शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिने ५ जनप्रतिनिधिलाई १ वर्ष कैदको फैसला

सोमबार, २१ फागुन २०८०, १० : २६
सोमबार, २१ फागुन २०८०

पोखरा । पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको अभियोगमा तत्कालीन जनप्रतिनिधिमाथि कैद सजाय सुनाइएको छ । तत्कालीन सराङकोट गाविसका जनप्रतिनिधिहरूले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन तथा दर्ताका लागि सिफारिस दिएको विशेष अदालतको ठहर छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले त्यस समयमा जनप्रतिनिधि रहेका पाँचै जनालाई दोषी ठहर गरेको हो । उनीहरूले सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेला बोलाएर व्यक्तिलाई दिएका थिए ।

त्यसबेलाका गाविस अध्यक्षहरू मोदनाथ रेग्मी र झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई दोषी ठहर गरिएको हो । उक्त मुद्दामा अख्तियारले मिहिन रूपमा अनुसन्धान गरेको थियो । अख्तियारको दाबीलाई विशेष अदालतले सदर गरेको हो ।

उनीहरूलाई जनही १ वर्ष कैद र १ लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको अदालतले जनाएको छ । तर सबै जना ज्येष्ठ नागरिक भएकोले सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषले भनेको छ । गुरुङलाई ७० प्रतिशत र अरूलाई ७५ प्रतिशत छुट दिन भनिएको हो । एक वर्ष कैदमा ७० प्रतिशत छुट दिँदा ३ महिना १८ दिन र ७५ प्रतिशत सजायमा छुट दिँदै ३ महिनाका दरले कैदमा राख्न भनिएको छ ।

दोषी ठहर भएकाहरूलाई कैदमा राख्दा पोषणयुक्त खान दिन, निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन, बिरामी भएमा सुविधायुक्त अस्पतालमा उपचार गराउन, समय समयमा स्वास्थ्य परीक्षण गराउन पनि आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप