सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर घटनाका आरोपीको बयान : पत्नीलाई ‘गलत नजर’ले हेरेकाले हत्या

हत्यापछि परिवार लिएर भागेका थिए आरोपी सुवाल
आइतबार, २० फागुन २०८०, १६ : ३०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । ‘तेल किन्न जान्छु’ भनेर फागुन ९ मा साँझ डेराबाट निस्केका गोपाल प्रसाद ढकाल राति अबेरसम्म फर्केनन् । खोजतलास गर्दा उनी फागुन ११ मा सूर्यबिनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिए ।

तेह्रथुमको छथर घर भएका ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चाँगुनारायण घर भएका सन्तोष सुवाललाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर निर्मल थापा नेतृत्वको टिमले सुवाललाई काभ्रेको मण्डन देउपुर नगरपालिका–६ स्थित सिपाघाटबाट पक्राउ गरेको हो । २९ वर्षीय सुवाल  मोटरसाइकल मर्मत गर्ने मिस्त्री हुन् ।

गोपाल ढकाल र सन्तोष सुवालको बिचमा केही समयदेखि चिनजान  थियो । फागुन ९ मा उनीहरू सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवन गरेर दुबै जना सन्तोष सुवाल बस्ने सिपाडोल–८ स्थित रोशन बस्नेतको कच्ची गोठमा गए ।

त्यहाँ पुगेपछि मदिराकै नसामा  सन्तोषले गोपालकी पत्नीलाई फोन गरेको खुलेको छ । फोनमा उनले भने, ‘श्रीमान् चाहिए सूर्यबिनायक जंगलमा दुई लाख लिएर आउनू ।’ ठट्टा गरेर गोपालकै नम्बरबाट पत्नीलाई आफूले फोन गरेको सन्तोषले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । तर सोहीबीचमा दुई जना बिच विवाद भएको र हत्यासम्मको घटना भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

प्रहरीसँगको बयानका क्रममा आरोपीले गोपाल ढकालले आफ्नी पत्नीलाई ‘गलत नजर’ले हेरेको  दाबी पनि  गरेका छन् । उनले भनेका छन्, ‘मेरो श्रीमतीलाई उसले गलत नजरले हेरेपछि हत्या गरेको हुँ ।’
आरोपीले ढकाललाई ढुंगा र इट्टा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको इन्स्पेक्टर थापाले बताए । उनले भने, ‘हत्यापछि सुवाल परिवारसहित काभ्रेतिर भागेका थिए ।’

आफ्ना परिवार सहित भागेका सुवाल मण्डनदेउपुरमा कुखुरा फार्ममा काम गर्न थालेका थिए । २०७८ मा चोरी मुद्दामा पक्राउ परेका सुवाल ४ महिना जेल बसेर निस्किएका थिए । २०७५ मा पनि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा थुनामा राखेर अनुसन्धान गरेको आपराधिक रेकर्ड भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप