आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकाको  बजार पसल राती १२ बजेसम्म खोल्न दिने तयारी

बुधबार, १६ फागुन २०८०, १८ : २१
बुधबार, १६ फागुन २०८०

विराटनगर । विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्र रातको समयमा पनि खोल्न दिने गरी तयारी सुरु भएको छ । 

मोरङ जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातको १२ बजेसम्म मेन रोडको बजार तथा पसल खोल्न दिने गरी कार्यविधि निर्माण गरिने बताएका हुन् । ‘कार्यविधि निर्माण गरेर केही दिनमै रातीसम्म बजार पसल खोल्ने वातावरण बनाउने तयारी गरेका छौँ,’ भट्टराईले भने । 

त्यसका लागि महानगरले पनि समन्वय गरेको छ । विराटनगर महानगरपालिकामा बुधबार बसेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ‘विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ,’ महानगरका मेयर नागेश कोइरालाले भने । 

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको रोहबरमा बुधबार प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक बसेको थियो । 

बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । 

प्रजिअ भट्टराईले कानुनले बर्जित गरेको भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता थियो । भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरेका छन् । त्यस्तै ध्वनि प्रदूषण हुन दिन नहुने प्रजिअ भट्टराईले बताए ।

कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ ।

बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ,  विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रिकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतको उपस्थिति थियो । उनीहरुले भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग राखेका थिए । भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीहरूले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए । 

रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । उनले व्यवसायीले तिर्न बाँकी मनोरञ्जनलगायतका कर बुझाउन आग्रहसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप