मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नगर प्रहरीको बल प्रयोग

फुटपाथ व्यवसायीमाथि नगर प्रहरीको ‘ताण्डव’

काठमाडौँ महानगर प्रहरीलाई बल प्रयोगको अधिकार कसले दियो ?
बिहीबार, १७ फागुन २०८०, १४ : ४१
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । फुटपाटमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा चौतर्फी आलोचना भइरहेको छ । महानगर प्रहरीले ‘महानगर प्रहरी ऐन, २०८०’ विपरीत बल प्रयोग गरेको देखिन्छ । 

ऐनमा उल्लेख भए अनुसार सार्वजनिक आवागमनमा बाधा पुर्‍याई राखेका निर्माण सामाग्री पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने नमानेमा आफैँ हटाइ, हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न पेस गर्ने महानगर प्रहरीको अधिकार क्षेत्रभित्र पर्छ । त्यस्ता अवरोध हटाउँदा बल प्रयोग गर्नुपर्ने विषय भने समेटिएको छैन । 

ऐनमा व्यवस्था भएभन्दा माथि उठेर महानगर प्रहरीले स्वरोजगार मजदुरमाथि अमानवीय ढंगले कुटपिट गरेको देखिन्छ । नेपाल स्वरोजगार व्यापार संघले विज्ञप्ति नै जारी गर्दै घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

२०८० साउनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम महानगरपालिकाको नगरसभाले जारी गरेको ऐनमा समेटिएको महानगर प्रहरीको काम, कर्तव्य र अधिकारमा २३ बुँदा समेटिएका छन् । त्यसमा पनि महानगर प्रहरीलाई बल प्रयोगको अधिकार खुलाइएको छैन । बरु कार्य सम्पादन गर्दा महानगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र विभागीय प्रमुखसँग समेत आवश्यकता अनुसार समन्वय गर्नु महानगर प्रहरीको कर्तव्य हुने उल्लेख गरिएको छ । 

नगरसभाले पारित गरेको ऐनको ६३ औँ बुँदामा सुरक्षा निकायसँग सहकार्य गर्नुपर्ने उल्लेख छ । ‘महानगर प्रहरी बलले सुव्यवस्था कायम गर्न, शान्ति सुरक्षा कायम गर्न तथा महानगरवासीको अमनचयन स्थापित गर्न नेपाल सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह सम्बद्ध सुरक्षा निकायहरूसँग आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नेछ,’ ऐनमा उल्लेख छ । 

महानगर प्रहरी ऐन अनुसार महानगर प्रहरी परिचालनको जिम्मा महानगर प्रहरी बलको प्रमुखमा  रहने उल्लेख छ । तर, महानगर प्रहरीले पालना गर्नुपर्ने आचरण, अनुशासन, आन्तरिक व्यवस्थापनको कुरामा बाहेक नगर प्रहरीको समग्र परिचालन, प्रत्यक्ष रेखदेख र नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था ऐनमा छ । 

स्वरोजगार मजदुरमाथि कुटपिटको घटनाबारे बुझ्न बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेसँग सोधपुछ गरेका छन् । पाण्डेले बल प्रयोग नभएर प्रतिरक्षाका गरेको जवाफ दिएका छन् । पाण्डेको भनाई उद्धृत गर्दै परियारले भने, ‘मैले पाण्डेजीसँग घटना के भएको हो भनेर सोधपुछ गरेको हुँ । उहाँले बल प्रयोग नभएर प्रतिरक्षा गरेको जवाफ दिनुभयो । तर, पनि हामीले छानबिन गर्छौँ ।’  

पाण्डेले प्रतिरक्षाको दाबी गरे पनि सार्वजनिक भएको भिडियोमा आक्रामक बनेको नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि निर्घात लाठीचार्ज गरेको स्पष्ट रूपमा देख्न सकिन्छ । महिलामाथि पुरुष नगर प्रहरीले कपाल लुछ्नेसम्मका दृश्य भिडियोमा देखिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले समेत घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले महानगर प्रहरीले अधिकार क्षेत्रभन्दा बाहिर गएर मजदुरमाथि मरणासन्न हुने गरि कुटपिट गरेको बताए । उनले रातोपाटीसँग भने, ‘यो ज्यादती जसले गरे पनि सहन्नौँ, महिला श्रमिकलाई घेरा हालेर नियन्त्रणमा लिई कुटपिट भएको छ, महानगर प्रहरीको बलमिच्याइँबारे कानुनी उपचार खोज्छौँ ।’ 

नेपालका अनुसार नौ जना घाइतेमा दुई जना गम्भीर छन् । घाइते मध्ये नानीमैया बस्नेत जिफन्टकी बागमती प्रदेश कमिटी सदस्य हुन् भने बद्री देवकोटा केन्द्रीय सदस्य हुन् । दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ‘हामी प्रहरीमा उजुरी दिन्छौँ, अधिकारवादी संस्थाहरू राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोग लगायतमा पनि ध्यानाकर्षण गराउँछौँ,’ नेपालले भने,‘ कसरी अगाडी बढ्ने भनेर हामी आन्तरिक छलफलमा छौँ ।’ 

  • ऐनमा व्यवस्था नहुँदा स्वघोषित अधिकार प्रयोग 

महानगर प्रहरी ऐनमा बल प्रयोगबारे उल्लेख गरिएको छैन । तर, लाठी प्रयोग गरेर महानगर प्रहरीले जथाभाबी बल प्रयोग गर्‍यो । उक्त घटनामा परि कसैको मृत्यु भएमा त्यसको जिम्मेवारी कसले लिने ? नेपाल प्रहरीले यसरी लाठी चार्ज गर्दा कोही कसैको ज्यान गएको अवस्था वा गम्भीर घाइते भएको अवस्थामा सरकारले त्यसको जिम्मेवारी लिन्छ । घटनाको छानबिन गर्न समिति गठन गर्छ । दोषीमाथि कारबाही पनि हुन्छ । तर, महानगर ऐनमा यसबारे केही उल्लेख गरिएको छैन । 

  • बल प्रयोग होइन, आत्मरक्षा गरेका हौँ

राजु पाण्डे, एसएसपी, महानगर प्रहरी

महानगर प्रहरीले विगत दुई/तीन महिना यता स्वरोजगार मजदुरहरूलाई बेलुका जम्मा भएर नबस्नुस् भनेर माइकिङ गर्दै आएका थियौँ । हाम्रा प्रहरीले सम्झाउँदा उल्टै गलत व्यवहार देखाउँदै आए । महिलाहरूलाई अगाडी ल्याएर गाली गलौच गर्ने क्रम चलिरहेको थियो । 

हिजो मैले त्यो एरिया हेर्ने एसपी मनोज लामिछानेलाई तपाईंको सेक्टर कमान्डर तपाईं हो, तपाईं आफैँ जानुस्, कस्तो गलत व्यवहार देखाउँदा रहेछन्, हेर्नुहोस् भनेर पठाएको थिएँ । त्यसलगत्तै जनसेवा वृत्तको डीएसपी भेषराज रिजाललाई पनि जानकारी गराए । 

त्यहाँ महानगर प्रहरीलाई जहिल्यै गलत व्यवहारले हेर्छन् भन्ने कुरा सुनेको छु, डिएसपी साब के रहेछ, हजुरले पनि सर्पोट गर्नुपर्ला है भनेर रिजाल सरलाई भनेँ । नपत्याए सोधेँ हुन्छ । 

त्यसपछि एसपी लामिछाने सात बजे पुग्नु भयो । त्यही बिचमा महिलाहरू आएर धक्कामुक्का गर्न थाले । पछाडिबाट ढुङ्गा हानियो । ढुंगाले लागेर लामिछानेको मुख फुटेको छ । स्वरोजगार मजदुरका प्रत्येकको हातमा फलामे छड छ । छडले हाम्रो प्रहरीको टाउको फुटाइएको छ । छडले लागेर दुई वटा हाम्रा प्रहरी जवानको टाउको फुटेको छ । एउटाको सात टाँका र अर्कोको टाउकोमा चार टाँका लगाउनुपर्यो । जब छडले हानिसकेपछि आत्मरक्षा वा प्रतिरक्षा गर्ने कि नगर्ने ? प्रश्न यो हो । एउटा प्रहरीले ड्युटीमा खटिँदा ऊ माथि आक्रमण हुन्छ भने उसले आत्मरक्षा वा प्रतिरक्षा गर्ने कि नगर्ने ? विभिन्न संगठनका नाममा चाहिँ छड हातमा लिएर संगठीत भएर हाम्रा प्रहरीलाई हिर्काएका छन् । अनि हाम्रो प्रहरीले आत्मरक्षा गर्ने कि नगर्ने ? 

ऐनभन्दा पनि मार्न लगाएपछि ज्यान थाप्ने हो र ? जाने बित्तिकै हाम्रो एसपी साबको मुख फोडिदिएका छन् । अनि ऐन भनेर चुप लागेर बस्न मिल्छ ? प्रतिरक्षा गर्नुपर्दैन । त्यस्ता घटनामा कसैको ज्यान गएको अवस्था थियो भने प्रहरीले हेर्ने केश बन्छ । जबकि मैले घटना हुन अगावै नेपाल प्रहरीलाई जानकारी गराइसकेको छु । तर, हाम्रो ड्युटी हामीले गर्ने हो । फुटपाथ त क्लियर गर्ने काम हाम्रो हो नि । हामीले फुटपाथमा व्यापार नगर्नुस् भनेर पटकपटक भनिरहेकै थियौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप