सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेटमा मधेश प्रदेशका लागि बिशेष प्याकेज आउँदैछ : पूर्वमन्त्री श्रेष्ठ

शुक्रबार, १८ फागुन २०८०, २१ : ५७
शुक्रबार, १८ फागुन २०८०

बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मधेश प्रदेशको लागि बिशेष प्याकेज आउने बताएका छन् । 

जीतपुर सिमरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै संघीय सांसद श्रेष्ठले आफुले प्रधानमन्त्री र गठबन्धनका नेताहरुलाई भेटेर यसपटक मधेश प्रदेशको लागि ‘स्पेशल प्याकेज’ हुनुपर्ने माग गरेको बताएका हुन् । 

‘यसपटक गतसाल जस्तो सदनमा मौन धारण गर्न नपर्ला कि भन्ने मैले विश्वास र आशा लिएको छु’ सांसद श्रेष्ठले भने– ‘यहाँ झिना मसिना, सानातिना योजनाहरुभन्दा पनि मधेश प्रदेश मात्रै होइन नेपालकै लाइफ लाइनको रुपमा रहेको काठमाडौँ–निजगढ दु्रतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सेजमा धेरैभन्दा धेरै उद्योगहरु स्थापना गर्ने, वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना चलाउने विषयमा मैले प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।’

यसअघि संघीय सरकारले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालन गर्ने विषयमा निर्णय गरेको छ । संघीय सांसद श्रेष्ठले मधेश प्रदेशको वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पनि सञ्चालनमा ल्याउनका लागि संघीय सरकारले पहल गर्ने बताएका छन् ।

उनले बारा–पर्सा औधोगिक करिडोर नेपालको प्रमुख औधोगिक क्षेत्र भएकाले यहाँ एउटा औधोगिक प्रर्दशनी केन्द्र बनाउनुपर्ने उद्योगी व्यवसायीहरुको मागलाई संघीय र प्रदेश सरकारले सम्बोधन गर्न अनुरोध गरेका छन् ।

आजदेखि सुरु भएको जीतपुर सिमरा महोत्सवको उद्घाटन समारोहमा संघीय सांसद एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, मधेस प्रदेशकी पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, संविधानसभाका सदस्य शोभाकर पराजुली, जयराम दहाल, मधु शाही, जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले सम्बोधन गरेका थिए ।

‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुर सिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित आजदेखि सुरु भएको महोत्सव फाल्गुन २९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ  । 
प्रधानमन्त्रीले नभ्याएपछि मुख्यमन्त्रीबाट उद्घाटन
जीतपुर सिमरा महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको थियो । आयोजक जीतपुर सिमरा उद्योग वाणिज्य संघको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले उद्घाटनमा आउने प्रतिवद्धता समेत जनाएका थिए । 

तर कार्य व्यस्तताका कारण प्रधानमन्त्री प्रचण्डको सिमरा आउने कार्यक्रम स्थगित भएको हो । भरतपुर भ्रमण वर्षको उद्घाटन र संसद बैठकका कारण प्रधानमन्त्री प्रचण्ड आउन नभ्याउने भएपछि आयोजकको निमन्त्रणा स्वीकार गरेर मुख्यमन्त्री यादव आएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यव्यस्तताका कारण आफू नभ्याउने भएको र उक्त कार्यक्रममा पुगिदिन आफूलाई आग्रह गरेको मुख्यमन्त्री यादवले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप