सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

अहिले हामी कांग्रेससँगै गठबन्धनको पक्षमा छौँ : गिरिराजमणि पोखरेल

‘अध्यक्षले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिएको भन्ने सुनेका छौँ’
बिहीबार, १७ फागुन २०८०

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाइएको छ । पार्टीभित्रको विवाद बढ्दै गएपछि उनलाई नयाँ जिम्मेवारी दिइएको हो ।

सबैसँग समस्या बुझेर समाधानका लागि प्रयास गर्ने पोखरेल बताउँछन् । यसैगरी राष्ट्रियसभा अध्यक्षमा पार्टीले गरेको दाबी, पार्टीभित्र विभिन्न रुपमा देखिएका असन्तुष्टि र सत्ता गठबन्धनको भविष्य लगायतका विषयमा उनीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, माओवादी केन्द्रका उपमहासचिव पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश–

विवादका बिच तपाईंलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ, काम गर्न सक्नुहोला त ? सफल हुनुहोला त ?

पहिला त म खगराजजी (खगराज भट्ट) सँगै भेटेर काम सुरु गर्छु ।

भेट दिनुभयो भने त हो नि ?

अहिले भेट दिनुभएन भने पनि मेरो प्रयास जारी रहने छ । समस्या के–के छन्, पहिला  सबैसँग बुझ्छु ।

उहाँको जिम्मेवारी खोसेर तपाईंलाई दिनु नै समस्या भएन र ? उहाँले त्यसमै असन्तुष्टि जनाउनुभएको छ, अन्याय भयो भन्नुभएको छ त ?

उहाँले मनमा लागेको कुरा जे भन्नुभयो, राम्रो गर्नुभयो, राम्रो भयो ।

जनार्दन शर्माको असन्तुष्टिबारे तपाईंको प्रतिक्रिया के छ ?

हामीले पहिलेदेखि नै असहमत भएको कुरालाई पार्टीमा दर्ज गरेर कुन कुरा बाहिर लाने, कुन कुरा नलाने भन्नेबारे विधि बनाउँ भनेर छलफल चल्दै आएको विषय हो । त्यसकारण आफूलाई चित्त नबुझेको कुरा राख्नुभएको छ, राम्रो भएको छ । कुन कुरा कसरी राख्ने भन्ने कुरा त उहाँहरु पनि जिम्मेवार कमरेडहरु हुनुहुन्छ, हामी सबैले यसलाई सोच्नुपर्छ । अब यो बिचमा त पार्टी विधि मै चलेन अनि बाहिर के, भित्र के भन्ने नै भएन ।

जनार्दन शर्माले राखेको लिखित असहमति विधान विपरीत हो त ?

म त्यसो भन्दिनँ । यो बिचमा पार्टी पार्टीजस्तो भएन, सबैकुरा आन्दोलनजस्तो, संघर्षजस्तो भयो । सिद्धान्त र विचारधाराको कुरा सार्वजनिक गर्ने र प्राविधिक, आन्तरिक, सांगठनिक विषय सकेसम्म पार्टी जीवनभित्रै राखौँ भन्ने हाम्रो विगतको अभ्यास हो ।

विधान अधिवेशन गरेपछि स्थायी समितिले पहिले विधानलाई अन्तिम रुप दिने कि कार्यविभाजन गर्ने त ? पार्टी किन उल्टो बाटो हिँडेको ?

यो कुरा सही हो ।

विधान अधिवेशनले पारित गरेको विधान मिचेर पार्टी अध्यक्षले पूर्वाग्रही ढङ्गले कार्यविभाजन गर्नुभयो भन्ने आरोप छ नि ?

यो कुरा स्थायी समितिमा उठेपछि कार्यविभाजनमा केही परिवर्तन भएको छ । बागमतीको सहइन्चार्जमा नारायण दाहाल अब रहनुहुन्न ।

अध्यक्ष प्रचण्डमा यति सारो पारिवारिक मोहचाहिँ किन छ अझै पनि ? परिवारका सदस्यलाई चाहिँ विधान मिचेरै पनि कहीँ न कहीँ राखिहाल्नुपर्ने ?

जो–जो साथीहरुले विना मगरजीलाई जिम्मेवारी दिएर जाऊँ भनेर भूमिका खेल्नुभयो, त्यो कुरा मैले सोचेको पनि थिइनँ भनेर स्थायी समिति बैठकमा अध्यक्षले नै भनेको कुरा मैले सुनेको छु । त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि त्यो कुरा भन्नुभएको हो । यी सबै कुरा म साथीहरुलाई जस्ताको तस्तै भन्छु ।

यसको मतलब विना मगरजीको जिम्मेवारी पनि खोसिन्छ ?

होइन । उहाँ अहिले निर्वाचित प्रतिनिधि हुनुहुन्न, त्यसकारण रहनुहुन्छ ।

अहिलेको कार्यविभाजनले पार्टीलाई कमजोर बनाउने भयो भन्ने चिन्ता नेताहरुले नै गर्न थालेका छन्, यसमा तपाईंको भनाइचाहिँ के हो ? के कार्यविभाजन प्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

स्थायी समितिले भर्खरै कार्यविभाजन गरेको छ । केही साथीले असहमति जनाउनुभएको छ । तर मूलभूत रुपमा निर्णय ठिक भएको छ । अब सफल हुन्छ कि हुन्न भन्ने कुरा कार्यान्वयनमा गएपछि मात्र भन्न सकिन्छ । कार्यान्वयन भयो भने पार्टी सफल र बलियो हुन्छ ।

कांग्रेसलाई दिने भनेर सहमति गरिसकेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले फेरि किन दाबी गरेको ?

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको नतिजापछि नै हाम्रो पार्टीले राष्ट्रिय सभाको अध्यक्षको दाबी गर्छ भनेर मैले भनेको थिएँ र अहिलेसम्म निरन्तर त्यो कुरा भन्दै आएको छु ।

भनेपछि कांग्रेसलाई दिने सहमति भएको होइन ?

हाम्रो पार्टीले सिटौलाजी (कृष्णप्रसाद सिटौला) लाई दिने भनेर निर्णय गरेको छैन । स्थायी कमिटीको बैठकमा हामी अधिकांशले अहिले दाबी गर्नुपर्छ भनेका छौँ ।

को हो त अध्यक्षको उम्मेदवार ?

पार्टीले निर्णय गर्छ । उर्मिलाजी हुनुहुन्छ, नारायण दाहालजी हुनुहुन्छ, झक्कु सुवेदीजी हुनुहुन्छ, माया प्रसादजी हुनुहुन्छ । हामीसँग विभिन्न पृष्ठभूमिबाट आएका नेताहरु हुनुहुन्छ ।

संविधानतः पनि त गलत छ नि, एउटै पार्टीको अध्यक्ष र उपाध्यक्ष हुन त पाइँदैन, होइन र ?

उपाध्यक्षले राजीनामा दिए हुँदैन र ? उदाहरणलाई भनेको । तर मेरो व्यक्तिगत विचारमा हाम्रा साथीहरु राष्ट्रियसभा चलाउन सक्ने हुनुहुन्छ । संविधानको स्प्रिटलाई पनि पछ्याउनुपर्छ । पछिल्लो चुनावी नतिजापछि राष्ट्रियसभामा पहिलो पार्टी भएको हुनाले भोलिको राजनीतिक कोणबाट पनि यो उपयुक्त हुन्छ ।

कांग्रेसको महासमिति बैठकमा पूर्णबहादुर खड्काले जनयुद्धको बारेमा ल्याएको प्रस्ताव पारित भयो, अनि त्यसको जवाफ स्वरुप तपाईंहरुले राष्ट्रिय सभाको अध्यक्ष चाहिन्छ भन्नुभएको त होइन नि ?

यो गलत कुरा हो । कोशीको नतिजा आउने बेलादेखि नै हामीले यो कुरा गर्दै आएका छौँ ।

अहिलेसम्म कांग्रेसलाई राष्ट्रियसभा अध्यक्ष दिने सहमति भएको छैन, होइन ?

संस्थागत छैन । अध्यक्षले दिएको भन्ने हामीले सुनेका छौँ ।

भनेपछि अध्यक्षले कांग्रेसलाई अध्यक्ष दिने सहमति गर्नुभएको छ, तर पार्टीको संस्थागत निर्णय भएको छैन भन्ने हो ?

मेरो भनाइ के हो भने अध्यक्ष पद पनि संस्थागत नै हो, त्यो भन्दा ठुलो स्थायी समितिको बैठक भयो । त्यसकारणले अध्यक्षले स्थायी समितिको म्यान्डेटलाई कार्यान्वयन गर्नुपर्छ । परिस्थिति हेरेर फेरि जरुरी भयो भने उहाँलाई अप्ठ्यारो प¥यो भने उहाँले स्थायी समितिकै बैठकबाट सम्बोधन गर्नुपर्छ ।

पार्टीभित्रको अन्तरविरोधलाई मत्थर पार्नका लागिमात्र हो त यो सबै कुरा ?

त्यसरी त बुझ्नु भएन । तर त्यहाँभित्र नीतिगत कुरा, सिद्धान्तका कुरा आफ्नो ठाउँमा हुन्छन् । लेनदेनका कुरा, कार्यनीतिका कुरा अर्को ठाउँमा हुन्छन् ।

जनयुद्धलाई हेर्ने दृष्टिकोणले केपीजीहरुसँग पनि हिजो मतभेद नै भएको हो । अहिले पनि जनयुद्धलाई हेर्ने कि आपराधिकरण गर्ने भन्ने हाम्रा दृष्टिकोण त फरक छ नि । हाम्रो पार्टीले आफ्नो स्ट्यान्ड दह्रो राख्नुपर्छ भनेर राखेको कुरा एउटा हो ।

अर्को, धर्मनिरपेक्षताको बारेमा पनि कुरा उठेको छ । त्यसकारण यो कुरा र अध्यक्षको कुरा एकै ठाउँमा नराखौँ ।

अध्यक्षको कुरा साङ्केतिक रुपमा बुझ्ने हो भने कांग्रेसले महासमिति बैठकका केही बुँदा सच्याउनुपर्छ भन्ने तपाईंहरुबाट बुझियो, कांग्रेससँग गठबन्धन नगर्ने निष्कर्ष हो ?

कांग्रेसलाई सच्याउनुस् भनेर हामीले भन्न मिलेन, उहाँहरुको संस्थागत प्रक्रिया हो ।

स्थायी समितिबाट हाम्रो अडान स्पष्ट पारौँ भन्ने हाम्रो कुरा हो ।

आफ्नो कुरा स्पष्ट पार्दा गठबन्धन बलियो बनाउन पनि स्पष्ट हुन्छ । सिद्धान्त र विचारको कुरालाई लेनदेनको विषय नबनाऔँ भन्ने हाम्रो पहिलो कुरा हो । त्यही बेलामा राष्ट्रियसभा अध्यक्षको कुरा उठ्यो, त्यसैले त्यसलाई छुट्टै एजेन्डाको रुपमा लिनुप¥यो । अहिले हामी कांग्रेससँगै गठबन्धनको पक्षमा छौँ । तर उहाँहरुले आफ्नो कुरा स्पष्ट पार्नुप¥यो ।

मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्न कांग्रेस सभापति मान्नु भएको छैन, जसका कारण प्रधानमन्त्री असन्तुष्ट नै हुनुहुन्छ । अब राष्ट्रिय सभाको अध्यक्षबारे तपाईंहरुको अडान कायम रह्यो भने गठबन्धन अघि जाँदैन, तपाईंहरु गठबन्धन पुनर्विचार गर्न चाहनुहुन्छ भन्ने बुझ्ने हो ?

अहिले हामी पुनर्विचार गर्दैनौँ ।

अध्यक्ष नपाए पनि ?

चुनावमा जित्ने कुरा गणितले निर्धारण गर्छ । यसमा हाम्रो दाबी छ भन्ने कुरा हो ।

अब माओवादीले पाएन भने के गर्ने भन्ने कुराको निर्णय फेरि स्थायी समितिले गर्छ । 

अब आउने निर्वाचन माओवादी एक्लै लड्छ भनेर कसलाई घुर्क्याउनु भएको ?

यो कुरा आफ्नो पार्टी बनाउने कि नबनाउने, पार्टी बनाउने चुनौती बेहोर्ने कि न बेहोर्ने भन्ने कुरासँग सम्बन्धित छ । २०६४ सालमा एक नम्बरको पार्टी बनिरहँदा यो पार्टीका नेतालाई चिनेर जनताले भोट दिएको हो र ? पार्टीले लिएको भूमिकाका कारण भएको थियो नि । अहिले हामी किन तेस्रो स्थानमा पुग्यौँ ? त्यसकारणले माओवादीले हिजो खेलेको भूमिकाको स्थान कसैले लिएको छैन । त्यो मैदान खाली छ, एक पटक फेरि पार्टी बनाऔँ । गठबन्धनका कारण पार्टी तेस्रो स्थानमा पुग्यो । अब कसैको वैशाखी नटेकीकन आफ्नो तयारी गर्ने कि नगर्ने भन्ने विषय योसँग जोडिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया