बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आबुधावी घोषणापत्र जारी गर्दै सकियो विश्व व्यापार सम्मेलनको मन्त्रीस्तरीय सम्मेलन

आइतबार, २० फागुन २०८०, १७ : ४६
आइतबार, २० फागुन २०८०

काठमाडौँ । विश्व व्यापार संगठनको तेह्रौँ मन्त्रीस्तरीय सम्मेलन ‘आबुधावी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

उक्त सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकका प्राथमिकता, व्यापार र समावेशिता, इ–कमर्स, विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र लगायतका विषयमा कुरा उठाएका थिए । यस्तै, व्यापार तथा विकास, अतिकम विकसित मुलुकको हितका विषय, कृषि सुधार, अतिकम विकसित मुलुकबाट स्तरोन्नति सम्बन्धी प्रस्तावका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अतिकम विकसित मुलुकका तर्फबाट प्रस्तुत भएको स्तरोन्नति सम्बन्धी प्रस्तावमा सदस्य मुलुकहरूबिचमा सहमति जुटेको मन्त्रालयले जनाएको छ । फलस्वरुप स्तरोन्नति भएका मुलुकलाई संक्रमणकालिन अवधिमा प्राप्त हुनेछ । त्यसैगरी स्तरोन्नतिपछि तीन वर्षसम्म क्षमता अभिवृद्धि सम्बन्धी सुविधाहरूको निरन्तरताको विषयमा छलफल भएको मन्त्री रमेश रिजालले जानकारी दिए ।

साथै, अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएका मुलुकको सम्बन्धमा कुनै पनि उजुरी भएमा विवाद समाधान संयन्त्रमा यथोचित संयमता अपनाइने समझदारी भएको छ । सम्मेलनमा नेपालसहित चीन, अष्ट्रिया, साउदी अरेबिया, मोरक्को, बंगलादेशका वाणिज्य मन्त्री, संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि, भारतका वाणिज्य सचिव लगायतको उपस्थिति थियो । यी सबै मुलुकका प्रतिनिधिसँग नेपालले द्विपक्षीय व्यापारको विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप