट्रको पक्षमा जसरी बहस केन्द्रित भयो । यसले स्थिति निकै गम्भीर देखिएको छ । यस्तै जनयुद्धलाई अपमानित गर्ने प्रतिवेदनमा शब्दावली राखिएकोप्रति पूर्णबहादुरजीसँग मैले कुराकानी गरेको छु । उहाँले शब्दावली राखिएको आफूलाई नै थाहा नभएको र कसैले राखेको भए त्यसलाई परिमार्जन गर्छु भन्नु भएको छ । तत्काल गठबन्धनको विकल्प खोज्नु उचित छैन ।’

यद्यपि आगामी दिनमा आफ्ने खुट्टामा उभिने गरी पार्टीले तयारी भने गर्नुपर्ने प्रचण्डले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप