बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुनसरी घटना

सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’

मङ्गलबार, १२ साउन २०८३, २३ : ३३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
  • उनले पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु हुनु सामान्य नभएको बताएका छन्।
  • शाहले सबैलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र एकअर्कालाई प्रेम तथा सम्मान गर्न आग्रह गरेका छन्।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे मंगलबार मध्यरातमा एक आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले पीडित परिवारको दुःख आफूले महसुस गरेको उल्लेख गर्दै सरकारले छिट्टै न्याय, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने बताएका छन् । शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकले ज्यान गुमाउनु र घाइते हुनु सामान्य घटना नभएको उल्लेख गर्दै यसको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही हुनुपर्ने बताएका छन् । सरकारले घटनाको गम्भीर समीक्षा गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

उनले मृतकका परिवार र घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। त्यसअघि सबैलाई आक्रोश, बदलाको भावना र उत्तेजनाबाट टाढा रहन आग्रह गरेका छन्। ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो,’ उनले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा भए पनि तुष, रिस, डर र आक्रोश हटाऔँ। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नबनौँ। सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप